करिष्माले भनिन् : ओलीले विकासको अनुभूति गराएकोले यसपटकको भोट एमालेलाई

0
Shares

काठमाडौं ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै चर्चित अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन् । करिष्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलको चुनावी अभियानमा साथ दिएका हुन् । उनीहरु आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए ।

आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको र जनताको माझमा भिजेको बताइन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको विकल्प नभएको उनले बताइन् ।

देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्र पार्टी एमाले रहेको भन्दै अभिनेत्री मानन्धरले एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव रहेको प्रतिक्रिया दिइन ।
‘नेपाली जनताले विकास के हो भन्ने कुरा राम्रो अनुभुति गर्न नपाएको बेलामा केपी शर्मा ओलीको नेतृत्वमा एमालेले जनतामा विकासको अनुभुति गराउन सफल भयो । त्यसैले यो पटकको भोट एमालेलाई’– अभिनेत्री मानन्धरले भनिन् ।

घरदैलोका क्रममा वडा नम्बर ३ का जनताले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भव्य स्वागत गर्दै जितको शुभकामना दिएका थिए । जनताको सद्भाव र विश्वासप्रति आफू नतमस्तक रहेको भन्दै पोखरेलले सदैव जनताको सुख दुख र विकासमा आफू सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा पोखरेल तथा प्रदेशसभा ५ (१) मा नारायण सिलवाल र ५ (२) मा दीपक निरौला उम्मेदवार छन् ।