सल्यानमा मतदान अधिकृतसहित तीन जना कारबाहीमा



सल्यान । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि छनोटमा परेका तीन जना कर्मचारी कारबाहीमा परेका छन् । एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका हुन् ।

आचारसंहिताविपरीत काम गरेको भन्दै मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका छन् । कारबाहीमा परेका बन्गाड कुपिन्डे नगरपालिकाको कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रका मतदान अधिकृत, बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अनन्तराज गौतम, कालिमा प्रावि कजेरीमा सहायक मतदान अधिकृतमा, नियुक्त गरिएका शिक्षक दलबहादुर खडका र नवसर्वसाधारण प्रावि रातामाटा ‘ख’ दार्मामा परेका सहायक चोपीलाल बस्नेत रहेका छन् ।

कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रमा छनोटमा परेका अनन्तराम गौतमले आचारसंहिताविपरीत कर्मचारीको सरुवा गरेको र अन्यले निर्वाचन प्रचारप्रसारमा सहभागी भई आचारसंहिताविपरीत काम गरेको उजुरी परेपछि कारबाही गरिएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताउनु भयो ।

आचारसंहिता उल्लंघन गरेका १२ जना मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्यलाई पनि स्पष्टीकरण सोधिएको छ । जिल्लाका २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थलमा १ हजार ६ सय २३ जना कर्मचारी खटाइएकोमा लोक सेवा आयोगले निकालेको मौखिक परीक्षामा पास भएपछि छनोटमा परिसकेका र नियुक्तिका तयारी भइरहेका बेला १५ जना कर्मचारी छाडेर गएकाले केही समस्या भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्