मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी खटिने

0
Shares

हेटौंडा । 

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्नेलगायत काम गर्नेछन् ।

चुनावका लागि जनपद प्रहरी, म्यादी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्येक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । सशस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका मतदानस्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । हाल निर्वाचन आचार संहिता उलंघन भए÷नभएको अनुगमनमा पनि सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुस“ग मतपत्रलगायत सामग्रीसहित पठाइने मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका १ सय ६७ मतदानस्थललाई केन्द्रित गरेर सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । चुनावका लागि पहिलो घेरामा म्यादी र जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र मतदान स्थलवरपर तेस्रो घेरामा नेपाली सेना खटाइने प्रजिअ पाण्डेले बताउनुभयो ।

सबैभन्दा धेरै म्यादी प्रहरी १ हजार ६ सय ९९ जना, जनपद प्रहरी १ हजार ६९ जना, सशस्त्र प्रहरी ४ सय जना र नेपाली सेना खटाउने तयारी गरिएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । सुरक्षाकर्मीको निगरानीमा हरेक मतदानकेन्द्रमा काम गरिनेछ । विशेष गरी मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने भएको छ ।

७९ मतदानस्थल संवेदनशील

मकवानपुरका दश स्थानीय तहमध्ये भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेला–बेलामा झै–झगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोबास भएको लगायत आधारमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अतिसंवेदनशील मानिएका स्थानमा निर्वाचनविरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ ।

मकवानपुरमा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको छ । दुई संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १ सय ६७ मतदानस्थल रहेकोमा जिल्लामा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले १९ मतदानस्थल अतिसंवेदनशील निर्वाचन क्षेत्र रहेको जानकारी दिनुभयो । अतिसंवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल पहिचान गरेर सुरक्षा शुरु गरिएको उहाँले बताउनुभयो ।
मकवानपुरमा नेपाल प्रहरीहरु खटिरहेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउ“मा प्रहरीलाई नेपाली सेनाले निर्वाचनभर पालो दिएर उक्त जनशक्ति निर्वाचनमा खटाइएका छन् । जिल्लाको क्षेत्र नम्बर–१ को ‘क’ मा ७७ हजार ९ सय ८९ जना र ‘ख) मा ७२ हजार १ सय ६६ मतदाता छन् । क्षेत्र नम्बर–२ को ‘क’ मा ८३ हजार ९९ जना र ‘ख’ मा ६७ हजार ४ सय ७९ गरी ३ लाख ७ सय ३३ मतदाता रहेको वागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

आयो फुटेका मतपेटिका

प्रदेश निर्वाचन कार्यालय हेटौंडाको परिसरदेखि माथिल्लो तलासम्म निर्वाचनका सामग्रीले खचाखच भरिएका छन् । निर्वाचन कार्यालयमा आइपुगेका विभिन्न सामग्रीलाई सुरक्षा गर्न जनपद र सशस्त्र प्रहरी कार्यालय परिसरमा खटिएका छन् । यी सामग्री मिलाउन कर्मचारीलई भ्याईनभ्याई देखिन्छ ।

प्रदेश निर्वाचन कार्यालयको अघिल्तिर मतपेटिकाको ठूलै गोदाम देखिन्छ । फुटेका मतपेटिका छुट्याउँदै गरेका कर्मचारी छन् । बिहानदेखि बेलुकासम्म ती एक कर्मचारी निर्वाचन आयोगले टेन्डरबाट नयाँ खरिद गरेर ल्याएको मतपेटिका मिलाउँदैमा भ्याईनभ्याईमा छन् । मतपेटिका कुनैको पिँधमा फेटेको त कुनैको बिर्को फुटेको र कुनैको फक्लेंटा नै उप्किएको अवस्थामा देखिन्छन् ।

कमसल मतपेटिका आएको प्रदेश निर्वाचन कार्यालयका कर्मचारीहरु बताउँछन् । नयाँ मतपेटिका अर्को ठूलो कार्टुनमा सिल गरेर ल्याउँदासमेत फुटेको अवस्थामा फेला परेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले बताएको छ । नागरिकले मतदान गरेपछि मत खसाल्ने मतपेटिका २३ वटा फुटेको पाइएको छ । मतपेटिकाको बिक्र्रो भने १० वटाको फुटेको पाइएको छ । लोड–अनलोड गर्दा, ल्याउँदा गाडीमा कतै ठोक्किएर यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ ।