काठमाडौं ।
केही दिनपछि कतारमा २२औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । यो समेत एसियामा दोस्रोपटक विश्वकप आयोजना हुन लागेको हो । यसअघि, सन् २००२ मा जापान र दक्षिण कोरियाले एसियामा पहिलोपटक विश्वकप आयोजना गरेका थिए । यसपटक भने विश्वकप आयोजना गर्ने कतार पहिलो खाडी राष्ट्र बन्दै छ । सन् २०१० मा विश्वकप आयोजनाको जिम्मा पाएको कतारले दिनरात खटेर आठवटा रंगशाला तयार पारेको हो ।
रंगशाला मात्र होइन, कतारले एउटा सिंगो सहरको स्वरूपलाई पनि आधुनिकीकरण गरेको छ । फुटबल समर्थकहरूलाई रंगशालासम्म पुग्नका लागि छोटो समयमा नै दोहा मेट्रोको नामबाट ¥यापिड ट्रान्जिट सिस्टम, बसोबासका लागि सुविधा सम्पन्न अपार्टमेन्ट्स, भिल्ला, क्रुज सिप होटल र फ्यान भिलेज आदि निर्माण गरेको छ ।खाडीको गर्मीको कारण विश्वकपको इतिहासमा पहिलोपटक प्रतियोगिता नोभेम्बर र डिसेम्बरमा हुँदैछ । समान्यतया गर्मीयाममा कतारमा दिनको तापक्रम ५० डिग्रीभन्दा माथि हुने गर्दछ । त्यही गर्मीबाट विश्वकपलाई असर नपरोस् भनेर कतारले यसअघि सधैं ग्रीष्ममा हुने विश्वकपलाई हिउँदमा सारेर नयाँ इतिहास कोर्दैछ । तर, कोरिन लागेको यो नयाँ इतिहासको पछाडि एउटा कहालीलाग्दो सत्य पनि लुकेको छ ।
कतारले विश्वकपका लागि छोटो अवधिमा पूर्वाधार निर्माणका क्रममा त्यही ५० डिग्रीभन्दा माथिको गर्मीको कारणले धेरैको ज्यान जान सक्छ भनेर हेक्का राखेन वा राख्न चाहेन । जसको नतिजा पछिल्लो १० वर्षमा ६ हजार ५ सयभन्दा बढी आप्रवासी कामदारले ज्यान गुमाएको तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । तीमध्ये एक हजार ६ सय ४१ जना नेपाली रहेको जनाइएको छ । जुन जंगलको डढेलोझै संसारभर फैलिरहेको छ । यो समाचार अहिले अन्तराष्ट्रीय समुदायको चासोको विषय समेत बनेको छ ।
विशेषगरी “द गार्जियन” र “टाइम्स म्यागेजिन” लगायत अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कतार विश्वकपका लागि बनाइएका ती वैभवशाली संरचना पछाडिको कालो सत्यलाई उदांगो पारिदिएका छन् । जसमा स्पष्ट भाषामा कतारले विश्वकप आयोजना गर्नका लागि कामदारमाथि गरेको व्यवहारलाई कालो पाटोको रूपमा चित्रण गरिएको छ । हालै मात्र “द गार्जियन” पत्रिकाले १० वर्षमा कतारले विश्वकपका लागि संरचना बनाउँदा ६ हजार ५ सयजना आप्रवासी कामदारहरूले ज्यान गुमाएका भनेर विवरण सार्वजनिक गरेको हो ।
यसअघिका विश्वकपमा पनि रंगशाला बनाउने क्रममा मान्छे नमरेका भने होइनन् । तर, ती सबै आप्रवासी थिएनन् र संख्या पनि औंलामा नै गन्न सकिने अवस्थाका थिए । कतारमा मर्नेमा सबैभन्दा बढी भारतका २ हजार ७ सय ११, नेपालका १ हजार ६ सय ४१, बंगलादेशका एक हजार १८, पाकिस्तानका ८ सय २४ र श्रीलंकाका ५ सय ३७ जना रहेको तथ्यांकमा उल्लेख छ । मर्नेहरूबाहेक रोगी र अपांग भएर घर फर्कनेहरूको कुनै लेखाजोखा नै छैन ।
