पीडा थामेर मतदान गर्न आए सुत्केरी, मतदातामा उत्साह देखिएन

0
Shares

कास्की। 

प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अन्तर्गत  कास्की जिल्लामा मतदातामा उत्साह भने कम देखियो । निर्वाचन आयोग गण्डकीको प्रारम्भिक आकलन अनुसार कास्कीमा ६० प्रतिशत मात्रै मत खस्यो । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु गरेको मतदान साँझ ५ बजेसम्म जारी रह्यो । कास्कीमा छिटपुट बाहेक शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको निर्वाचन आयोग गण्डकीका सूचना अधिकारी रुद्रथान न्यौपानेले जानकारी दिए ।

पोखरा महागनरपाकिला वडा ५ की आशा भण्डारी र वडा १३ की सोनु श्रेष्ठ आफ्नो पीडा थामेर आइतबार मत हाल्न पुगेका थिए । उनीहरु परिवर्तनका लागि मत हाल्न पुगेको सुनाउँछन्  । आशाले पहिलो पटक मत हाल्दै थिइन् भने सोनुले दोस्रो पटक । दुवै जनाले आफूहरुले नयाँ उम्मेदवार आएकाले मत हाल्न आएको बताउँछन् । उनीहरुको क्षेत्र फरक हो । तर अहिले राजनैतिक वितृष्णा बढ्दै जाँदा परिवर्तन आवश्यक रहेको उनीहरु सुनाउँछन् । करिब १६ वर्षपछि मत हाल्न पुगेकी सोनुले आफ्नो क्षेत्रमा राम्रो व्यक्ति आएकाले मतदान गर्न स्वइच्छाले पुगेको बताउँछिन् । यस्तै आशालेपनि आफूले राम्रो उम्मेदवार पाएकाले मत हाल्न आएको बताउँछिन् ।

मत आफै हाल्छु भनेर आँटे तर सकिन : सोनु 

पोखरा महानगरपालिका १३ कुँडहरमा रहेको  मौला इस्लामिक सामुदायिक विद्यालयमा प्रतिनिधि सभा तथा प्रदेशसभा मतदानस्थल रहेको थियो । बिहानदेखि फाट्फट् गर्दै मतदाताहरु आइरहेका थिए ।

त्यही क्रममा टाउकोमा टोपी लगाएकी र हरियो गाउनले बेरिएकी एक युवती आइन् । झट्ट हेर्दा आजभोलिमै व्यथा लाग्ला जस्तो । सबैले हेर्दा सुत्केरी हुन लागेजस्तो देखिने उनी सुत्केरी भइसकेकी महिला हुन् । असोज २६ गते सामान्य तरिकाले सुत्केरी नभएपछि उनको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । नवजात शिशु छोरा थियो ।

त्यसको दुई दिन पश्चात् अप्रेसन बिग्रिएपछि उनले अर्को अस्पतालमा दोस्रो अप्रेसन गराइन् । घर आएको मात्रै २४ दिन भएको छ । अलिक सुधार भएपनि अझै दुई मिलिमिटर जति पिप घाउमा छ । युवाहरूमा निर्वाचनप्रति वितृष्णा भइरहँदा उनी भने विवेक प्रयोग गरेर मत हाल्न आइपुगेकी हुन् । घरबाट आट गरेर आए पनि उनी आफैले मत भने हाल्न पाइनन् । कारण उनको अप्रेसनको पीडा थियो । शरीरको घाउको पीडा भुलेर मतदान गर्न आएकी उनको पाइला मतदान स्थलसम्म पुगे पनि मतदान केन्द्रतर्फ बढ्न सकेन । उनको मुटुको चाल बढ्न थाल्यो । हिँड्न सकिनन् । त्यही रहेका प्रतिनिधिलाई आग्रह गरेपछि उनलाई प्लास्टिकको कुर्चीमा राखियो र त्यही ल्याइयो प्रत्यक्ष र समानुपातिकको मतपत्र । निर्वाचनका लागि खटिएका कर्मचारीले मत पत्रमा हस्ताक्षर गराउन मतपत्र नै त्यही ल्याइदिए पनि उनी आफै मत पेटिकामा जान भने सकिनन् । उनको श्रीमानले उनको तर्फबाट मतदान गरिदिए । ‘आफै हाल्छु भनेर आएको थिएँ । मुटु ढुकढुक बढी गरेपछि हिँड्न सकिन्, श्रीमानले जे मा भनेको त्यहीमा हालिदिन्छु भनेपछि विश्वास गरे’ उनले भनिन्, ‘मेरो डबल अप्रेसन हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अप्रेसन बिग्रिएपछि पार्कल्याण्डमा अप्रेसन गराएको हुँ । अलिकति सुधार भएको छ ।’ १६ वर्षपछि उनले दोस्रो पटक मतदान गर्न लागेको बताउँछिन् । ‘मैले १७/१८ वर्षको हुँदा एक पटकमात्रै मतदान गरेको थिएँ । यो दोस्रो पटक हो । आफ्नो टोलमा राम्रो नेता भइहाल्छ की भनेर आएकी हुँ’ उनले भनिन् । मतदान गर्न आउँदा त्यति समस्या नभएको तर आफ्नो कारणले नै समस्या भएको उनी सुनाउँछिन् । ‘यहाँ आउनलाई समस्या भएन । राम्रो भयो । यहाँभन्दा (मतदान केन्द्रबाट मतपत्र लिने स्थान) उता जान सकिन मुटु ढकढक भयो । पेटमा अप्रेसन गरेर बाबु निकालेको हो । डेढ महिनाको भयो । अझै घाउ आलै छ ।’

पहिलो अनुभव लिए : आशा भण्डारी 

पोखरा ५ मालेपाटनकी आशा भण्डारी पनि सुत्केरी नै हुन् । चार दिनको नवजात शिशुलाई घरमा छाडेर मत हाल्न आएकी उनको मतदाता परिचय पत्र नभएको र नागरिकता समेत घरमा छुटेको थियो । जसका कारण उनी लामो समय काठको बेन्चमा कुरेरै बस्न पर्‍यो । १९ वर्षिया भण्डारी एकातिर आफ्नो सन्तान पाएर खुसी थिइन् भने अर्कातिर आफूले पहिलो पटक मतदान गर्न पाएर खुसी थिइन् ।

‘मेरो पहिलो मतदान हो । पहिलो चोटि आएकी हुँ । राम्रै अनुभव भयो’ उनले भनिन् । मतदान गर्दै उनले देशका लागि सकरात्मक काम गर्न समेत नेतालाई आग्रह गर्छिन् ।