भागबन्डामा विचलन नआए सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन सहज 

0
Shares

वर्तमान सत्ता गठबन्धन कायमै रहे आगामी सरकार गठबन्धन दलहरुकै सहमति अनुसार बन्ने संकेत देखिएको छ । सत्ता गठबन्धन नभत्किएको अवस्थामा यही गठबन्धनले सरकारलाई निरन्तरता दिने चुनावी परिणामले देखाएको हो । मत परिणाम आई नसक्दै गठबन्धनका नेताहरुबीच सरकार गठनका बारेमा छलफल हुनुलाई गठबन्धनकै सरकार बन्ने संकेतका रुपमा हेरिएको छ ।

नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेतृत्वको गठबनधनबीच चुनावी प्रतिष्पर्धा भएको थियो । उक्त चुनावको अन्तिम नतिजा आउनेक्रममा छ । हाल सम्मको अवस्था हेर्दा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल सहित सत्ता गठबन्धनको बहुमत आउने देखिन्छ ।

त्यस्तै गरी नेकपा एमाले दोस्रो ठूलो दल सहित प्रतिपक्षमा रहने जनमत प्राप्त भएको छ । तथापि नेपाली राजनीतिमा यसै भन्ने अवस्था नरहे पनि सामान्यतया वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने अवस्था देखिएको राजनीतिक विश्लेषक शंकर तिवारीको विश्लेषण छ । उहाँले भन्नुभयो, ‘प्रत्यक्ष र समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत अर्थात् सरकार बनाउन आवश्यक १३८ सांसद संख्या नपुग्ने भएपछि दुई भन्दा बढी दलहरु मिलेर सरकार बन्ने संवैधानिक व्यवस्था छ ।’

अहिलेकै अवस्था हेर्दा सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढी रहेको उहाँले बताउनुभयो । एमालेलाई वर्तमान सत्तम गठबन्धन बाहेकका दलहरु र स्वतन्त्र समेत जोड्दा सरकार बनाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ । तर वर्तमान गठबन्धन टुटेर काँग्रेस बाहेकका सबै दलहरु मिलेको खण्डमा एमाले वा अरु कसैको नेतृत्वमा सरकार बन्ने सम्भावना भने खुला रहेको कतिपयको बुझाइ छ ।

संविधानको धारा ७६ (१) अनुसार नयाँ सरकार बन्नका लागि प्रतिनिधि सभामा कुनै पनि दलको आवश्यक बहुमत नपुग्ने देखिन्छ । यो सँगै उक्त सरकार गठनको पहिलो बाटो बन्द भएको छ । दुइ भन्दा बढी दलहरुबीको सहमतिमा सरकार गठन हुने प्रष्ट देखिएकाले र वर्तमान गठबन्धन अहिले नै भत्की हाल्ने अवस्था नरहेकाले साबिककै अवस्थामा सरकार बन्न सक्ने धेरैले आकलन गरेका छन् ।

सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भयो । यसले आगामी सरकार बनाउने विषयमा सत्तम गठबन्धनकै बलियो सम्भावना देखिएको हो ।

छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । ‘गठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ,’ परियारले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिन अघि नै भेट गर्नु भएको थियो । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो पक्षमा नेताहरुलाई ल्याउने कसरत थाल्नुभएको छ  । तर उक्त कसरत सफल हुने सम्भावना न्यून रहेको नेपाली काँग्रेसका एक नेताले बताए ।

मंसिर ४ मा भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मत गणनाको पुरै नतिजा करिब अन्तिम चरणमा छ ।  प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमा  काँग्रेस पहिलो दल, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

१६५ मध्ये स्याङ्जा, दोलखा र मोरङ ४ को मत गणना स्थगित छ । हाल सम्मको परिणामले नेपाली काँग्रेस ५५ सिट नघट्ने देखिन्छ भने एमालेले ४४ सिट भन्दा बढाउने अवस्था छैन ।  नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राप्रपा ७, जनता समाजवादी ७, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, जनमत पार्टी १, नेमकिपा १ र ५ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ आएको मत अनुसार नेकपा एमाले पहिलो पार्टी बनेको छ भने नेपाली काँग्रेस दोस्रो स्थानमा छ ।  एमालेले हाल सम्म २४ लाख ८० हजार अर्थात् २७ प्रतिशत भन्दा बढी ल्याएको छ भने नेपाली काँग्रेसले २३ लाख ६० हजार  अर्थात् करिब २६ प्रतिशत मत कटाएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५० हजार अर्थात् ११ प्रतिशत ल्याएर समानुपातिक मतमा तेस्रो बनेको छ । ओवादी केन्द्र १० लाख ४० हजार मत सहित चौथो स्थानमा आएको छ ।
राप्रपाले ५ लाख ४० हजार र जसपाले करिब ४ लाख मत पाएका छन् ।समानुपातिक मतको समेत नतिजा आएर सांसदहरू चयन हुँदा काँग्रेस, एमाले र माओवादी क्रमशः ८७, ७७ र ३५ सिटको आसपास पुग्ने देखिन्छन् ।