त्यति मात्र होइन, एमनेस्टी इन्टरनेसनलले हालै सार्वजनिक गरेको एउटा रिपोर्टमा त कामदारको मृत्यु भइसकेपछि कतार सरकारले त्यसको कुनै पनि अनुसन्धान नगरेको र त्यसलाई सीधै प्राकृतिक र हृदयाघातका कारणले भएको भनेर आरोप लगाएको छ । कतारको कानूनले हृदयाघातबाट हुने मृत्युलाई प्राकृतिक मृत्युको श्रेणीमा राख्नेगर्छ । तर, हृदयाघात कसरी हुन्छ र कसरी मान्छे मर्छ भनेर चाहिँ कतार सरकारले चासो लिएको देखिँदैन ।
एमनेस्टीको रिपोर्टमा कतारमा जुन खालको तातो मौसम र वातावरण छ त्यसैमा लगातार काम गर्नुपर्ने र आराम नमिलेकाले कामदारको मृत्यु भएको हुनसक्ने उल्लेख छ । तर, कतारले नेपाली कामदारमाथि कतिसम्म अत्याचार गरेको छ भन्ने बताउन द गार्जियन पत्रिका र टाइम्स म्यागाजिनले प्रकाशित गरेका समाचारहरू हेरे पुग्छ । टाइम्समा प्रकाशित नोभेम्बर, २०२२ को अंकको कभर स्टोरीलाई पढ्ने हो भने धेरै कुरा छर्लंग हुन्छ ।
ती समाचारका कारण अरब देशमा पहिलोपटक फिफा विश्वकप आयोजना हुन लागे पनि प्रशंसाभन्दा बढी आलोचना हुन थालेको छ । प्रकाशित ती लेखहरूलाई आधार मान्ने हो भने हजारौं आप्रवासी कामदारको जीवन मूल्य चुकाएर कतार आफ्नो नयाँ इतिहास बनाउन आतुर देखिन्छ । बितेको १५ वर्षमा कतारमा २ हजार भन्दा बढी नेपाली कामदारहरूको मृत्यु भएको तथ्याकंले देखाउँछ ।
एक अध्ययनले सन २००९ देखि सन २०१७ सम्म ५ सय ७१ को मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको र करिब २ सयको हिट–स्ट्रोकबाट भएको देखाएको छ । योबाहेक त्यस्ता कामदार लाखौं छन् जो अत्यधिक गर्मीमा काम गरेका कारण मृगौलाका रोगी बनेका छन् । नेपालको अस्पतालमा खाडीमा काम गरेर फर्केका अधिकांश बिरामीको मृगौलामा समस्या देखिने गर्दछ ।
यूएईको नयाँ कानुनअनुसार ३१.१ डिग्री सेल्सियसभन्दा माथि काम गर्न रोक लगाउने समाचार सार्वजनिक भएको थियो । त्यस्तै, कतारको श्रम मन्त्रालयले पनि गर्मी महिनामा घाममुनि १० बजेदेखि ३ बजेसम्म काम गर्न रोक लगाएको भनिए पनि कतिपय अवस्थामा यो नियमको उल्लंघन हुने गरेको कामदारहरू बताउँछन् । यस्तो हुनुमा कतारमा काम लगाउने ठेकेदार कम्पनीहरूको फट्याइँ नै मुख्य कारण हो ।
१० वर्षमा कतारले बनाएका विश्वकप संरचनाको जगमा हजारौ कामदारको चिहान छ भन्दै विश्वकप खेल्ने टिमबाट समेत कतारी शैलीको विरोध भएको छ । विश्वकपका लागि चाहिने पूर्वाधारहरू बनाउने क्रममा हजारौंले ज्यान गुमाएका छन्, त्यसरी ज्यान गुमाउने आप्रवासीको पक्षमा जर्सी, ब्यान्ड लगाउँदै धेरै वटा टिमहरूले मैदानमा उत्रिने उद्घोष गरेका हुन् ।
अस्ट्रेलियन फुटबल टिमले हालसालै मात्र एउटा भिडियो सार्वजनिक गरेर विश्वकपका लागि आवश्यक पूर्वाधार बनाउँदा मारिएका र घाइते भएका आप्रवासी कामदारहरूलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ । अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीले भिडियो सन्देशमार्फत कतारको यस्तो व्यवहारको भत्र्सना गरेको छ ।
