एमाले र गठबन्धनको चुनावी अग्निपरीक्षा



यही मंसिर ४ गते हुने चुनावमा कसले बाजी मार्ला त भन्ने अनुमान तीव्र हुुनु स्वाभाविक हो । गत आम चुनावमा नेपाल कम्युनिस्ट पार्टी एमालेले खसेको सदर मतमध्ये ३७ प्रतिशतभन्दा केही बढी मत प्राप्त गरेर देशको सबैभन्दा धेरै जनमत ल्याउने दल भएको थियो । त्यही हाराहारीमा मत ल्याएर नेपाली कांग्रेस बारबरीजस्तै मत पाउने दोस्रो ठूलो दल बन्न पुगेको हो ।

यसपटक मतको ढाँचामा केही परिवर्तन आउँछ नै । एमालेबाट माधवकुमार नेपालहरु अलग भएका छन् । तर उनीहरु माओवादी दलमा समावेश भएका छैनन् । माओवादीका केही प्रभावशाली मानिने रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी तथा सदूरपश्चिममा राम्रो पकड भएका लेखराज भट्टजस्ता नेताहरु एमालेमा रहेका छन् । त्यसैले स्वाभाविक रुपमा यिनीहरुको साथमा माओवादीमा रहेका धेरै नेता र कार्यकर्ताहरु एमालेमा पुगे । चुनावको घोषणा भएको केही समययतादेखि माओेवादीका केही पकड भएका अरु नेताहरु एमालेमा प्रवेश गरिरहेका पनि छन् । यसले एमालेबाट माधवकुमार नेपालहरु बाहिर गएकोले एमालेलाई जनप्रिय मतमा घाटा भएको छ जस्तो देखिँदैन ।

बरु माओवादीका केन्द्रीय नेतृत्वमा कार्यकारी पदमा रहेकाहरु एमाले प्रवेश गरेकोले र माधवकुमारहरुको दल पनि अलग नै भएकोले विगतका चुनावहरुमा लगातार मत घटाएको माओवादीको जनप्रिय मत करिब १० प्रतिशतमा सीमित हुनसक्छ । स्थानीय निर्वाचनमा गठबन्धनका बाबजुद एमालेले एक्लै गठबन्धनका उम्मेदवारहरुको हाराहारीमा जनप्रिय मत ल्याएकोले एमालेको जनप्रिय मत पहिलाभन्दा बढेको देखिन्छ । त्यो करिब ४० प्रतिशतको हाराहारीमा हुने अनुमान गर्ने आधार हो तापनि एमालेका नेताहरुले जनप्रिय मत ५० प्रतिशतको हाराहारीमा आउँछ भनिरहेका छन् ।

कम्युनिस्टहरुले कम्युनिस्टबाहेक अन्य दलका उम्मेदवारहरुलाई मत मागेको भरमा दिँदैनन् र कम्युनिस्टहरुको मत ध्रुवीकरण पनि हुन्छ भनिने गरिन्छ । मत ध्रुवीकरण भयो भने ठूलो कम्युनिस्ट पार्टीमा त्यो मत जाने हुनाले एमालेले त्यो फाइदा लिने सम्भावना देखिएमा करिब ४ प्रतिशत मत थपेर करिब ४४ प्रतिशत मत एमालेले एक्लै पाउन सक्छ कि भन्ने पनि आभास हुन्छ ।

त्यस्तै राप्रपाको जाधार राम्रोसँग बढेको छ । राप्रपाले ६ प्रतिशतभन्दा ज्यादा जनप्रिय मत ल्याउने सम्भावना छ भने उपेन्द्र यादवको राजपाले पनि करिब ४ प्रतिशत जनप्रिय मत ल्याउन सक्ने देखिएको छ । यसरी हेर्दा एमाले र यसका नजिक रहेका राप्रपा र राजपाको जनप्रिय मतको आँकडा करिब ५४ प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ । कांग्रेसको जनप्रिय मत कम हुने सम्भावना ज्यादा छ । नेपाली कांग्रेस बीपी मात्र होइन राप्रपामा समेत कांग्रेसका हिन्दू धर्म र राजा पक्षधर मत जाने सम्भावना बढेको छ ।

