सुदूरपश्चिममा पूराना दललाई झट्का, नागरिक उन्मुक्तिको उदय


धनगढी।

मंसिर ४ गते सम्पन्न चुनावमा सुदूरपश्चिममा नयाँ दलबाट पुराना पार्टीलाई झट्का लागेको छ। अहिलेसम्म मत गणना सम्पन्न भएका र गणना जारी रहेका निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मतदाताको क्रेज स्पष्ट देखिएको छ।

प्रत्यक्षमा नयाँ दल नागरिक उन्मुक्ति पार्टी र र सामानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित परिणाम हासिल गर्नुलाई पुराना पार्टीहरूसँग जनताको वितृष्णा बढेको रुपमा विश्लेषण गरिएको छ।

प्रतिनिधि सभाका लागि पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्तिको दुई क्षेत्रमा शानदार विजय निश्चित भएको छ। अहिलेसम्म प्रदेशतर्फ २ स्थानमा जित हात पारेको छ। थप ३ स्थानमा नागरिक उन्मुक्ति जित उन्मुख देखिएको छ। कैलाली ३ मा जित दर्ज गरेको नागरिक उन्मुक्ति पार्टी कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा सुरूदेखि नै अगाडि छ। यस्तै क्षेत्र नम्बर २ जित निकाल्न प्रतिस्पर्धा गरिरहेको छ।

यता, कैलालीका अन्य क्षेत्र र कञ्चनपुरमा पनि नागरिक उन्मुक्तिका उम्मेदवारको पक्षमा मत आइरहेको छ। कैलालीबाट पुराना दलका पुराना नेताहरूलाई पछार्दै नागरिक उन्मुक्तिको संसद प्रवेशलाई जनताले सहज बनाइ दिएका छन्।

पुराना दल पछारिनुको कारण नेताहरूको नातावाद र कृपावाद मुख्य कारण रहेको राजनीतिक विश्लेषक एवं अधिवक्ता यज्ञराज जोशीले बताउनुभयो। ‘दलहरूका पछिल्ला गतिविधिले जनता वाक्कदिक्क हुन पुगे,’ उहाँले भन्नुभयो, ‘दलहरूको मै खाउ, मै लाउँ भन्ने प्रवृत्ति हाबी भयो। जसले गर्दा अविश्वास र वितृष्णाको बिचबाट जनताले विकल्प खोजेको अनुभूति गरेको छु।’

पुराना दलका पछिल्ला गतिविधिले जनता वाक्कदिक्क भएका बेला नयाँ दल आक्रोश पोख्ने माध्यम बनेको विश्लेषण गरिएको छ। जनताले पुराना दलहरूसँग वाक्कदिक्क भएर मतदान गर्ने विकल्पको रुपमा नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र पार्टीलाई स्वीकार गरेको जोशीको विश्वास छ। ‘जनताले पनि प्रयोग गर्ने देखियो। यो पटक देशैभरी विकल्प खोजेको देखियो। यो सही निसानमा पनि लाग्न सक्छ,’ जोशीले भन्नुभयो।

२०६२ र ०६३ को परिवर्तन पश्चात राजनीतिक दलहरूले केही वर्ष संविधान निर्माण गर्न खर्च गरे पनि त्यसपछिको डेढ दशक बढी समय कुर्सी खोस्न र बचाउनमै बिताएको जनताले मन नपराएकाले यो पटक पुराना दलभन्दा नयाँ दल र उम्मेदवार मतदाताको छनोटमा परेका हुन्। कुर्सी बचाउनका लागि गरिएका चलखेल मान्य नहुने भन्दै नयाँ दललाई मतदाताले भोट हालेको जोशीको तर्क छ।

सुदूरपश्चिममा यो चुनावमा पुराना र रैथाने नेताप्रति मतदाताको विकर्षण देखिएको छ। नयाँ दल र नयाँ उम्मेदवारलाई भने प्रथम पटकमै विश्वास गरेका छन्। आम निर्वाचन २०७९ ले पुराना र स्थापित दलहरूलाई जनताले दल र नेताका गतिविधि मुल्यांकन गरेर मतदान गर्छन भन्ने सन्देश भने दिएको छ।