त्यसैगरी, इंग्ल्यान्डको फुटबल टिमले विश्वकपका पूर्वाधार बनाउन मरेका र घाइते भएका कामदारको क्षतिपूर्ति दिनुपर्ने माग राखेर एउटा भिडियो जारी गरेको थियो ।त्यस्तै, नेडरल्यान्ड्सका खेलाडीहरूले “फुटबल सपोर्ट चेन्ज” लेखिएका जर्सी लगाएका थिए । नर्वेका खेलाडीले “मानवअधिकार मैदानभित्र र बाहिर” लेखिएका जर्सी लगाएका थिए । जर्मनीका खेलाडीले कतार विश्वकपको विरोधमा कालो जर्सी लगाउँदै, त्यसमाथि अंग्रेजीमा “ह्यूमन राइट्स” अर्थात् मानवअधिकार लेखेका थिए । डेनमार्कका खेलाडीले “मानवअधिकारको पक्षमा उभिने हिम्मत राखौं” लेखेका जर्सी लगाएका थिए ।
छनोट खेलमा मात्र होइन, कतारले आप्रवासी कामदारमाथि गरेको शोषण र मानवअधिकार हननको विरोधमा डेनमार्क, जर्मनी, इंग्ल्यान्ड लगायतका टोलीले विश्वकपको दौरान पनि विरोध गर्ने बताउँदै आएका छन् । डेनमार्कले कतारको विरोधमा विश्वकप खेलमा लगाउने जर्सीमा आफ्नो देशको नाम र लोगो धमिलो बनाउने भएका छन् । जर्मनीले “ह्यूमन राइट्स” लेखिएको जर्सी लगाउने बताइएको छ । वर्तमान विश्वविजेता भए पनि फ्रान्सले पेरिस र अन्य सहरका सार्वजनिक स्थानमा फुटबलको प्रत्यक्ष प्रसारण नदेखाउने बताएको छ ।
कतारले सन २०१० मा जापान, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरियालाई पछाडि पार्दै विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएको हो । कतारको यो जितले नेपाल लगायत अन्य दक्षिण एसियाली मुलुकले चर्को मूल्य चुकाउनुप¥यो । चर्को तापक्रममा घोटाएर काम गर्नुपर्ने बाध्यता, त्यसमाथि प्यासले घांँटी प्याक प्याक सुकिसक्दा पानी पिउन नपाउनु र पिसाबबाट फिँज बगेर किड्नीमा समस्या निम्तिएको पिडित नेपाली कामदारले भिडियोमार्फत् बताएका कुरा सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यसमाथि समयमा तलब नपाएर अर्को ठूलो समस्याबाट पीडित बनेका थिए नेपाली कामदार ।
गार्जियन पत्रिकाले थुप्रै पटक कतार विश्वकपका लागि चाहिने पूर्वाधार निर्माणका क्रममा खटिएका आप्रवासी कामदारमाथि गरिएको शोषण र मानवाधिकारबारे श्रृंखलाबद्ध समाचारहरू प्रकाशन गर्दै आएको छ । कतारले करिब २ सय ३० बिलियन अमेरिकी डलर खर्च गरेर आयोजना गर्न लागिरहेको फुटबलको यस महाकुम्भ मेलामा धेरै नेपालीहरु मारिने मात्र होइन, कतिपय कामदार अत्यधिक गर्मी, कामको चर्को बोझ, अव्यवस्थित बसोबास र असन्तुलित खानपिनका कारण अशक्त र घाइते भएर नेपाल फर्केका छन् । अर्को विडम्बना, तीमध्ये कयौं त नेपाल आएर पनि काम गर्ने अवस्थामा छैनन् ।