कांग्रेस छोडेका धेरै बागी उम्मोदवारहरुले गर्दा मात्र होइन, आमचुनावमा नै बहुमतको दाबा गर्ने गरी उम्मेदवार नै नउठाएकोले २०५१ सालमा ३३ प्रतिशत जनप्रिय मत ल्याउँदाभन्दा अहिलेको अवस्था कमजोर देखिएको छ । कांग्रेसले बहुमत ल्याएर स्थिर सरकार दिने र आफ्नो विचार लागू गर्ने आधार नै गुमाएकोले कांग्रेसजनहरु निरास छन्, उत्साह छैन र विद्रोह पनि धेरै ठाउँमा भएको छ । यसकारण यसपटक कांग्रेसको जनप्रिय मत ३० प्रतिशतभन्दा ज्यादा हुने देखिँदैन ।

माओवादीको जनप्रिय मतसमेत घटेको छ र त्यसको पहिलो कारणमा कम्युनिस्ट मतको ध्रुवीकरण हुने परम्परा र माओवादीले आफ्ना ठूला नेताहरु एमालेमा छोड्न परेकोले नै हो । यस अवस्थामा माओवादीको जनप्रिय मत १० प्रतिशतमा नै सीमित हुने मात्र होइन, त्योभन्दा कम पनि हुन सक्छ भन्नेहरु पनि देखिन्छन् । लोसपा र माधवकुमार नेपालका दलहरुले केही उम्मेदवार मात्र जिताउने हो र यी दलहरु राष्ट्रिय मान्यताप्राप्त हुन सक्दैनन् । चित्रबहादुर केसी पनि हरेकपटक हैसियत कम हुँदै गएका दलका नेता हुन् । यसरी नेपाली कांग्रेसको र माओवादीको जम्मा जनप्रिय मत ४० प्रतिशत देखिन्छ भने साना दलहरुको सहयोगको मत ज्यादा भएमा ५ प्रतिशत हुनसक्छ ।

यसरी गठबन्धनको जनप्रिय मत ४५ प्रतिशत कट्दैन । यद्यपि कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, मोहन बस्नेत, रामहरि खतिवडा, धनराज गुरुङ, चन्द्र भण्डारी, प्रदीप पौडेलजस्ता नेताहरुको क्रेज पहिलाको भन्दा पनि राम्रो देखिएको छ तर यो उनीहरुको आफ्नो हैसियतको कारणले मात्र हो भन्ने देखिएको छ ।

एमालेसँग पनि राप्रपाको पूर्ण गठबन्धन नभएको र राजपाको उम्मेदवारी सबैजसो एमालेसँग मिलेको देखिएको छ । यसरी एमाले र उसका सहयोगीहरु सम्भावित जनप्रिय मत ५४ प्रतिशत देखिए पनि ५० प्रतिशतको वरपर नै स्ट्रङ मतदाताहरु यस पक्षमा रहेको मान्न सकिने अवस्था छ । अन्य साना दलहरु र स्वतन्त्रहरुको जनप्रिय मत बढीमा ७ प्रतिशतसम्म हुने देखिन्छ । कांग्रेससँगको गठबन्धनमा रहेका माओवादी र माधव समूहको मत अन्यत्र जानेछैन । उनीहरुको जनप्रिय मत उनीहरुका उम्मेदवार नभएको स्थानमा पनि गठबन्धनले पाउने सम्भावना नै छ, किनभने अलग दल भएको र आपसी दुस्मनीको अवस्थाले गर्दा उनीहरुको मत एमालेमा जाने सम्भावना अत्यन्त न्यून छ । यो कांग्रेसको लागि सकारात्मक पक्ष हो ।

