ओलीलाई गठबन्धनको त्रास

0
Shares

–राजतन्त्रका पक्षधरसँग चुनावी तालमेल
–माधव नेपालको पार्टी खरानीको डल्लो

काठमाडौं ।

निर्वाचन नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी नेताहरूप्रति आरोपमा ओर्लनुभएको छ । केही दिनयताका चुनावी भाषणमा व्यस्त ओलीले सत्तारुढ गठबन्धनका पक्षमा जनमत बढेको संकेत पाएपछि नेताहरूलाई तल्लो स्तरको भाषा प्रयोग गरेर आरोप लगाउने गर्नुभएको हो ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जनयुद्धका नाममा कपालमा जेल लगाउँदै कुखुराको साँप्रासँगै झोल खाएर नेता भएको टिप्पणी गर्नुभयो । जहिले पनि मान्छे उचालेर शहिद बनाउने अनि नहेर्ने प्रवृत्ति माओवादीमा देखिएको उहाँले आरोप लगाउनुभयो । सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाउँदै उहाँले ‘हाँडी घोप्टेजस्ता’ ले देश चलाएको बताउनुभयो । प्रचण्डलाई मुसासँग तुलना गर्दै उहाँले माओवादीले दक्षिण शक्तिसँग मिलेर सरकार बनाउन कोसिस गरेको समेत आरोप लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आलोचना गर्नुभएको छ । देउवाले २०६१ माघ १९ मा राजनलाई सत्ता सुम्पिएको स्मरण गराउँदै ओलीले भन्नुभयो– ‘शेरबहादुर देउवाको त के कुरा, माघ १९ सबैलाई सम्झना होला । अहिले पनि उहाँले लोकतन्त्र कता लगेर बुझाउनुहुन्छ ।’ २०५२ मै टाउकाको मूल्य तोक्ने र तोकिनेहरू एकठाउँमा छन् । उनीहरूको गठबन्धनले के दिन्छ ?’

चुनावी अभियानका क्रममा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल यही चुनावबाट समाप्त हुने बताउनुभयो । शनिबार कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयो– ‘एमाले सिध्याउँछु भन्नेहरू आफैं सिद्धिँदै गएका छन् । माधव नेपाल, प्रचण्डलगायतका मान्छेहरू क्रमशः सिद्धिँदै गएका छन् । माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन् ।

माधव नेपालको पार्टी खरानीको डल्लो हो ।’ एमाले सिध्याउँछु भन्नेहरू आफैं सिद्धिँदै भन्दै उहाँले माधव नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्यासफुस हुने टिप्पणी गर्नुभयो । पछिल्लो एक हप्तामा देशका दर्जन बढी क्षेत्रका चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभएको ओलीले आफ्ना योजना र नीति कार्यक्रमभन्दा पनि विपक्षी गठबन्धनका नेताहरूलाई आलोचना गर्नमै समय खर्च गर्नुभएको छ ।

डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलील नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई डोटीबाट टिकट नपाएकोप्रति व्यंग्य गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘जो जिन्दगीभरि नेपाली कांग्रेसको राजनीतिमा आए तिनलाई तल कैलालीतिर झारिएको छ । कैलालीमा गएर के गर्ने ? थारु गाउँमा, थारू भाषा आउँछ ? त्यो जित्न पठाएको हो र ? गलहत्याएर ओरालोतिर बगाइदिए । नेपाली कांग्रेसलाई बगाएर आफू उभिन खोज्नेहरूलाई भोट दिनुहुन्छ ?’

आइतबार कालिकोटमा पुगेर उहाँले माओवादी पार्टी सिद्धिन लागेका बेला एमालेले औंलो दिएर प्रत्यक्षमा ३६ सिट जितेकोे जिकिर गर्नुभयो । ओलीले भन्नुभयो– ‘सिद्धिन लागेका प्रचण्डलाई पार्टीभित्र ल्याएर आफू नै अल्पमतमा पर्ने गरी विश्वास गरेको तर बहुमत पाएपछि आफूमाथि नै खनिन थाले ।’ सत्ता गठबन्धनप्रति औंला ठड्याउँदै उहाँले भागेर गएको राजतन्त्र फेरि ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘प्रतिक्रियावादी शक्तिहरूसँग साँठगाँठलाई तोड्नुपर्छ ।’ गठबन्धनमा आबद्ध दलहरूलाई यसो भन्दै गर्दा ओलीलै नै राजतन्त्रका पक्षधरहरूसँग चुनावी तालमेल गरेर निर्वाचनमा जानुभएको छ ।गठबन्धनका नेताहरूमाथि विरोध गर्दा नै आफ्नो पक्षमा जनमत बढ्छ भन्ने राजनीतिक संस्कारलाई ओलीले स्थापित गराउन खोजेको नयाँ पुस्ताका राजनीतिकर्मी बताउँछन् । प्रधानमन्त्री भइसकेका नेताहरूले नै सामान्य नागरिकको भन्दा तल्लोस्तरमा झरेर अभिव्यक्ति दिनु बहुदलीय लोकतन्त्र र राजनीतिक पद्धतिप्रति नै हानिकारक हुने राजनीतिक विश्लेषक शंकर तिवारी बताउनुहुन्छ ।

जनताको अभिमतबाट बनाएको संविधान नै मास्ने गरी संसद् विघटन गर्ने ओली नै अहिले राजावादीहरूसँग साँठगाँठ गरेर चुनाव लड्न गएकाले उहाँले अरूलाई तल्लोस्तरमा झरेर गाली गर्नु राजनीतिक संस्कारभन्दा बाहिर रहेको तिवारीले बताउनुयो ।सार्वभौम संसद् र संविधानको रक्षाका लागि एक ठाउँमा भएका राजनीतिक दलहरूलाई ओलीले तुच्छ भाषाको प्रयोग गर्दै आरोपमा ओर्लनु नै हारको मानसिकता भएको उहाँको बुझाइ छ । तिवारीले भन्नुभयो– ‘ओलीको कदम प्रतिगामी नै थियो र अहिलेको चुनावी गठबन्धन पनि राजावादीहरूसँग भएकाले एमालेसहितको गठबन्धन राजतन्त्र फर्काउने प्रगतिगामी अभियान सामेल छ । सत्ता गठबन्धनप्रति जनमत बढेको देखेर अत्तालिएर ओली विपक्षी नेताहरूप्रति आरोपमा ओर्लनुभएको हो ।’