निर्वाचन नजिकिँदै, भीडको तमासा उक्लिँदै

0
Shares

नेपालमा अनेकौं प्रजातिको भीड देख्ने अवसर आउँछ । यहाँ जात्रामा भीड लाग्छ । यात्रामा भीड लाग्छ । हुनेखाने खानदानीको निधनमा मलामीको भीड लाग्छ ।

अलि–अलि स्तरीय भीड । अलि–अलि अनावश्यक भीड । अनि कतै–कतै हास्यव्यंग्यको भीड । अब त निर्वाचन नजिकिँदै छ, भीडको तमासा उक्लिँदै छ । यहाँ देशको लागि जित्नेहरूको भीड कमै होला । जितेर देश बनाउँछु भन्नेहरूको भीड भने दिन–प्रतिदिन बढ्दो छ यति बेला । आश्वासनको खेती त पुरानै भइसक्यो, रोजगारी दिने र उद्योगधन्दा खोल्ने कुरा उखानै भइसक्यो ।

झ्यालबाट देखिने बालाजु औद्योगिक क्षेत्र सुस्ताएको दुई दशक काटिसक्यो, बाँसबारी छालाजुत्ता कारखाना पनि शायद बेइजिङ पुग्यो कि हङकङ पुग्यो, थाहा छैन । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौडामा रहेका औद्योगिक क्षेत्रभित्रका स–साना उद्योग चले पनि कपडा उद्योग बन्द भएको छ । यस्तै जनकपुर चुरोट कारखानाको हालत, वीरगञ्ज चिनी कारखाना, बुटवल धागो कारखाना, विराटनगरको जुटमिल कारखाना, पाटन औद्योगिक क्षेत्रहरूमा सीमित कार्य भैरहे तापनि यथेष्ट काम भएको देखिँदैन ।

नेपालमा एउटा उद्योगचाहिँ दमदार चलेको पाइन्छ । जति बेला आफ्नो खेमाका नेताहरू आएर भाषण गर्ने कार्यक्रमको तय हुन्छ, तब कार्यकर्ता सक्रिय हुन्छन् अनि दुलो–दुलोबाट मान्छे बटुलेर शक्ति प्रदर्शनको उद्योग चालू हुन्छ । नेताहरू बडो गर्वका साथ भन्ने गर्छन्– ‘हामीसँग आम नागरिकको साथ छ, दुई–चारजना नेताहरू पाखा लागेर केही हुन्न ।’ आखिर नागरिक त्यही हो, जनता उही हुन् ।

गाउँघरमा आम्दानी हुने कामै नभएपछि एक–दुई घण्टा भाषण सुनेरै भए पनि समय बिताउनै प¥यो, फेरि त्यसमा पनि एकथरीको भाषणले मात्र कहाँ चित्त बुझ्छ र ! सबैको कुरा सुन्ने बानी परिसकेको छ जनतालाई । कुन नेताले जनताको मन छुने गरी बोल्दोरहेछ भन्ने मनसायले पनि भीडको थुप्रो लाग्न सक्छ । यहाँ नेताहरूले सबै कुराको हेक्का राख्न जान्नुपर्छ कि चउरमा थुप्रिएका जति मेरै पक्षका नहुन पनि सक्छन् भनेर ।

जनता पहिलेको जस्तो छैनन् । केही हदसम्म भए पनि नेताहरूको आनिबानीका बारेमा नालीबेली बुझ्ने भैसकेका छन् । सित्तैमा ताली बजाएर होमा हो मिलाउने गर्दैनन् हिजोआजका जनताले । जे–जतिले सिटी बजाएर थपडी मार्छन्, ती सबै नेताका प्रियपात्र कार्यकर्ता र स्वामीभक्तभन्दा फरक नपर्ला । तर नेताहरूले बुझ्नुपर्ने त्यही बेला हो कि ती भीड किन जम्मा भए र के चाहेका छन् ? रोजगारी, बेफुर्सदी भए शायद यसरी समय खर्चिने थिएनन् होला भनेर, अहिलेको समयमा चउरमै पुगेर, चर्को घामको राप खपेर भाषण सुन्न नै आएका हुन् भन्ने जुन परिकल्पनामा नेताहरू पुग्छन् त्यो एकदमै गलत सोच हो । एक सेकेन्डमा विश्वभरिको समाचार थाहा पाउने बेलामा ती नेताको भाषण सुन्न धाऊलान् र !

यो भीड जम्मा गरेर शक्ति प्रदर्शन देखाउन मझौला खालका कार्यकर्ताहरूको अहं भूमिका हुन्छ त्यो बेला । छिट्टै धनी बन्ने सपना बुन्ने ठेकेदारले घर बनाउने बेलामा ३-१ बालुवा सिमेन्ट गरेजस्तै गरेर मान्छेको भीड जम्मा गर्ने क्रियाकलाप ती मध्यम कार्यकर्ताहरूले गर्न छाड्ने दिन कहिले आउने हो, एउटा टोलको मात्र प्रियपात्र बनेर सबैको मन जित्न सकिँदैन भनेर बुझ्न जरुरी छ । कार्यकर्ताहरूमा पनि समन्वयात्मक भूमिका खेल्ने क्षमता हुनुपर्ने हो, त्यो देखिँदैन ।

