मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन



काठमाडौं,(नेस) । 

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भन्दै सखुवानान्कारकट्टी गाउँपालिका सिरहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

नेपालको संविधानको धारा २४७ मा संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० को उपदफा (१) मा आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ भन्ने व्यवस्था छ । उपरोक्त व्यवस्थाबमोजिम मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए उक्त कार्यक्रम यथाशीघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्