डाइबेटिक रेटिनोपेथी र अन्धोपनबाट बच्ने उपाय

सन्दर्भ: विश्व मधुमेह दिवस



मधुमेह रोग खास गरी अल्पविकसित मुलुकहरुमा एक प्रमुख स्वास्थ्य समस्याको रुपमा बढ्दै गइरहेको छ । हाल संसारमा ५३७ मिलियन मानिस मधुमेहबाट प्रभावित छन् । तीमध्ये झन्डै ३ चौथाइ मधुमेहका बिरामी मध्यम तथा अल्पविकसित देशहरुमा हुने गरेको पाइएको छ । सन् २०४० सम्म संसारमा मधुमेहको संख्या करिब ६४३ मिलियन हुने अनुमान छ । संसारमा करिब दुईजना मधुमेहका बिरामीमध्ये एकजनालाई आफू मधुमेहबाट प्रभावित भएको जानकारीसमेत नभएको पाइएको छ ।

नेपालमा हाल करिब १० लाख मधुमेहका बिरामीहरु रहेका छन् । खास गरी शहरी क्षेत्रमा मधुमेह भयावहरुपमा बढ्दै गइरहेको छ । मधुमेहले शरीरका महत्वपूर्ण अंगहरु जस्तै– मुटु, मृगौला, नसा, खुट्टा, आँखाजस्ता अत्यन्त संवेदनशील अंगहरुमा असर पु¥याउँछ ।

मधुमेहले असर पु¥याउने अंगहरुमध्ये आँखा एक प्रमुख अंग हो । मधुमेहका बिरामीमा आँखाको असर अन्य मानिसको तुलनामा दुई गुणा बढी हुन्छ भने अन्धोपनको समस्या पच्चीसौं गुणा बढी हुने गर्दछ । त्यसैले मधुमेहीहरु आँखाका लागि बढी नै सर्तक हुनुपर्छ ।

मधुमेहीको आँखामा हुने प्रमुख असर डाइबेटिक रेटिनोपेथी:

डाइबेटिक रेटिनोपेथी मधुमेहका बिरामीमा मात्र हुने प्रमुख समस्या हो । मधुमेहले दृष्टिपर्दाका रक्तनसाहरुमा विशेष असर गरी रेटिनामा रक्तश्राव हुने, सुन्निने, रक्तसञ्चालनमा कमी हुन गई नयाँ रक्तनसाको विकास हुने, आँखाभित्र अत्यधिक रक्तश्राव हुने समस्या निम्तिन सक्छ । अन्त्यमा पर्दा खुम्चिने हुन सक्छ । यी समस्याहरुलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ ।

डाइबेटिक रेटिनोपेथी हुँदा शुरुको अवस्थामा बिरामीलाई कुनै पनि लक्षणहरु देखा नपर्ने हुन्छ । रोग बढ्दै गएपश्चात् आँखा धमिलो हुने हुँदा यो लक्षण देखिँदासम्म रेटिनाको अवस्थामा अपूरणीय क्षति भइसकेको हुन्छ । त्यसैले मधुमेहका बिरामीले समयमै आँखा परीक्षण गराउन अत्यन्त जरुरी हुन्छ ।डाइबेटिक रेटिनोपेथीको समस्या मधुमेहका बिरामीमध्ये करिब एक तिहाइलाई देखिन्छ भने तीमध्ये एक तिहाइलाई तुरुन्तै आँखाको थप उपचार चाहिन्छ ।

डाइबेटिक रेटिनोपेथीका प्रमुख जोखिममा मधुमेहको समय अवधि बढ्दै जानु, रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनु, साथमा उच्च रक्तचाप, रगतमा चिल्लोको समस्या, मृगौलाको समस्या, रक्तअल्पता, चुरोटको सेवन र गर्भवस्था हुन् ।
डाइबेटिक रेटिनोपेथीबाट दृष्टि जोगाउने उपायहरु:
१. मधुमेह रोगको समयमै पहिचान हुनु ।
२. रगतमा चिनीको मात्रालाई पूर्णरुपमा नियन्त्रणमा राख्नु ।
३. उच्च रक्तचाप र रगतमा चिल्लोको अत्यधिक मात्रालाई नियन्त्रणमा राख्नु ।
४. धूमपानबाट सधैँ टाढा रहनु ।
५. मधुमेह रोग भएको थाहा पाउनासाथ र तत्पश्चात् कम्तीमा पनि वर्षमा एकपटक अनि रेटिनामा असर भएमा आँखा रोग विशेषज्ञको सल्लाह अनुसार थप उपचार र आँखाको नियमित परीक्षणको लागि जानुपर्दछ ।

आँखामा गरिने प्रमुख उपचारमा लेजर पद्धतिबाट उपचार, आँखाभित्र विशेष खाले सुईद्वारा गरिने उपचार र शल्यक्रिया हुन् । समयमै सजग रहेमा मधुमेहबाट हुने अन्धोपनबाट पूर्णरुपमा बच्न सकिन्छ ।
सरकारी तथा गैरसरकारी संस्थाहरुको भूमिका ः
१. मधुमेहका बिरामी, जनमानस र स्वास्थ्य कार्यकर्तालाई मधुमेहले आँखामा गर्ने असरहरुको बारे विस्तृत जानकारी गराउने ।
२. मधुमेहले आँखामा असर गरेको छ कि छैन भन्ने परीक्षणको सर्वसुलभ तरिकाले स्थानीय स्तरमा पहँुच पु¥याउने ।
३. डाइबेटिक रेटिनोपेथीको उपचार सेवाको पहुँच बढाउनुको साथै जनसाधारणहरुको लागि सर्वसुलभ बनाउने ।
४. डाइबेटिक रेटिनोपेथीको पहिचानलाई मधुमेह सेवामा समाहित गर्ने कार्यलाई सम्बन्धित सबै क्षेत्रबाट कार्यान्वयन गर्ने ।
सम्पूर्ण क्षेत्रबाट डाइबेटिक रेटिनोपेथीको शिक्षाको पहुँचमा, पहिचान र उपचारमा प्राथमिकता दिन सके हाम्रो देशमा पनि मधुमेहजन्य अन्धोपनको न्यूनीकरणमा ठूलो उपलब्धि हासिल गर्न सकिनेमा दुईमत छैन । यसो भएमा मात्र विश्व मधुमेह दिवसको ‘मधुमेह शिक्षाको पहुँचता बढाऔं’ भन्ने नाराले सार्थकता पाउनेछ ।
(लेखक डा. थापा नेत्र तथा पर्दा रोग विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्