अग्नि नियन्त्रकका लागि २ दिने सडक सुरक्षा तालिम सम्पन्न

0
Shares

काठमाडौं ।

अग्नि नियन्त्रकका लागि जुद्ध बारुण यन्त्र कार्यालय, नयाँ सडकमा सञ्चालन गरिएको २ दिने सडक सुरक्षा तालिम शनिबार सम्पन्न भएको छ ।
समापन समारोहमा बोल्दै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा कार्यक्रमअन्तर्गत जोखिम व्यवस्थापन पूर्व तयारीसँगै खोज तथा उद्धारलाई समान प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।

‘सडक दुर्घटना व्यवस्थापन गर्न केही सीप र दक्षता आवश्यक पर्छ । दुर्घटनामा परेका मानिसको कुशलतापूर्वक जीवन रक्षा गर्न यो तालिमले सहयोग पुग्ने विश्वास लिएकी छु ।’सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले अन्तर सरकार सहकार्यबाट नतिजामूलक काम गर्ने योजना रहेको बताउनुभयो । उहाँले नीति पैरवी र क्षमता विकास कार्यक्रमबाट परिषद्ले काम थालेको बताउनुभयो । त्यसै गरी रोटरी क्लब अफ दरबारमार्गका अध्यक्ष एकनारायण ढकालले मानवीय सुरक्षा र सवेदनशीलताका लागि सहकार्यका लागि आफ्नो जिम्मेवारी पूरा गराउनुभयो ।

कामपासँगको सहकार्यमा सडक सुरक्षा परिषद्, सडक सुरक्षा समाज र रोटरी क्लब अफ दरबारमार्गले आयोजना गरेको तालिमका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य संगठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एन्ड इमर्जेन्सी मेडिसिन सेन्टरले सहयोग गरेको थियो ।तालिममा काठमाडौं उपत्यकाका पालिकाहरूबाट ४० जना अग्नि नियन्त्रक सहभागी थिए । अग्नि नियन्त्रक नभएका पालिकाहरूबाट पर्यवेक्षक-अवलोकनकर्ताका रूपमा सहभागी गराइएको थियो । तालिममा ग्रेटर मेनचेस्टर फायर एन्ड रेस्क्यु सर्भिस, बेलायतबाट रोवट व्रिटल्स र जन्सन स्नुहामले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा दुर्घटना र मानवीयताको कोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई व्यवस्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश थियो । तालिमका क्रममा सैद्धान्तिक ज्ञानसहित व्यवहारिक सीपका लागि प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो । विश्व बैङ्कले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १ दशमलब ५ प्रतिशत आर्थिक क्षति पुग्ने गरेको छ ।
नेपाल दक्षिण एसियाली मुलुकहरूमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्येको एक हो । दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुने लगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नु पर्ने संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनुपर्ने सूचक छ ।