आज नेपालीको राष्ट्रिय राजनीतिक पर्व

देशभर २२ हजार २ सय २७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान


प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ गरी कुल ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ जना प्रदेशसभातर्फ ३ हजार २ सय २४ जना उम्मेदवार रहेका छन् । त्यस्तै, प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १ सय ९९ र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा रहेको छ ।

 काठमाडौं । 

नेपालको संविधान २०७२ अनुरूप प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो कार्यकालको लागि आज आइतबार निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यसपटक देशभर एकै चरणमा निर्वाचन हुन लागेको छ । २०७४ सालमा मङ्सिर १० र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो ।संविधानबमोजिम मुलुकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक गरी दुवै निर्वाचन प्रणाली अपनाएको छ । २०६४ साल चैत्र २८ गते नेपालमै पहिलोपटक भएको संविधानसभाको निर्वाचनयता समानुपातिक निर्वाचन प्रणाली अपनाइएको छ ।

१० हजार ८ सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २७५ सिट र प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० र सात वटै प्रदेशसभा समानुपातिकतर्फ २ सय २० सदस्य समानुपातिक प्रणालीबाट चुनिन्छन् ।

संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा ६० प्रतिशत प्रत्यक्ष रूपमा निर्वाचित हुन्छन् भने ४० प्रतिशत समानुपातिकबाट छानिन्छन् । प्रत्यक्षतर्फ मतदाताले उम्मेदवार हेरेर मत दिन पाउँछन् भने समानुपातिकतर्फ दलको चुनाव चिह्नमा मतदाताले मत हाल्नुपर्छ । स्वतन्त्र उम्मेदवारको भने समानुपातिक मत हुँदैन ।

आज हुने निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ गरी कुल ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ जना प्रदेशसभातर्फ ३ हजार २ सय २४ जना उम्मेदवार रहेका छन् । त्यस्तै प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १ सय ९९ र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा रहेको छ ।निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक एवम् प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपेटिका तथा मतपत्रहरू रहेको छ । दुवैको प्रत्यक्षतर्फ रातो र समानुपातिकतर्पm कालो गरी चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर चारवटा छुट्टै मतपेटिकामा खसाल्नुपर्ने छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र प्रतिनिधिसभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कुल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छपाइएको थियो ।यसपटकको निर्वाचनमा कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय जना रहेका छन् । त्यसै गरी १ सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने अस्थायी मतदाता करिब ४ लाख ५० हजार रहेका छन् । त्यस्ता, मतदानस्थलबाट कैदी, कर्मचारी, सुरक्षाकर्मीलाई मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचनसम्बन्धी काम कारबाहीको स्वदेशीसहित भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण गर्ने आयोगले जनाएको छ । आयोगका अनुसार नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूबाट समेत मतदानको दिन अवलोकन गरिने छ । अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २ सय १९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराइसकेको छ ।

पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३ सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् ।

आयोगको आह्वान

यसैबीच आयोगले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । व्यवस्थापकीय र सुरक्षा व्यवस्था मिलाउने काम सम्पन्न भइसकेको जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ ।

निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको उल्लेख गर्दै आयोगले आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्न अनुरोध गरेको हो । आफूले रोजेको प्रतिनिधिमार्फत् शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्नेछ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार आयोजित पत्रकार भेटघाटमा भन्नुभयो ।

अवाञ्छित कार्य गर्नेलाई कारबाही

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गृह मन्त्रालयले ३ हजार ८० मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ । यस्तै, ४ हजार ४ सय ८० स्थल संवेदनशील र ३ हजार ३ सय १९ कम संवेदनशील सूचीमा राखेका छन् ।निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्नसक्ने गरी पर्याप्त सुरक्षाकर्मीको जगेडा फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

परिचयपत्र अनिवार्य

मतदाताले मत हाल्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रूपमा लिएर जानुपर्ने छ । यदि मतदाता परिचय पत्रमा हराएमा वा च्यातिएमा आयोगले तोकेबमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमतिपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जान सकिनेछ ।

मतदानको दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौंडा छेकी मतदान केन्द्रमा जान नदिनेलाई कारबाही गर्न पनि आयोगले निर्देशन दिएको छ ।

मतपत्रको दुरूपयोग गर्ने, मतदानको अधिकारबिना मतदान गर्ने, पटक–पटक मतदान गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, मतदातासँग अर्काे कुनै अनधिकृत व्यक्ति मतदान कक्षमा जाने तथा मतदान अधिकृतले निषेध गरेको कुनै कार्य गर्नखोज्ने जो कोहीलाई कानुनबमोजिम कारवाही गर्न पनि आयोगले भनेको छ ।

मतदानस्थलमा यी वस्तु लान पाइन्न

मतदान गर्न जाँदा मतदाताले मतदान केन्द्रमा क्यामरा, मोबाइललगायत अन्य सामग्री आफूसँगै लान नपाइने भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा सो निर्णय गरेको हो ।

आयोगको निर्देशनविपरीत कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो स्थानमा साथमा लगी मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने आयोगले चेतावनी दिएको छ ।आयोगले यस सम्बन्धमा चार बुँदे निर्देशन जारी गरी मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन अनुरोध गरेको छ । त्यसका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्न निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्र प्रवेश गर्न अनुमति दिने आयोगको निर्देशनमा उल्लेख गरिएको छ । आयोगको निर्देशनविपरीत मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने आयोगले जनाएको छ ।

आयोगको निर्देशिका र निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने पनि निर्देशनमा उल्लेख गरिएको छ ।

आज चलाउन पाउने सवारी साधनहरू

मतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकलसँगै खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन र दूध बोक्ने सवारी साधन प्रयोग गर्न पाइनेछ ।त्यसै गरी पत्रकारले पनि आफ्नो सवारी चलाउन अनुमति पत्र लिन नपर्ने व्यवस्था गरिएको छ । सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन ।

दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन प्रयोग गर्न पनि अनुमति लिन नपर्ने सूचीमा राखिएको छ ।त्यसै गरी निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन तरकारी, फलफूल तथा विद्युत् सेवका लागि प्रयोग हुने सवारी साधनले अनुमति लिन पर्दैन ।

त्यस्तै, अनुमति पत्र लिन नपर्नेमा कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन पनि रहेको छ ।आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन पनि अनुमति लिन पर्दैन ।