विकासका काममा पूर्वाग्रह राख्नु हुँदैन : ओली

0
Shares

डोटी । 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गरेरै छाड्ने बताउनुभएको छ । नेकपा एमाले डोटीले शनिबार दिपायलमा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले पश्चिम सेती निर्माणका विषयमा विभिन्न राजनैतिक कारणले बन्न नसके पनि अब बन्ने एमालेको सरकारले उक्त जलविद्युत् निर्माण गरेर छोड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पश्चिम सेती निर्माणका विषयमा एमाले सधैं सकारात्मक छ, हामी उक्त जलविद्युत् आयोजना निर्माण गरेर छोड्छौँ ।’ ओलीले डोटीको सिलगढीमा रहेका विद्यालयमा विभिन्न विषयका प्राविधिक विषयहरू समावेश गरेर पढाइ शुरू गरिने बताउनुभयो । यसै गरी उहाँले दुई वर्षभित्रमा सबै बालबालिका विद्यालय पु-याउने एमालेको लक्ष्य रहेकाले बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालीका छोराछोरी विद्यालय बाहिर हुनुहुँदैन, एमालेले बोलेपछि गर्छ, एमालेले हुलाकी राजमार्ग भन्यो बनायो, हामी बोल्छौं पनि काम गर्छौं पनि ।”

यसै गरी उहाँले पूर्वपश्चिम हुलाकी राजमार्ग र महाकाली करिडोर पनि एमालेले नै बनाएकाले मदन भण्डारी राजमार्गको सुरुवात पनि एमालेले नै गरेको र लगभग त्यस कामको अन्त्य हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । यसै गरी पुष्पलाल मध्यपहाडी राजमार्गको सुरुवात एमालेले नै गरेको र उक्त कामको लगभग अन्त्य भइरहेको उहाँको जिकिर थियो । सुकुम्बासी समस्या समाधान गर्ने कुरा एमालेले नै उठाएकाले उक्त समस्याको समाधान आफूहरूले नै गर्ने उहाँको दाबी थियो ।

एमालेको ४१ महिने कार्यकालमा सडक, विद्युत्, विमानस्थललदेखि थुप्रै विकासका कामहरू भएकाले एमाले देश विकासका लागि सधंै अग्रपङ्तिमा रहेको बताउनुभयो । यसै गरी उहाँले लिपुलेक, लिम्पियाधुरा भारतले नियन्त्रणमा लिएको बताउँदै नेकपा एमालेले नक्सा बनाएर छापेको र संविधानमा समावेश गराएको बताउनुभयो । उहाँले डोटी नेपालको पुरानो राजधानी भए पनि विकासमा पछि परेकाले अब एमाले विजयी भई पनि सरकारमा जाने र यस जिल्लामा विकासको बाढी नै ल्याउने आश्वासन दिनुभयो ।

उहाँले डोटी अहिले पनि नेपालको महत्वपूर्ण जिल्ला रहेको र एमालेका उम्मेदवारहरूलाई विजयी गराउन स्थानीय मतदातासमक्ष अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो– ‘डोटी इतिहास बोकेको जिल्ला भए पनि विकासमा पछाडि परेको छ । अब एमालेले जितेर विकास गर्नेछ, अब डोटी विकासमा कहिल्यै पछि पर्ने छैन ।’ डोटीका मान्छेसँग जिनेटिक मेमोरी रहेको र यहाँका मान्छे विद्वान् मान्छे बन्न सक्ने भएकाले एमालेका उम्मेदवारलाई जिताउन उहाँको आग्रह थियो ।

एक अर्को छुट्टै प्रसङ्गमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले सबै राजनैतिक दल, नेता तथा कार्यकर्ताहरूले बिनापूर्वाग्रह राष्ट्रनिर्माणको काममा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘राष्ट्र निर्माण भनेको सबैको साझा विषय हो, विकासका काममा पूर्वाग्रह राख्नु हुँदैन ।’