जनतालाई मन्त्री होइन, विकास चाहिएको छ : केपी ओली

0
Shares

कालिकोट । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेविरुद्ध धेरै भ्रम सिर्जना गरेर पटकपटक एमाले र सिङ्गो कम्युनिस्ट आन्दोलनविरुद्ध षड्यन्त्र गरेको बताउनुभएको छ । दुईतिहाइ नजिकको कम्युनिस्ट सरकारलाई प्रचण्डले ढाल्न प्रतिक्रान्ति र दक्षिणपन्थी शक्तिसँग मिलेर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउनुभएको छ ।

कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड सकिएको अववस्थामा आफूले औंला दिएर बचाएपछि अन्तमा आफूमाथि नै आक्रमण गर्न खोजेको बताउनुभयो । साथै, उहाँले मुसोलाई सिंह बनाएपछि आफूलाई खाने प्रयास गरेपछि फेरि मुसाकै अवस्थामा झारेको बताउनुभयो । उहाँले नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार ल्याउन, देशको दिगो विकास गर्न र युवाको रोजगारी बढाउन एमालेलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको विकास निर्माण, नेपालीको आयमा वृद्धि र चीनसँगको पारवहन सम्झौताले नेपाललाई अग्रगतिमा लगेको बताउनुभयो । देशको पक्षमा काम गर्न थालेपछि विरोधी शक्तिले एमालेविरुद्ध षड्यन्त्र गरी सरकार ढालेको उहाँले आरोप लगाउनुभयो ।मङ्सिर ४ को निर्वाचनले देश बनाउने शक्तिलाई जिताउने अवसर भएको चर्चा गर्दै अध्यक्ष ओलीले थप्नुभयो– ‘अदालतको बलबाट बनेको सरकारले जनताको पक्षमा काम गर्न सकेन, अब यसलाई निर्वाचनबाटै बिदा गर्नुपर्छ ।’

सत्ता गठबन्धनको संयुक्त चुनावी घोषणापत्र नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले निर्वाचन जितेमा कुन घोषणापत्र कार्यान्वयन हुने प्रस्ट नरहेको बताउनुभयो । देश बनाउने शक्ति एमाले मात्र भएकाले मतदान गर्न उहाँले आह्वान गर्नुभयो । देशसँगै कालीकोटमा एमालेले बहुमतसाथ जित्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।हामीसँग जनता साथमा छन् । समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सार्थक बनाउन जनताको साथ अपरिहार्य रहेको उहाँले चर्चा गर्नुभयो । देशको अवस्था बिग्रन नदिन एमाले नेतृत्वको सरकार अनिवार्य रहेको उहाँको भनाइ छ ।

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताउनुभयो । एमाले नेतृत्वमा सरकार बने मात्र दुर्गममा विकास हुने चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘जनतालाई मन्त्री होइन, विकास चाहिएको छ । खानेपानी, सडक, अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ ।’दुर्गम क्षेत्रको विकास गर्न दुर्गमकै प्रतिनिधित्व अनिवार्य भएको चर्चा गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी आगामी सरकारको नेतृत्व गर्ने अवसर पाएमा दुर्गमको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।चुनावी सभामा प्रदेश तथा जिल्लाका नेता, उम्मेदवारहरूले पनि सम्बोधन गर्नुभयो । चुनावी सभामा हजारौं नागरिकको सहभागिता थियो ।

माओवादी नेतामाथि एमालेको सामूहिक आक्रमण

दार्चुलाको नौगाडमा नेकपा माओवादी केन्द्रका दार्चुला–काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्ष जयभान सिंह धामीमाथि एमाले कार्यकर्ताले सामूहिक आक्रमण गरेका छन् । नेकपा एमालेले नौगाड गाउँपालिकाको जामिरमा आइतबार चुनावीसभाको आयोजना गरेको थियो । सोही चुनावी सभामा उपस्थित एमाले कार्यकर्ताले धामीमाथि आक्रमण गरेको बताइएको छ ।

धामीमाथि सामूहिक आक्रमण भएको घटना सामाजिक सञ्जालमा भिडिओमा समेत देखिएको छ । सामूहिक आक्रमणमा परी धामी गम्भीर घाइते भएका छन् । टाउकोमा रड प्रहार गरी गम्भीर घाइते भएका उनको जिल्लामा उपचार हुन नसकेपछि धनगढी रेफर गरेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै, झडपमा परी एमालेका कार्यकर्ता निरे ठगुन्ना पनि घाइते भएका छन् । कार्तिक २४ गते पनि अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झपड हुँदा चार जना घाइते भएका थिए । नौगाडको घटनालाई लिएर प्रदेशसभा क्षेत्रनम्बर २ का उम्मेदवार मानबहादुर धामीले एमालेले हारको मानसिकताका कारण गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरिरहेको बताउनुभएको छ ।