कांग्रेसको नेतृत्वमा दुईतिहाइ सरकारको सम्भावना

0
Shares

काठमाडौं । 

निर्वाचनपछिका चार दिनसम्म भएको मतगणनाको अनुपात अन्तिमसम्म कायम रहे नेपाली कांग्रेसको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार बन्ने सम्भावना देखिन्छ ।

अहिलेको मत–परिणाम कायम रहे नेपाली कांगे्रसले ३८ प्रतिशत, माओवादी केन्द्रले ११ प्रतिशत, नेकपा एकीकृत समाजवादीले ८ प्रतिशत र लोसपाले ३ प्रतिशत मत प्राप्त गर्नेछन् । यसरी हेर्दा गठबन्धन सरकारमा सहभागी जनमोर्चाको प्राप्ताङ्कबिना नै ५० प्रतिशत सिट हुन आउँछ । राष्ट्रिय स्वतन्त्र पार्टीको ७ प्रतिशत र अन्य दलको ७ प्रतिशतलाई जोड्दा ६४ प्रतिशत मत बन्न पुग्छ । तर, यसका लागि नेपाली कांग्रेसले कम्तीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्यलाई समेट्न सक्ने प्रधानमन्त्री दिन सक्नुपर्छ ।

नेपाली कांग्रेसमा युवा नेता गगन थापाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी फिर्ता लिएको सन्दर्भ स्मरण गर्ने हो भने थापा नै प्रधानमन्त्री बन्दा अधिक दल समेटिने सम्भावना देखिन्छ । तर, यसका लागि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्दा नयाँ परिवेश र परिस्थितिअनुसार चल्ने व्यक्तित्वलाई अघि सार्न सक्नुपर्छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापामा नै त्यस प्रकारको क्षमता देखिन्छ ।

नेकामा पार्टी अध्यक्ष शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली नेताहरू शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले पनि प्रधानमन्त्री बन्ने मनशाय व्यक्त गर्दै उम्मेदवारी दिएको र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको अवस्था छ ।

संसदीय दलको नेताको निर्वाचन पार्टीभित्र स्वतन्त्र र प्रजातान्त्रिक विधिबाट हुने हो भने युवा नेता गगन थापा निर्वाचित हुने सम्भावना छ । तर, सबैभन्दा कठोर अवरोधको विषय बनेको छ– देउवा, पौडेल, कोइराला र सिंहहरूको परम्परागत मानसिकता । म जेठो, मैले पहिलादेखि पार्टीमा काम गरेको भन्ने मानसिकता कायम रहेका कारण थापालाई तथाकथित वरिष्ठहरूले सहजै संसदीय दलको नेता बनाउने छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ विचारका दलले ‘गगन थापाको नेतृत्वमा सरकार बन्छ भने कांग्रेसलाई हाम्रो समर्थन रहन्छ’ भनेर आजै घोषणा गर्ने हो भने थापाको पक्षमा वातावरण तयार हुन पनि सक्छ । एमालेसँग रहेको २२ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ प्रतिशत तथा अन्यको ७ प्रतिशतसमेत गर्दा पनि ३३ प्रतिशत मात्र प्रतिपक्षी बेन्चमा बस्ने सदस्यहरू बाँकी रहनेछन् । यसरी हिसाब गर्दा पनि सत्ताधारी दलका पक्षमा दुईतिहाइ बहुमत बाँकी रहन्छ ।

यो समाचार तयार पार्दासम्म संघीय प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले ३२, एमालेले १९, माओवादी केन्द्रले ९, एकीकृत समाजवादीले र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् ।