आफ्नालाई काखी च्यापी अरूलाई जबर्जस्ती धम्क्याएर यदि आउन मानेनन् भने भोलिको दिनमा कुनै सहयोग नगर्ने भन्नेजस्ता अभद्र असभ्य व्यवहार कुनै पनि राजनीतिक दलका नेता या कार्यकर्ताको लागि शोभनीय हँदैन । नेताहरूले पनि आक्रोशित भएर, आवेशमा आएर प्रतिद्वन्दीलाई गालीगलौज गर्ने, आपूmले गरेको गल्तीलाई चाहिँ डोकोले छोपेर बचेँ भनी मख्ख पर्नुको औचित्य छैन । किनकि गल्ती छोप्नु नै छ भने कि त थुन्सेले छोप्नुप¥यो, कि त डालोले । भुसले भरिएको भकारीस्वरुपको दिमागले जनतालाई मौरी सम्झिने बानी गर्नुपर्छ । नत्र चाका दिने जनता पाखा लाग्न बेर छैन ।

हिजोआज सामाजिक सञ्जालका ऐनाहरूमा विचित्रको अनुहारहरूले भोट माग्न पनि थालेका छन्, कुनोमा बसेर नेताको दुनो सोझ्याउँदै मोबाइल तेर्साएर भिडियो खिच्दे फलाना नेतालाई स्थानीय जनताले लखेटे भनेर सञ्जालमा सम्प्रेषण गर्ने गरेको पनि पाइन्छ, तर यथार्थ अर्कै हुन्छ । आफ्नो मनले चाहेको राजनीतिक दललाई छोपछाप पारेर अर्कोको खोइरो खन्ने सामाजिक सञ्जालका केही समाचार दाताले पनि आफ्नो नियमको दायराभित्र रहनुपर्छ भन्ने हेक्का हुन जरुरी छ । मनपरेको पार्टीका नेताले सरासर झुट बोले पनि साँचो बोल्यो भनेर खबर छाप्नु मर्यादित कुरा होइन । यस्तो परिपाटीले अनुशासित पत्रकारहरूको प्रतिष्ठामा आँच आउन सक्छ ।

चुनावमा सभा–सम्मेलन गर्न घर–घरमा मान्छे बटुल्न आतुर हुने कार्यकर्ताहरूले चुनावको अघिपछि पनि घरदैलो अभियान चलाउने कार्यलाई निरन्तरता दिन जान्नुपर्छ । जनताको पिर–समस्याचाहिँ हुन्छ कुरा राखौंला भनेर पन्छिने अनि चुनाव आएपछि घरको ढोका ढक्ढक्याउने कार्यले जनमानसमा कस्तो असर पर्ला त ! हुन त यो प्रक्रिया नेपालको लागि परम्परा नै भैसकेको छ । एकपल्ट घरआँगनमा आएका नेता ५ वर्षसम्म नाकमुख नदेख्ने जनता हाम्रा गाउँघरमा ज्यूँका त्यूँ छन् ।

चुनावका बेलामा काँधमा धाप मारेर ‘सन्चै हुनुहुन्छ नि !’ भन्ने महापुरुष पनि आफ्नो ठाउँमा पुगेपछि त ‘यसरी कार्यालयमा नै आउने बानी राम्रो हैन है, मैले भन्द्या छु, जे भन्नु छ स्थानीय इकाइमा भन’ भनेर निराश पार्ने नेताहरु सबै दलमा नभएका होइनन् । त्यसैले चउरमा, मैदानमा, घर–आँगनमा केही क्षणको नाटकीय भीड देखाएर जनताको मन जितिएला भन्ने दिवास्वप्न देख्न छाडी जनताको मनको भावनालाई बुझेर काम गरेमा चाहिँ केही उदारता झल्किनेछ ।

नेपालका राजनीतिक दलहरूमात्र होइन जनता पनि कम छैनन्, पछाडि सक्दो सरापेर उनैलाई भोट दिने र दिलाउनेहरूको भीड पनि कम छैन यहाँ । कोही जनता यस्ता पनि भेटिन्छन् कि एउटा पार्टीको झन्डा ढाडपछाडि लुकाई अर्को पार्टीको भतेर खान लुसुलुसु छिरेर छाक टार्नेहरूको भीड पनि नदेखिने होइन । यस्ता खाले भीडलाई सम्बोधन गर्न नै शब्द खोज्नुपर्ला जस्तो छ । भन्नेले त त्यस्ता खाले भीडलाई लाज पचेका गतिछाडाहरू पनि भन्दा हुन् ।

भीड यस्तो होस्, जसले सबैको समान अधिकारको खोजी गरोस्, सबैको हितको लागि होस् । ती भीडको परिणामले देशमा उद्योगधन्दा चलोस् । देशको स्वाभिमान बढोस् । देशको यस्तो इतिहासमा नमेटिने सकारात्मक छाप परोस् । अन्तर्राष्ट्रिय जगत्ले प्रशंसा गरोस् कि नेपाल देशका नागरिकले आफ्नो मुलुक यस्तो बनाए कि तारिफ गर्ने शब्द नै भेटिएन भन्ने खालका चिन्तन गर्न सकोस् । अनि पो नेपाल र नेपालीको शिर सगरमाथाभैmँ उच्च रहनेछ ।

नेपाल देशभित्र कोही विदेशी अतिथि आए भने प्रमुखहरूको अलग्गै भीड लाग्ने परम्परा छ, जुन भीडको मूल तात्पर्य बाहिरका भीडले सुइँको पनि पाउँदैनन् । अलिकति पत्रकारको भीडले ठुटे माइक तेस्र्याई एकजना प्रवक्तालाई दुई–चार शब्द आदानप्रदान गरेर सञ्जालमा शब्दहरूको भीड थुपार्न हतारिएका हुन्छन् । यसैले भीडको पनि आफ्नो अस्तित्व हुनुपर्छ । त्यो भीडले देशको गरिमा बढाउने काम गर्न जान्नुपर्छ ।