रास्वपाको २५, राप्रपा १३, जसपा ११ र एकीकृत समाजवादीको १० र लोसपा ४ सांसद हुने अवस्थामा रहेका छन् ।  पुरै परिणाम आई नसकेकाले सबै दलमा २/३  सिट तलमाथि हुनसक्ने सम्भावना भने बाँकी नै छ । यस्तो अवस्थामा पहिलो र दोस्रो ठुलो दल मिले भने सजिलै सरकार बन्न सक्छ । तर काँग्रेस र एमाले फरक फरक गठबन्धन बनाएर निर्वाचनमा गएकाले उनीहरू सरकार बनाउन एकै ठाउँमा आइहाल्ने अवस्था नरहेकाले वर्तमान गठबन्धनकै सरकार बन्ने बढी सम्भावना रहेको छ ।

यो अवस्थामा नेपाली काँग्रेसले एमाले बाहेकका हालका सत्ता गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउने पहिलो प्रयास गर्ने देखिन्छ । काँग्रेसले तीन देखि चार दललाई साथ लिनुपर्ने संसद्मा दलहरूको उपस्थितिको अङ्क गणितले देखाउँछ । काँग्रेसले गर्ने यो प्रयास सफल नभए उसले आफ्नै नेतृत्वमा अहिले रहेका सत्ता गठबन्धनमा सहभागी केही दलसहित रास्वपा लगायत दलसँग नयाँ समीकरण बनाउनुपर्ने अवस्था आउन सक्छ ।

तर वर्तमान सत्ता गठबन्धन भत्कने अवस्थामा कांग्रेसलाई सरकार बनाउन सहज देखिँदैन । एमालेले काँग्रेस,माओवादी र नेकपा एसलाई समेत बाहिर राखेर बाँकी सबै दल र स्वतन्त्रहरुलाई मनायो भने एमालेकै नेतृत्वमा सरकार बन्ने झिनो सम्भावनालाई नकार्न सकिँदैन । एमालेले सात आठ वटा साना दलको सहयोग लिनुपर्ने अवस्था आउँछ । तर त्यो अवस्था आउन नदिन काँग्रेस र माओवादीले भरमग्दुर प्रयास गर्नेछन् ।

अर्कोतिर वामपन्थी पार्टीबीचको नयाँ गठबन्धन बनाउने र उनीहरूको नेतृत्वमा सरकार बनाउने सम्भावना पनि त्यतिकै रहन्छ । किनभने एमाले र माओवादी दुवैमा वामपन्थी गठबन्धन बनाएर अघि बढ्नुपर्छ भन्ने मत बलियो छ । यद्यपि त्यो मत बाहिर खुलेर प्रकट भने हुन सकेको देखिँदैन ।

निर्वाचन नतिजाले संविधानको पहिलो विकल्प बन्द गरेसँगै नयाँ सरकार गठन गर्न धारा ७६ को उपधारा २ मा प्रवेश गर्नुपर्ने बाध्यता दलहरूले समेत बुझिसकेका छन् । त्यहीँ भएर उनीहरुबीच आन्तरिक छलफललाई बिस्तारै तीव्र बनाउँदै लैजान सुरु गरेका छन् ।  समानुपातिकको समेत नतिजा आइसकेपछि यसबारे दलहरुबीच छलफल गरेर अघि बढ्ने सबै जसो दलका नेताहरूले बताउँदै आएका छन् । अन्ततः राजनीतिमा विभिन्न विकल्पहरु बाँकी नै रहेपनि वर्तमान सत्तम गठबन्धन कायमै रहिरहने हो भने आगामी सरकार बनाउन यही गठबन्धनलाई सबैभन्दा सहज देखिएको छ ।