यी अवस्थाको बाबजुद अहिले भनिएको नै छ कि एमालेलाई सत्ताबाट बाहिर राख्नको लागि गठबन्धन गरिएको हो । यो स्वतः एमाले अरु दलहरुभन्दा बलियो छ भन्ने प्रमाण हो । कांग्रेस र माओवादी मात्र भएर पनि एमालेलाई जित्न नसकिने रहेछ । माधव समूह मात्र होइन, लोसपा पनि चाहिने देखियो । यी परिवेशले नै एमाले देशको अहिलेको सबैभन्दा ज्यादा जनमत भएको दल हो भन्ने प्रमाणित भएको छ । सत्तामा रहनेहरुको सरकारी संयन्त्रले दिने दलीय अवस्थाको सूक्ष्म जानकारीलाई धेरै आधिकारिक मानिने गर्छ । सरकारी संयन्त्रको जानकारीबाट नै एमालेलाई हराउनको लागि गठबन्धन अनिवार्य छ भन्ने जानकारी दिइनु भनेको नेपालको सबैभन्दा ठूलो एकल राजनीतिक शक्ति एमाले नै हो भन्ने प्रमाणित हुनु हो ।

कम्युनिस्ट मत कन्भेन्स गरेर अरुले पाउने हुँदै होइन, तर अब आएर केही त्यो भनाइ शिथिल भएको हो कि जस्तो देखिए पनि अरुभन्दा कम्युनिस्ट मत पूर्वनिर्धारित ज्यादा हुने गर्छ । तर उनीहरुले कम्युनिस्टलाई मत दिने कुरामा भने बलियो कम्युनिस्ट पार्टीलाई दिन्छन् । त्यसको स्वाभाविक लाभ पाउने दल एमाले नै हुन जान्छ । माओवादीको मुख्य चाहना आफूले राम्रो सिट ल्याउनेभन्दा पनि कांंग्रेस र एमालेले बहुमत नल्याएमा आफूले खेल्न पाइने भन्ने नै हो । त्यसैले अहिले केही माओवादीसँग ज्यादा असन्तुष्ट तप्काहरु एमालेलाई बहुमत दिलाउनुपर्ने र माओवादीको राजनीतिक हैसियत यसै चुनावबाट नै अन्त्य गर्नुपर्नेसमेत बताउँछन् ।

माओवादी कांग्रेसको बहुमत नआउने अवस्थाको लागि त सफल भयो तर यो एमालेले बहुमत नल्याओस् भन्ने चाहना पनि राख्छ । पाँच दलीय गठबन्धनको माध्यमबाट पनि एमालेलाई बहुमतबाट रोक्न नसकिने सम्भावनाको सम्बन्धमा शायद माओवादी प्रस्ट छैन । यद्यपि एमालेको बहुमत आउनबाट रोक्ने अन्य बलिया हतियार माओवादीसँग छैनन् । जे थियो त्यो माओवादीले गुमाएको छ ।नेपाली कम्युनिस्ट मतदाताहरुको कम्युनिस्ट पार्टीको बहुमतको सरकार देख्ने चाहना एमालेबाट मात्र पूरा हुन सक्छ र माओवादी बलियो हुनु भनेको कांग्रेस अझ बलियो हुनु हो भन्ने धेरै कम्युनिस्ट मतदाताहरुको बुझाइ रहेकै छ ।

विगतका मतका प्रवृत्तिहरु र गठबन्धनको बाध्यताले एमाले बलियो भएकोमा कुनै पनि द्विविधा एमाले स्वयं र गठबन्धनमा छैन । वास्तवमा एमाले जति आफू बलियो भएकोमा प्रस्ट छ, त्योभन्दा ज्यादा एमाले बलियो भएकोमा गठबन्धन आतंकित छ भन्ने अहिलेका व्यवहारहरुका सूक्ष्म अध्ययनहरुले देखाउँछन् । सरकारमा नभएकाले यसको मत पहिलाभन्दा अहिले अझै बढेको हुनुपर्छ । अर्कोतर्फ कम्युनिस्टहरु मतमा सबैभन्दा छिटो ध्रुवीकरण हुने गरेको पहिलाको परिणाम छ ।

