निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्ने अर्थविद् डा. वाग्लेको दाबी

0
Shares

काठमाडौं । 

अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौं क्षेत्रनम्बर–४ को चुनावी कार्यक्रममा बोल्दै वाग्लेले यस्तो दाबी गर्नुभएको हो । मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसारको आफूजस्तै विज्ञहरूको टिम छ । उहाँलाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउनेछ ।’पुराना पुस्ताका नेताको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन अब सबै लाग्नुपर्ने धारणा अघि सार्दै उहाँले भन्नुभयो– ‘अबको नयाँ यात्रा चाहिँ नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं ।’ गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको भनाइ थियो ।

शुक्रबार मात्रै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि गगन थापाप्रति संकेत गर्दै देशको नेतृत्व युवाले पुस्ताले गर्ने बताउनुभएको थियो । नेपाली कांग्रेसभित्र धेरै विकल्प रहेको बताउँदै उहाँले गगन थापालाई प्रधानमन्त्रीमा सहयोग गर्ने उद्घोष केही समयअघि नै गरिसक्नुभएको थियो । कांग्रेस पार्टीमा सबै पुस्ताका नेताहरू नेतृत्व गर्न सक्षम भएको भन्दै उहाँले भन्नुभएको थियो– ‘मतदाताले युवा चाहियो भने युवा हुनुहुन्छ, पाको चाहियो भने पाको पनि हुनुहुन्छ ।’ कांग्रेसभित्र प्रधानमन्त्रीका लागि मधेसी समुदायबाट विमलेन्द्र निधिदेखि जनजातिका तर्फबाट प्रकाशमान सिंह, कोइराला परिवारबाट डा शेखर कोइराला, खसआर्य समुदायबाट पूर्णबहादुर र बालकृष्ण खाँणसमेत लाइनमा रहेको जिकिर गर्दै शर्माले भन्नुभयो– ‘तर, उहाँहरू कोही पनि अग्रसरता राख्नु हुन्न भने त्यस्तो अवस्थामा एउटा युवाले आएर म नेतृत्व गरेर जान्छु भन्दै छ गगन थापा किन नबन्ने ? अब उनको योग्यता के पुगेन ? प्रधानमन्त्री बन्नलाई अब के सिङ जुरो पलाउनु प¥यो त ?’

शर्मा उमेर र राजनीतिक इतिहासमा थापाभन्दा एक तह पुराना नेता हुनुहुन्छ । तर, उहाँ एकपटक पनि संसद बन्न पाउनुभएको छैन । गगन थापा २०६४ देखि सांसद र एकपटक मन्त्रीसमेत भइसक्नुभएको छ । हाल उहाँहरू दुवै नेता पार्टीको महामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । दुवै जनाले एकअर्काको लागि भोट माग्ने काम गरिरहनुभएको छ ।पार्टीको संसदीय दलको नेतामा हुन हिम्मत गर्ने र त्यसका लागि देशभरबाट नेपाली कांग्रेसका नेताहरूले जित्नुपर्ने बताउँदै कार्यक्रममा थापाले भन्नुभयो– ‘म एक्लै जितेर पनि मेरो लक्ष्यमा नपुग्न सक्छ, त्यसका लागि झापाबाट विश्वदाइले जितेर आउनुपर्नेछ । काठमाडौं क्षेत्रनम्बर ५ बाट प्रदीप पौडेलललगायत देशभरबाट हाम्रा नेताहरूले जितेर आउनु पर्छ । काठमाडौं क्षेत्रनम्बर ४ का सबै जनताले रूख चिह्नमा मतदान गरेर मलाई देशको नेतृत्व गर्ने ठाउँसम्म धकेल्ने प्रयास गर्नुपर्छ ।’

चुनावी अभियानकै सन्दर्भमा विश्वप्रकाश शर्माले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै भन्नुभयो– ‘म चुनावमा जाँदै गर्दा कयौं साथीहरूले हामी तपाईं प्रधानमन्त्री भनेर मत दिँदैछौँ, तपाईं किन गगन भन्नुहुन्छ ? तपाईं आफंैलाई किन अघि सर्नुहुन्न ? भन्दै गर्दा मैले म २०७० सांसद जितेको थिए भने म सांसद बन्थें । ०७४ मा जितेको थिएँ भने मन्त्री बन्थेँ ।

०७९ मा जितेर जाँदै गर्दा म प्रधानमन्त्रीको दावा गर्दिनँ । मभन्दा अनुभव भएको, मभन्दा पछिल्लो पुस्ताको गगन थापालाई प्रधानमन्त्री भन्दै आएको छु । यदि भोलि संसदीय दलमा प्रधानमन्त्री बन्न अरू युवा अग्रसर भएनन् भने त्यो बेला आउने नाम विश्वप्रकाश शर्मा हुन्छ ।’ पूर्व सांसद दिव्यमणि राजभण्डारी, डा. गोविन्द पोखरेललगायतका बौद्धिक नेताहरूको समूहले समेत थापालाई आगामी प्रधानमन्त्री बनाउनका लागि जनताले अभिमत दिनुपर्ने विचार व्यक्त गर्दै आएका छन् ।