ठूला दलको लोकप्रियतामाथि प्रश्न : नयाँ शक्तिको उदय

0
Shares

काठमाडौं । 

आइतबार सम्पन्न संघ तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि त्यसको प्रारम्भिक नजिता आउन शुरू भएको छ । राष्ट्रिय राजनीतिमा प्रारम्भिक नतिजाले उथलपुथल ल्याउने संकेतहरू देखापरेका छन् ।

केही महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले देखाएको उदारताले दलप्रति जनताको वितृष्णालाई छर्लङ्ग बनाइदिएको छ ।तीन दशकभन्दा लामो समयदेखि सत्ताको वरपर रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलले देखाएको रबैयाका कारण जनतामा यति धेरै नैराश्यता पलायो कि दलविरुद्ध खडा भएका युवा र स्वतन्त्र र नयाँ पार्टीका उम्मेदवारले गरेको भाषणलाई आधार बनाएर मतदाताले उनीहरूलाई नै मत दिए ।

मुलुकको अखण्डता, सार्वभौमसत्ता र राजकीय सत्ताका लागि दलहरूले विगतमा गरेको बलिदान र संर्घष अहिले फिक्का हुँदै गएको छ । राजनीतिक दलले जनताको भावनालाई समेट्न नसक्दा जनता भड्किएको देखिन्छ । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पहिलोपटक सहभागी भएको नेकपा माओवादी केन्द्रलाई जनताले ठूलो पार्टी हुनेगरी निर्वाचित गराएका थिए । तर, माओवादीले आफ्नो विरासत थाम्न नसक्दा नेपालको राजनीतिमा ढुलमुले र अस्थिर पार्टीको रूपमा आपूmलाई स्थापित गराउँदै लग्यो ।

त्यसबेला नै जनताले दलको काम गराइ र शासन शैलीका बारेमा खबरदारी गरेको भए पनि दलले गरेको बेवास्था अहिलेको निर्वाचनमा प्रतिबिम्बित भएको छ । जसले दलका नेताको मुटुमा ढ्यांग्रो ठोकेको हुनुपर्छ ।नेपाली कांग्रेस र नेकपा एमालेले लामो समय सत्ताको बागडोर सम्हाले पनि जनताका भावनाभन्दा व्यक्ति केन्द्रित र आफन्तवादमा रुमलिँदा जनता यी पार्टीसँग पनि निराश भएर नयाँ शक्तिको खोजीमा लागेको देखिन्छ ।

मुलुक बनाउने बाचा गरेर सत्तामा तीन दशकदेखि एउटै पात्रलाई नजिकबाट निहाली रहेका जनताले नयाँ शक्तिको खोजी गरेको पाइयो । भोलि के होला भन्न त सकिँदैन आज भने दलका विरुद्ध चर्का भाषण र उनीहरूले विगतमा गरेको कमी कमजोरीलाई जनतामाझ निर्धक्कसँग राख्दै आएका रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले भरोसा गरेको देखियो । पछिल्लो सार्वजनिक मत परिणामले त्यही देखाएको छ ।

जनता जर्नादन हुन् भन्ने सत्यलाई स्थापित दलले बिर्संदा आज ठूला भनिएका दलको अवस्था निकै कमजोर हुँदै गएको देखिन्छ । सत्ताको उन्मादले दलहरूलाई अन्धो बनाउँदै लगेको अहिलेको अवस्थामा यस्ता नयाँ शक्तिहरूको उदय हुनुलाई अस्वाभाविक रूपमा लिन मिल्दैन ।दुई तिहाई नजिकको सत्ताबाट आफ्नै कारणले बाहिरिएर प्रमुख प्रतिपक्षी दलको नेता बनेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतासँग आफ्नो पार्टीको भिजनका बारेमा स्पष्ट पार्नुभन्दा पनि हिजो सहकार्य गरेको दललाई समेत उपहासको बोली बोलेको देखेर अप्रिय अनुभव गरिरहेका थिए ।

छिमेकी मुलुक भारत र चीनले बितेका केही दशकमा गरेको आर्थिक तथा भौतिक प्रगतिले विश्वलाई आफूप्रति ध्यान केन्द्रित गराउन सफल भएका छन् भने ती दुई मुलुकको बीचमा रहेको नेपाल भने आर्थिक तथा भौतिक प्रगतिमा ऋणात्मक अवस्थामा पुगेको छ । मुलुकमा रोजगारी सिर्जना नहँुदा दैनिक २ हजार ५ सयभन्दा बढी युवा आफ्नो भविष्य खोज्दै विदेसिन बाध्य भएका छन् ।

निर्वाचनको सम्मुख दलहरूले जारी गरेको घोषणापत्रले जनतालाई झन् निरास मात्र बनाएन आक्रोशित हुनसमेत बाध्य पारेको थियो, जो जनताले मतदानबाट पुष्टि पनि गरे ।१० वर्षे सशस्त्र युद्ध चलाएर राजतन्त्र ढाल्ने अभियानका सशक्त सूत्रधार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को पछिल्लो व्यवहारले पनि तिरष्कृत हुनुपरेको छ ।

लोकतन्त्रमा दलको विकल्प दल नै हो तर दलले मुलुकको शासकीय व्यवस्था कस्तो बनाउने मुलुकलाई कुन दिशातर्फ लैजाने भनेर जनतालाई आश्वस्त पार्न नसक्दा आज स्थापित दलका नेताहरू मुन्टो लुकाएर समाजमा हिड्नुपर्ने अवस्थातर्फ जाँदैछन् ।

नेपाली कांग्रेसका सभापति तथा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले आफू मुलुक बनाउन छैटौंपटक प्रधामन्त्री बन्न लागेकाले यसपटकको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई विजयी गराउन जनतासँग अपिल गर्नुभएको थियो । यस प्रकारको पदलोलुपताले उहाँ र उहाँको पार्टीले अपेक्षित मत नपाउने प्रारम्भिक संकेत देखियो ।