नेपाली कम्युनिस्टहरुको बहुमतको सरकार र जनतामा डेलिभरी भन्ने आशा र चाहनाको गणितीय सफलता चकनाचूर भयो तर मरेको छैन भन्ने तर्कहरुले एमालेलाई मत दिन प्रेरित गर्छन् । अर्कोतर्फ गठबन्धनउपर विदेशीको लागि कम्फर्टेबल बनेको भन्ने आरोप छ र एमसीसीको विपक्षमा रहेको मत पनि थप्दा र घटाउँदा थपिने एमाले र मत घट्ने गठबन्धनको नै हो । जे होस्, चुनावमा सम्भव भएसम्म कुनै पनि दलको बहुमत होस् भन्ने नै जनताको र स्थिरता चाहनेहरुको भावना हो ।

बहुमत उम्मेदवार नै नउठाउने कांग्रेसको बहुमतको आशा नै नरहेको जनताले बुझेपछि आधा तथा एक चौथाइभन्दा कम उम्मेदवार उठाउने माओवादी र माधवकुमार नेपालको कुनै आशा रहने कुरा भएन । कमसे कम बहुमत पुग्ने उम्मेदवार उठाएर संसद्मा बहुमत ल्याउँछौं, किनकि धर्म र राजाका पक्षधर र संघीयताबाट वाक्क भएकाहरुको मत दिने थलो हामी नै हौं भन्ने अधिकार राप्रपालाई रहन गयो । राप्रपाले अनपेक्षित तरिकाले धेरै मत र सिट बढाएमा समेत अन्यथा मान्ने अवस्था छैन । यी सबै अवस्थामा सत्ता गठबन्धन नै घाटाको सौदा गरिरहेको त छैन भन्ने परिदृश्यले देखाइरहेका छन् । त्यो हेर्ने आधार भनेको कम्युनिस्ट मतको ध्रुवीकरण, गठबन्धनको बाध्यता, विदेशी चलखेलको आरोप तथा सरकारमा रहनेहरुप्रति जनताको रहने विमति नै हुन् ।

अचम्म लाग्ने एउटा पक्षलाई हामीहरुले बुझ्दा केही फाइदा होला ? नेपालमा नेपाली कांग्रेस, एमाले, माओवादी तथा सबै मधेसवादी दलहरुलाई एकतर्फीरुपमा भारतीय दलाल, चिनिया दलाल तथा कहिले कुनै देशको दलाल त कहिले त्यसैलाई अर्को देशको दलाल भनेर आरोप लाग्ने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने अहिलेसम्म कुनै देशको दलालको रुपमा कसैले पनि प्रस्तुत गरेका छैनन् । शायद यो पनि अनुसन्धान, रहस्य र विचारणीय विषय पो हो कि ? अर्कोतर्पm कुनै पनि राजनीतिक दलले अर्को दललाई जे–जो आरोप लगाए पनि कांग्रेस, एमाले र माओवादी मिलेर पनि सरकार चलाए ।

राप्रपाका दुई हस्तीहरुलाई कांग्रेस, कम्युनिस्टहरुले पालैसँग प्रधानमन्त्री बनाएर उनीहरुको नेतृत्वमा सरकार चलाए । यसरी हेर्दा सरकारमा जानको लागि सहयोगी भए तिनीहरु एक–आपसमा राष्ट्रवादीको पगरी गुथाउँदा रहेछन् । आफ्नो विपक्षमा रहँदा त्यसैलाई विदेशीको दलाल भन्दै गर्छन् । सबैजसोले एक–अर्कालाई आरोप पनि लगाएका छन् र मिल्दा ती आरोपहरुलाई बिर्सनुपरेको छ । के राष्ट्रियताको कुरा दलीय गठबन्धनको आधारमा बदलिने रंग हो ? त्यसको उत्तर पनि हामीलाई चाहिने हो कि ? जे होस्, हामीले सोच्नै पर्छ कि जुनसुकै दलका भए पनि असल, क्षमतावान् र राम्रा भनेर कहलिएका नेताहरुलाई चुनावमा जिताउने कि !

प्रतिक्रिया दिनुहोस्