अधिकांशको मृत्युलाई कतारले अज्ञात र हृदयाघातका कारण भएको भन्दै पन्छाउंदै आएको छ । तर, मानवअधिकार र श्रमिकका पक्षमा काम गर्ने संस्थाले भने चर्को घाममा लामो समय परिश्रम गर्न लगाउँदा कामदारको मृत्यु भएको दाबी गरेका छन् । साँघुरो कोठामा सयौं कामदार राख्ने गरिएको, खाना र पानीको अभावबीच बाँचिरहेका कामदारको कारुणिक दृश्य पनि सबैसामु उदांगो पारिदिएको छ ।
२२औं विश्वकपका लागि सबैभन्दा धेरै रकम खर्च गर्ने राष्ट्र कतारमा थोरै पारिश्रमिक पाउनेमा नेपालीहरूको संख्या एकदमै ज्यादा रहेको उल्लेख छ । कामदारमाथि शोषण गर्ने कतारको कफारा नियमका कारण हजारौं आप्रवासी कामदारको मृत्यु भएको जनाइएको छ । यो नियमअनुसार जागीर दिने कम्पनीहरूले कामदारको पासपोर्ट आफैंसँग राख्ने र कामदारलाई समय अगावै घर फर्कन नदिने, अर्को जागिर गर्न नदिनेजस्ता अत्याचार गरेका छन् । कामदारलाई मृत्युको मुखमा पु¥याउने कफारा नियमलाई ह्युमन राइट वाचले दास प्रथाको आधुनिक स्वरूपमा चित्रण गरेको छ । कतारले विश्वकपका पूर्वाधार निर्माणका क्रममा मरेका कामदारको निष्पक्ष पोस्टमोर्टम समेत नगरेको आरोप छ ।
नेपाली कामदारले कतारमा भोगेको कहरको वर्णन गर्दै गार्जियन पत्रिकाले गर्मीका कारण कतारमा दैनिक एकजना नेपाली कामदारको मृत्यु हुने गरेको र तीमध्ये धेरैजना युवाहरूलाई अचानक हृदयाघात हुने गरेको लेखेको छ । कतारले विश्वकप आयोजना गर्ने निर्णय हुँदा कतारसँग दुईवटा मात्र रंगशाला थियो । अहिले कतारसँग आठवटा रंगशाला छन् । यो बाहेक हजारौं किलोमिटर नयाँ सडक, रेल्वे लाइन, विमानस्थल र सयौं होटल बनाइएका छन् । जुन हजारौं मान्छेको चिहानको जगमा ठड्याइका छन् । थुप्रै नेपालीहरू स्वस्थताको प्रमाणपत्र लिएर कतार पुगेका थिए तर, फर्कंदा बाकसमा कोचिएर आए ।
जसरी चर्चित जमैकन गायक बब मार्लीले “बफेलो शोल्जर्स इन द हर्ट अफ अमेरिका“ शब्दको एउटा गीतमार्फत् कुनै समय अश्वेत अफ्रिकी नागरिकको गरिबी र अमेरिकामा दासप्रथाको चित्रण गरेका थिए, हो, त्यस्तै प्रवृत्तिको व्यवहार झेलेका छन् कतारमा रंगशाला बनाउने आप्रवासी कामदारले । जसरी माझीको बल्छीमा खानाको टुक्रा पाउने आशमा माछाले आफ्नो ज्यान गुमाउने गर्छ त्यस्तै नियति नेपालीले पनि कतार रंगशाला बनाउने क्रममा बेहोरेको भन्दा फरक नपर्ला ।
कतिपय नेपाली भोलीको सुखद आशमा कतार पुगे । तर, उनीहरू भोलीका ती दिन हेर्न जीवित नै छैनन् । अर्को शब्दमा कतार रंगशाला नेपालीको लागि आधुनिक वधशाला भन्दा फरक नपर्ला । यदि “द गार्जियन” र “टाइम्स म्यागाजिन” तथा अन्य सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका समाचार र भिडियो शतप्रतिशत सत्य हो भने संसारभरका फुटबलप्रेमीको मन कुँडिएको कतार यस कार्यलाई दक्षिण एसिया, अफ्रिकाका हजारौं मान्छेले सायदै माफ गर्लान् । संसारले कतारलाई विश्वकप आयोजना गर्ने पहिलो खाडी मुलुकको रूपमा मात्र नभई हजारौं आप्रवासी कामदारको वधशाला बनेको रंगशालामा विलासिताको वैभव देखाउने देशका रूपमा पनि इतिहासमा स्मरण गर्नेछन् ।
प्रतिक्रिया