मुग्लानिँदै जवानी : भोटभन्दा भोकको चिन्ता

0
Shares

धनगढी । 

प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति मुखैमा पुगेको छ । निर्वाचनको मुखैमा पनि सुदूरपश्चिमेलीको भने मुग्लानतर्फको यात्रा रोकिएको छैन । विशेष गरी सुदूरका विभिन्न जिल्लाबाट युवाको ठूलो संख्या दिनहुँ पलायन भइरहेको छ । चुनाव नजिकिएको छ तर, पनि सुदूरपश्चिमका युवा भने चुनावको बेवास्ता गर्दै भारत पस्न थालेका छन् ।

भोटभन्दा भोकको चिन्ताले गर्दा भारत पलायन हुन बाध्य बनाएको उनीहरूको दुखेसो छ । दशैँ र तिहार मनाउन भारतका विभिन्न शहरबाट घर फर्किएका अधिकांश युवा अहिले फेरि धामाधम भारततर्फको यात्रामा छन् ।कैलालीको त्रिनगर, गौरीफन्टा नाकाबाट मात्रै हरेक दिन ८ सय बढी युवा भारतका विभिन्न स्थानमा पलायन भइरहेका हुन् । चुनावका लागि सीमा नाका बन्द हुने भएपछि ठूलो संख्यामा मतदाता चुनावको मुखैमा राजोगारीको खोजतलासमा भारत जान लागेका हुन् । मुखैमा आएको चुनावलाई नजरअन्दाज गर्दै सुदूरपश्चिमका युवाले भोको पेट पाल्न र घरपरिवारको खर्च धान्न भारतको बाटो तताइरहेका छन् । अचेल सुदूरपश्चिमका युवाका लागि रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेको भारतका विभिन्न सहरमा जानेको सीमा नाकामा लर्को नै लागेको देखिन्छ ।

यता, निर्वाचनको चटारोमा उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई भइरहेका बेला दैनिक सयौं युवा भने चुनावप्रति बेवास्ता गर्दै भारत पलायन भइरहेका हुन् । उनीहरूलाई निर्वाचनको कुनै चासो छैन । त्रिनगर नाका हुँदै भारत जाने यात्राको तयारीमा रहेका डोटीका दिपायल सिलगडी नगरपालिका–७ का जनक विष्टले चुनावमा कुनै चासो नभएको बताउनुभयो । उहाँले तिहारका लागि आफू घर आएको तर मङ्सिर ४ गते चुनाव छ भन्ने कुरा थाहा नपाएको बताउनुभयो ।

‘म तिहारमा घर आएको थिएँ, आज फेरि काम गर्न भारतको आन्ध्र प्रदेश जाँदै छु,’ उहाँले भन्नुभयो– ‘चुनाव कहिले हो त्यो थाहा भएन, घर खर्च चलाउन हामीले विदेश जानैपर्छ ।’ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका रूपेश विक पनि सीमा नाकामा भेटिनुभयो । सपरिवार भारत जान लागेका उहाँसँग नेपालमा रोजगारी नभएकाले भारत जानुको विकल्प छैन । उहाँका लागि चुनावभन्दा पनि रोजगारी बढी आवश्यक छ । उहाँले भन्नुभयो– ‘म भारतबाट दशैँमा घर फर्केको थिएँ, आज सपरिवार भारत जाँदै छौँ । नेपालमा रोजगारी छैन, चुनावमा भोट हाल्न बसेर के हुन्छ ? रोजगारी त मिल्दैन । त्यसैले पूरै परिवार काम गर्न जान लागेको हो ।’

नाकामा परिवारसँगै भारत जान लागेका टीकापुर नगरपालिका–६ का अमृत चौधरी पनि त्रिनगर नाकामा भेटिनुभयो । उहाँले भोट हाल्ने मन भए पनि घरखर्च धान्न भारत जानुपरेको बाध्यता सुनाउनुभयो । ‘योपटक भोट हाल्ने मन त थियो । तर, उता नगए नोकरी गुम्ने भएकाले आज जान लागेको छु,’ उहाँले भन्नुभयो– ‘यता काम पाइन्न उतै काम पनि पाइने कमाइ पनि हुने भएकाले भारत जानुपर्ने बाध्यता छ भन्नुप¥यो ।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का एकेन्द्र भाट पनि घर खर्च चलाउनका लागि भारत पस्न लागेकै बेला भेटिनुभयो । भोट माग्न मात्रै चुनावको बेला नेता गाउँमा आउने अरू बेला समस्या बुझ्न नेता गाउँमा नआउने भएकाले भोट नहालेर भारत जान लागेको भाटले बताउनुभयो । उहाँले भन्नुभयो– ‘भोट हालेर खान नमिल्ने, भारतको नोकरीको भरमा परिवार पाल्नुपर्ने, नेताहरू चुनावमा मात्रै आउने, अरू बेला समस्या नबुझ्ने भएकाले कसैलाई पनि भोट हाल्ने मन लागेन । भोटले खान दिने, काम दिने भए घरमै बस्न हुन्थ्यो ।’

आइतबार र सोमबार मात्रै ७ सय बढी युवा भारत पसेको सीमा नाकामा प्रहरीले टिपेको विवरणले देखाएको छ । हरेक दिन पाँच सयको हाराहारीमा गौरीफन्टा नाकाबाट युवाहरू भारत जाँदै छन् । कञ्चनपुरको गड्डाचौकीलगायत पहाडी जिल्लाका नाकाबाट पनि कामको खोजीमा युवाहरू भारत जाने गर्छन् ।त्रिनगर नाकामा भेटिएका अछामका दीपक बोहराले यसपालि कसैलाई भोट नदिने भनेर भारत जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले कांग्रेसलाई भोट हाले, एमाले र माओवादीलाई पनि भोट हालेँ तर कसैले काम गर्न सकेनन् । सबैसँग रिस उठेर योपटक भने कसैलाई भोट नदिने निर्णय गरेर भारत जान लागेको हुँ ।’

सुदूरपश्चिमका सबै जिल्लाबाट रोजगारीका लागि भारत जाने युवाको सीमा नाकामा हरेक दिन लर्को देख्न सकिन्छ । प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरूले रोजगारी सिर्जना गर्ने भाषण गरे पनि युवाहरूले त्यो पत्याएका छैनन् । युवाहरूले रोजगारी पाइने सम्भावना नदेखेको भन्दै भारत जना लागेको गुनासो सुनाउनुभएको छ ।