मेरो उम्मेदवारी ऐन नियममा रहेको अपारदर्शीता विरुद्ध हो : सुरेशराज शर्मा


काठमाडाैं  ।
सर्लाहीको प्रतिनिधीमासभा क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार सुरेशराज शर्मा अधिकारीहरुकाे प्रभाव बढ्दैं गएको छ । उनी राष्ट्र र नागरिकमुखी व्यवस्थाका पक्षमा आफ्नो उम्मेदवारी भएको भन्दै स्थानीयलाई रिझाउन व्यस्त बनेका छन् ।
पुरानाे राजनीतिक पार्टीहरुबाट निराश बनेका मतदाताहरु अहिले अधिकारीलाई सघाउने पक्षमा देखिएका छन् । ‘मेरो उम्मेदवारी शीर्ष नेतृत्वको अधिनायकवादी कार्यशैलीप्रतिको बिमति, अपारदर्शी सन्धी सम्झौताको विपक्षमा, मुलुकको अर्थव्यवस्था बलियो बनाउने प्रणाली बनाउन र खोला बेच्ने तर हाइड्रो नबनाउनेजस्ता प्रवृत्तिका विरुद्धमा हो,’ अधिकारीले भने । उनले आफ्नो उम्मेदवारी समाजमा र देशमा असल शासन चाहनेहरुका लागि अप्सन भएको दावी गरे ।
उनले अहिलेका राजनीतिक दलका नेताहरुका कारण देश ट्रयापमा पर्ने अवस्था सिर्जना भएको बताउँदैं अहिलेको अन्योलताबाट पार लगाउन समाजका सचेत नागरिकले नेतृत्व लिनुपर्ने अवस्था आएको उल्लेख गरे । ‘हामीले आम नागरिकलाई अहिले भइरहेका सबै घटनाक्रम बुझाउन जरुरी छ,’ उनले थपे, ‘हामीले आवाज नउठाए कसले उठाउने ? हामी अगाडि नबढे को बढ्ने ?’
सर्लाही क्षेत्र नं. १ मा विभिन्न निर्वाचन कार्यक्रम सक्रिय रहेका रहेका उनले माछा चुनाव चिन्ह पाएका छन् । क्षेत्रगत विकास निर्माण, केन्द्रीय नीति निर्माणमा खबरदारी आफ्नो प्राथमिकतामा पर्ने एजेण्डा उनले जनतामाझ पु-याइरहेका छन् । ‘अहिले त १ करोडको योजनामा १२-१५ लाख मात्रै विकासका काममा खर्च गर्ने परिपाटी छ, यो परिपाटी नबदलेसम्म विकास सम्भव छैन्,’ उनले थपे ।
उनले राष्ट्रियताका सवालमा पनि अहिलेका प्रमुख दलहरुको नीति ढुलमुले र राष्ट्रहीत विपरित रहेको बताए । ‘कहिले चीनमुखी राष्ट्रिय नीति लिने, कहिले भारतमुखी । यो राष्ट्रिय नीति नेपाल अनुकूल छैन् । हामीले नेपाल अनुकूल विदेश नीति बनाउन आवश्यक छ,’ उनले भने, ‘मेरो उम्मेदवारी ऐन नियममा रहेको अपारदर्शीता विरुद्ध हो ।’ उनले २८ जनाले नागरिकता विधेयक पास गर्ने लोकतन्त्रको दुरावस्थालाई बदल्नका लागि आफूहरुजस्तै देशलाई माया गर्ने उम्मेदवारहरुको जित आवश्यक रहेको दाबी गरे ।
मधेशमा रहेको मधेशी पहाडी भावनालाई हटाएर मात्रै क्षेत्रको विकास हुने ठहर उनको छ । उनले अहिलेको बेरोजगारी पनि मुलुकका लागि प्रमुख समस्या भएको बताए । ‘हरेक बेरोजगार युवाहरुलाई उचित रोजगारी दिनुपर्छ, नभएर भत्ता दिएर उनीहरुलाई राख्नुपर्छ,’ उनले भने, ‘राज्यले यो नीति लिनैपर्छ ।’ अहिले दलीय व्यवस्थामा जथाभावी राजस्व उठाएर व्यवसायलाई दुत्साहन गर्न खोजिएको, स्थानीयस्तरमा कृषि, पशुपालनजस्ता कुराहरुमा पनि ध्यान नदिइएको उनले गुनासो गरे ।
‘हाम्रो यो निर्वाचन क्षेत्रमा स्थानीयस्तरका योजना, कृषि, पशुपालनजस्ता क्षेत्रमा विभिन्न कामहरु गर्न सकिन्छ,’ उनले भने, ‘माछा किसान १० वर्षअघिकै दरमा माछा बेच्न विवश छन् । अहिले बजारमा कति महंगी बढिसकेको छ ।’ उनले किसानलाई मारमा पार्ने, ठेक्का लगाउने परिपाटीको अन्य गरिनुपर्नेमा जोड दिने दावी गरे ।
उनले सित भण्डारी निर्माण, आलु उत्पादन हुने क्षेत्रमा वैज्ञानिक आलु खेतीमा पहल, कृषिमा विचौलिया न्यूनीकरण, किसान सहकारी स्थापनाजस्ता योजना आफूसँग रहेको जानकारी दिए । अधिकारीले सीपसहितको गुणस्तरीय शिक्षा १२ कक्षासम्म निःशुल्क, गुणस्तरहीन विकासको श्रृखलाको अन्त्य, निर्वाचन क्षेत्रमा भएका स्वास्थ्य चौकी १० शैय्या र ठूलो क्षेत्र भएका ५० र १०० शैय्याको अस्पताल विकास गरेर क्षेत्रमै विशेषज्ञ स्वास्थ्य सेवा दिने एजेण्डा पनि अघि सारेका छन् । ‘राजनीतिलाई शुद्ध सेवा र धर्मका हिसाबले अगाडि बढाउनेछु,’ उनले भने ।
सर्लाही ईश्वरपुर नगरपालिका भक्तिपुरका स्थानीवासी अधिकारी लामो समय व्यवसाय र समाजसेवामा सक्रिय रहँदैं आएका थिए । वौद्धिक छवि बनाएका ४८ वर्षीय उनले लामो समय शिक्षण पेशामा बिताएका थिए । सर्लाही १ मा अन्य दलको प्रतिस्पर्धीभन्दा उनी नवीन सोच र एजेण्डाका साथ चुनावी मैदानमा उत्रिएका हुन् ।