२४ वर्षपछि भेटिएका इञ्जिनियर साथी सिटौलालाई हेरेर मुस्कुराइरहे डा. भगवान कोइराला

282
Shares

काठमाडौँ।

भगवान कोइराला २०३९ सालमा डाक्टर पढ्नका लागि तत्कालिन शोभियत संघ उड्ने बेलामा एउटै जहाजमा थिए,  ईश्वरकान्त सिटौला । स्वदेश फर्किंदा भगवान, डाक्टर भगवान कोइराला बनेर फर्किए भने ईश्वर,  इञ्जिनियर ईश्वरकान्त सिटौला बनेर मातृभूमि फर्किए । इञ्जिनियर बनेपछि ईश्वरकान्त सिटौलाले नेपालका विभिन्न संघ संस्थामा १०  वर्ष काम गरे ।

भगवान कोइरालाले कैयौँ अस्पतालमा अनुभव बटुल्दै आज उनी वरिष्ठ मुटुरोग विशेषज्ञ बनिसकेका  छन् र सबै नेपालीको मन मनमा बस्न सफल जिउँदा भगवानका रुपमा छन् । डा. कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्षको जिम्मेवारीमा पनि छन् । हालै डा. कोइराला र ई. सिटौला २४ वर्षपछि भेट हुँदा यी दुई साथी निकै खुसी देखिए, हाँस्दाहाँस्दै आँखा रसाए ।

नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन नर्दन क्यालिफोनिर्याद्वारा काठमाडौँको घट्टेकुलोमा आयोजित कार्यक्रममा डा कोइराला र इञ्जिनियर  सिटौलाबीचको भेटमा उनीहरु एक अर्कालाई हेर्दै  मुसुमुसु मुस्कुराइरहेका थिए । इञ्जिनियर सिटौला संस्थापक अध्यक्ष रहेको  नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले डा कोइरालासहित विज्ञ, समाजसेवी  एवं स्रष्टा गरेर ९ जनालाई सम्मानित एवंम पुरस्कृत गर्ने मेसोमा उनीहरुको भेट भएको हो ।

सो अवसरमा डा. कोइरालाले  इ. सिटौलाको खुलेर प्रशंसा गर्दै भने, ‘उहाँ (सिटौला) इञ्जिनियर बन्नुभयो । तर, आफ्नो पेसा व्यवसायभन्दा धेरैमाथि उठेर एउटा असल समाजकै डिजाइन गरेर देखाउनुभयो । सामाजिक कामको डिजाइनको कुनै पारिश्रमिक लिनु भएन ।’ डा कोइरालाले सो अवसरमा आफ्ना धारणाहरु राख्दै समाजमा यस्ता कामहरु विभिन्न समयमा धेरै व्यक्तिबाट आवश्यक रहेको बताए ।

तत्कालीन सोभियत संघबाट इञ्जिनियरिङमा मास्टर्स गरेका सिटौला करिब साढे २ दशकदेखि अमेरिकामा छन् । अमेरिका गएपछि एमबीए गरेपश्चात उनी विभिन्न सामाजिक सेवामा आवद्ध भए । उनले आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन २०१७ मा स्थापना गरे ।

अमेरिकामा लाओ फेमिली कम्युनिटी डेभलबमेन्टमा म्यानेजरका रुपमा कार्यरत इञ्जिनियर सिटौला २४ वर्षपछि नेपाल  आएका हुन् । आमा बितेपछि निकै भावुक बनेका सिटौलाले त्यसअघि नै बाबुलाई गुमाइसहेका थिए । र बाबु आमाको सम्झनामा केही न केही नयाँ काम गरौँ भन्ने सोचेका उनले बुबा र आमाको नाममा संस्था खोले र आज त्यही संस्थाले सिटौलालाई फेरि उनै भगवानसँग भेटाइदियो ।

२४ वर्षपछि नेपाल आएका इ. सिटौला भन्छन्, ‘बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बुबाआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउण्डेसन खोलेको हुँ ।’

सिटौलाको यो संस्थाले गरिब, दिनदुखी, अनाथ, असहायहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउण्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरुलाई  पुरस्कृत गर्दै आएको छ । साहित्यको क्षेत्रमा काम गर्नेलाई सम्मान गर्दै आएको छ ।

हिजो एउटै जहाज चढेर उच्च शिक्षा अध्ययनका लागि विदेश गएका उनीहरु आज एउटै मञ्चमा बस्दा खुसी देखिन्थे । झट्ट हेर्दा डा. कोइरालाको कपाल फुलिसकेको देखिन्थ्यो भने अमेरिकाबाट लामो यात्रा गरेर आएकोले पनि होला इ सिटौला अलि थकित देखिन्थे । तर, नयाँ र फरक काम गर्ने हुटहुटी यी दुईको अनुहारमा प्रस्ट देखिन्थ्यो । कोइराला मुटुरोग विशेषज्ञ बन्दा अहिले सिटौला पाका र अनुभवी इञ्जिनियर मात्रै बनेनन् समाजसेवीका रुपमा पनि स्थापित भइसकेका छन् ।

आफ्ना मित्र डाक्टर कोइरालालाई पुरस्कृत र सम्मानित गर्न  पाउँदा इ सिटौला खुसी देखिन्थे ।  सो अवसरमा  डा कोइरालाका अलावा समाजसेवी दीक्षा चापागाई, पशुपति मिश्र, इन्द्रेणी समुह र कृष्ण कँडेल, सागर श्रेष्ठ, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान ,  नन्दा सिंह, लक्ष्मी उप्रेती, राधिका दासी लगायतका व्यक्ति तथा संघ संस्थालाई सम्मानीत एवंम र पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सम्मानित एवंम पुरस्कृत सबै स्रष्टा स्रष्टाहरुको परिचय विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईंले दिएका थिए । साथै प्रसाईंले विमोचित कविता कृति मौन समयको बारेमा पनि आफ्नो धारणा राखेका थिए ।