काठ तस्करीमा वन कर्मचारीनै संलग्न 

0
Shares

रौतहट ।

रौतहटमा काठ तस्करी गराउन बन कर्मचारी नै संलग्न हुने गरेको खुलेको छ । संलग्न बन कर्मचारी उपर छानबिन भएपनि कारबाही हुन नसक्दा तस्करीले प्रश्रय पाएको छ । पाँच महिनाको अन्तरालमा डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर, रौतहटका दुई अधिकृतले अनधिकृत लाभ लिदै तस्करी कार्यमा संलग्न हुँदै आएको खुलेको छ ।

गएको कार्तिक ७ गते चन्द्रपुर–२ जुडिबेलाबाट पुरानो घरको काठ अन्यन्त्र लैजान सब डिभिजन बन कार्यालय जुडिबेलाका अधिकृत सुरेस महतोले ९० हजार लिएर मौखिक अनुमति दिए पनि सो काठ लोड ना २ ख ८७१७ नम्बरको ट्रक नियन्त्रणमा लिन पुगेका बन अधिकृत बैजनाथ मण्डलको टोलीले ट्रकमा रहेका कारोबारीलाई छाडेर ट्रक लाई बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको देखाएका छन् । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले उनैलाई अनुसन्धान अधिकृत तोकेको छ । रकम लिएर पनि पुरानो घरको काठ बन कार्यालयले नियन्त्रणमा लिएको दुखेसो उनीहरुको रहेको छ ।

यसअघि गएको असारको पहिलो साता उनै अधिकृत मण्डलले.सब डिभिजन बन कार्यालय धन्सार क्षेत्रमा घाटगध्दि गरेको १८१ क्युफिट सालको २४ थान गोलिया काठ गायब गराएको रहस्य खुले पनि उनीमाथि कारबाही हुन नसक्दा अवैध कार्यमा उनले प्रश्रय पाएको बन कर्मचारी स्रोतले बतायो ।

सब डिभिजन बन कार्यालय जुडिबेलाका अधिकृत सुरेस महतोले आफूले रकम नलिएको बताए । तर उनकै कार्यालयको दुई सय मिटर उत्तरमा पुरानो घरको काठ लोड गरेको ट्रक डिभिजन बन कार्यालय चन्द्रनिगाहपरको टोलीले अवैध रकमको कुरो नमिलेपछि नियन्त्रणमा लिएको स्रोतले बतायो । धन्सार क्षेत्रबाट गायब बनाइएको गोलिया काठ नभेटिएपछि सब डिभिजन बन कार्यालय धन्सारका फरेष्टर सुरेन्द्र कोईरीले डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको प्रतिवेदनमा सहायक बन अधिकृत बैजनाथ मण्डल, फरेष्टर मन्जुर मिया, बन रक्षक मोहम्मद मुस्तुफाले जङ्गलसैया साझेदारी बन उपभोक्ता समितिका पदाधिकारीसँगको मिलेमतोमा उक्त गोलिया काठ उपभोक्तालाई बिक्री गरेको प्रतिवेदन डिभिजन कार्यालयमा बुझाएका थिए ।

उक्त गायब भएको गोलिया काठको विषयमा सहायक बन अधिकृत रामप्रसाद साहको नेतृत्वमा छानबिन समिति गठन भई प्रतिवेदन पेश भैसक्दा समेत उनीमाथि कारबाही हुन सकेको छैन । उक्त गोलिया काठ गायब बनाउने समयमा सहायक बन अधिकृत मण्डल सब डिभिजन बन कार्यालय धन्सार र सब डिभिजन बन कार्यालय जङ्गलसैया दुवैको प्रमुख थिए ।