निर्वाचन पर्यवेक्षणमैत्री व्यवहार संकीर्णतामा प्रहार

0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको व्यवस्थापकीय पक्षको निगरानी गर्दा भूगोलले दुर्गम भए पनि चेतना स्तरमा त्यहाँका नागरिक अगाडि रहेको काभ्रेमा नेपाल समाचारपत्रले गरेको निर्वाचन अनुगमनमा देखिएको छ ।

आइतबार बिहान ५ः३० बजेदेखि साँझ ८ बजेसम्म सञ्चारकर्मीको आँखाले गरेको अवलोकनका क्रममा काभ्रे जिल्लाको दुईवटा क्षेत्र १ र २ का धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिकालगायतका क्षेत्रमा देखिएका दृश्यमा आम मतदाताको उपस्थिति र उत्साह न्यून रहे पनि निर्वाचनको व्यवस्थापन पक्ष समृद्ध देखियो ।

हरेक स्थानमा मतदाता आउँदा निर्वाचनका लागि खटिएका कर्मचारी, प्रतिनिधिहरूमा उत्साह देखिन्थ्यो । बिहान ५ः३० बजे बनेपा नगरपालिकाबाट एउटा सवारी साधन लिएर बिहानको चिसो र हुस्सुले ढाकेको बाटोमा सुस्त–सुस्त गतिमा यात्रा तय गरेका छापा, विद्युतीय र अनलाइन मिडियाका सञ्चारकर्मीहरू महांकाल माविमा पुग्दा मतदान शुरू हुन केही समय बाँकी थियो ।

बिहानको चिसोमा चियाको चुस्की लिँदै निर्वाचन स्थल नियालिरहेका क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार गोकुल बाँस्कोटालाई भेटियो । उहाँको मतदान स्थल पुग्दा त्यहाँ मतपत्र तयारी गर्ने कार्यमा निर्वाचन अधिकृतलगायतका सुरक्षाकर्मी, प्रतिनिधिहरू व्यस्त देखिन्थे । कर्मचारी र प्रतिनिधिले मतदाताको नामावली रुजु गर्नका लागि एकदिन अगाडि नै तयारी अवस्थामा राखिएको बेन्च शीतले पूरै भिजेको थियो । यसका साथै गोप्य मतदान गर्न बनाइएको बुथ पनि त्यसरी नै भिजेको अवस्थामा थियो ।

पहिलो मतदाताका रूपमा पुगेका उम्मेदवारले यिनै कारणले तोकिएको समयभन्दा ८ मिनेट ढिला गरी मतपत्र प्राप्त गर्नुभयो । उहाँ मतपत्र लिएर बुथमा गएलगत्तै एकछिन् अलमलिनुभयो, कारण बुथ पूरै शीतले भिजेकाले मतपत्रमा छाप लगाउँदा ओसिलो भयो ।

उहाँले छाप लगाइसकेपछि झण्डै २ मिनेट जति मतपत्र सुकाउनका लागि पट्याइसकेको मतपत्र खोलेर ओभाउनुप¥र्यो । देख्दा सामान्य लागे पनि यसरी मतपत्र भिज्दा मसी लतपतिएर बदर हुनसक्ने सम्भावना बढी देखिन्थ्यो । सुरक्षाकर्मीहरूले उम्मेदवारले मतपत्र खसालेको तस्वीर पत्रकारले मतदान केन्द्रभित्र पसेर हैन बाहिरैबाट खिच्नुस् भन्दै थिए । बाहिरबाट तस्विर प्रष्ट लिन विद्यालयको तारबार बाधक बनिरहेको थियोे ।

यता जिल्लाकै भौगोलिक रूपमा पछाडि परेको क्षेत्र बेथानचोकका निर्वाचन अधिकारी र सुरक्षाकर्मीको सोच भने निकै परिष्कृत र सचेत देखियो । निर्वाचनमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, निर्वाचन प्रतिनिधिहरूको उच्च सोच, विचार, विवेक प्रशंसनीय थियो ।

त्यहाँ विद्यालयको प्राङ्गाणमा तीन वटा बुथ थिए । निकै सोचविचारका साथ सबै पक्षलाई समेटी पारदर्शी तरिकाले मतदान स्थल तय गरिएको थियो जहाँ मतदाता, ज्येष्ठ नागरिक, अपांगता भएका, पर्यवेक्षक, पत्रकारहरूका लागि समेत छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको थियो । सञ्चारकर्मीका लागि तयार पारिएको डेस्कबाट तीनैवटा बुथमा मत खसालेको प्रष्ट तस्विर लिन सकिन्थ्यो ।

पत्रकार साथीहरू ‘यो त नमुनाकै काम भयो’ भन्दै थिए । ‘नमुना’को बुथ बनाउनेमा पार्वती माध्यमिक विद्यालय, ढुङ्खर्क, बेथानचोक र कृष्णगोपाल माध्यमिक विद्यालय, ढुङ्खर्क, बेथानचोक देखिन्थे ।

यसबाट निर्वाचन आयोगले सिकेर मतगणनाका बेला माइकबाट मत सुनाउनुभन्दा डिजिटल रूपमै डिसप्ले हुने र अनलाइनमा अपडेट गर्नेगरेमा अनावश्यक रूपमा फैलने भ्रमलाई नियन्त्रण गर्न र सञ्चारमाध्यमलाई सही सूचना जनमानसमा पु¥याउन मद्दत पुग्ने धारणा पनि पत्रकार साथीहरूको थियो ।

समग्रमा निर्वाचनमा खटिएका कर्मचारीहरूको विवेक, जनप्रतिनिधि तथा उम्मेदवारहरूको सहयोग, स्थानीयको साथ प्रशंसनीय पाइयो ।

यद्यपि, कतिपय मतदातामा अन्योलको अवस्था भने कायमै देखियो । उम्मेदवार नै नदेखेको, नचिनेको, मतदाता शिक्षा नपुगेको कारण मतदाता अलमलिएको अवस्था थियो भने कतिपय स्थानमा मदतान केन्द्र सानो भएका कारण मतपेटिका सँगसँगै राखिएकाले एउटा पेटिकामा खसाल्ने मत अर्कोमा खसाल्ने सम्भावना पनि उत्तिकै थियो ।

केही मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि नपाएर प्रक्रियाका लागि मात्र मतदान शुरू गर्नेदेखि बन्द गर्ने सम्मको पत्र एकैपटक बनाएर मतदान अधिकृतले मतदान शुरू गर्नुपरेको, प्रतिनिधि नभएर मतदान शुरू गर्न ढिला भएको अवस्थामा भने सुधारको खाँचो देखियो ।