विकास र समृद्धिको सपना बाँड्दै उम्मेदवार, उम्मेदवारलाई मतदाता भेट्टाउनै मुस्किल

0
Shares

गलकोट । बागलुङका उम्मेदवारले बागलुङको विकास र समृद्धिको सपना लिएर निर्वाचनको मैदानमा उत्रेका छन् । बागलुङमा चुनावी मैदानमा उत्रिएका अधिकांश उम्मेदवारले सार्वजनिक गरेको प्रतिबद्धतापत्रअनुसार बागलुङको विकासका लागि ठूला सडक कालोपत्र गर्ने, विमानस्थल चलाउने, शिक्षा र स्वास्थ्यको विकासमा काम गर्ने र समग्र बागलुङलाई राष्ट्रिय विकाससँग जोड्ने उल्लेख गरेका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट जारी भएको प्रतिबद्धतापत्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र संस्थागत विकासका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा राष्ट्रिय राजनीतिमा बागलुङको आवाजलाई बुलन्द गर्न, अलपत्र विकासका योजना अगाडि बढाउन, सम्मुनत बागलुङ, सम्मानित बागलुङवासी बनाउनका लागि निर्वाचनमा आएको उल्लेख गरिएको छ ।

प्रतिबद्धतापत्रमा कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग कालोपत्र गर्नमा पहल गर्ने, पालिका केन्द्रसम्म पक्की सडक पु¥याउने, वडाको केन्द्रसम्म स्तरीय सडक पु¥याउने, व्यवसाय सञ्चालनमा युवालाई अनुदानका कार्यक्रम ल्याउने, धवलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने, मनोपरामर्श केन्द्र स्थापना गर्ने, कृषिमा आत्मनिर्भर गराउने, महत्वपूर्ण पर्यटकीयस्थलको विकास गर्नेलगायत प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

सांसदले संसद्मा नीति बनाउँदै विकासमा सहज बातावरण बनाउने भए पनि जनतासामु विकासको माग धेरै रहेको गठबन्धनबाट बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो । “संसद्को काम भनेको नीति निर्माण गर्ने हो, विकास निर्माणमा मन्त्रालय छ तर जनताको आवाज विकासमा छ, मैले नै संसद् विकास कोष चाहिँदैन भन्दै हिँडे, अहिले जनतासमक्ष पुग्दा कोष चाहिने रहेछ भन्ने लाग्यो”, केसीले भन्नुभयो, “बागलुङ विकासमा पछाडि छ, बागलुङको समग्र विकासमा हाम्रो गठबन्धनको मुख्य भूमिका रहन्छ ।”

गठबन्धनको तर्फबाट जारी भएको घोषणापत्रमा बस्ती विकास, वैकल्पिक ऊर्जा, खानेपानीको पहुँच, उद्योग, व्यापार र रोजगारीलाई बढी जोड दिइएको छ । यस्तै नेकपा (एमाले)को तर्फबाट सार्वजनिक भएको घोषणापत्रमा बागलुङका ठूला योजनाबाटै समृद्धि हासिल गर्न सकिने उल्लेख गरिएको छ । घोषणापत्रमा पर्यटनबाट बागलुङको विकास गर्न सकिने र निकै सस्तो परियोजनाका रूपमा रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना सुरु गर्न सरकारलाई दबाब दिने, ढोरपाटन क्षेत्रको विकास गर्नेलगायतका योजना घोषणापत्रमा समावेश गरिएको छ ।

एमाले बागलुङले जारी गरेको घोषणापत्रमा ग्रामीण सहरलाई प्रविधिमैत्री बनाइने, सिटीहल निर्माण गरिने, एक पालिका एक बारुणयन्त्र खरिद गर्ने, बलेवा विमानस्थललाई सञ्चालनमा ल्याइने, एक वडा एक सहकारी, घर–घरमा रोजगारी, एक घर एक स्वरोजगार, बाङ्गेचौरलाई रङ्गशाला निर्माण गरिने, उद्यमीसँग हाम्रो बाँचा मेड इन बागलुङको ब्राण्डिङ र बजारीकरण, भूमिहीन र सुकुम्बासीसँग हाम्रो सङ्कल्प सबैको हातमा लालपुर्जालगायतका योजना समावेश गरिएको छ ।

एमालेबाट बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार डा सूर्य पाठकले जनतालाई विकाससँग जोड्दै समग्र बागलुङको विकास र समृद्धिका लागि एमालेको जित आवश्यक रहेको बताउँदै आफ्ना एजेण्डासहित निर्वाचनमा होमिएको जानकारी दिनुभयो । “मैले पाँच वर्षमा बागलुङका थुप्रै समस्याका विषयमा सदनमा राखेको छु, बागलुङका ठूला विकासे योजना निर्माणमा सहकार्य गरेको छु, अस्पतालमा आइसीयू बनाउनसमेत संसद् विकास कोषको रकम हालेको छु”, निर्वतमान सांसदसमेत रहनुभएका डा पाठकले भन्नुभयो, “पाँच वर्षमा केही कामको थालनी भएको छ, बलेवा विमानस्थल कालोपत्र भएको छ, कालीगण्डकी करिडोर कालोपत्रको चरणमा पुगेको छ, थुप्रै अधुरा काम गर्नका लागि पुनः पार्टीले चुनावी मैदानमा पठाएको छ ।”

एमालेको स्थानीय प्रतिबद्धतापत्रमा भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र बनाउने, जीर्ण सडकको स्तरोन्नति, पालिका जोड्ने सडक कालोपत्र र वडालाई स्तरीय सडक कालोपत्र गर्नेलगायतका योजना सार्वजनिक गरेको छ । यस्तै अन्य साना दलले समेत आफ्ना विकासे एजेण्डासहित चुनावी प्रचार–प्रसारमा लागेका छन् । बागलुङमा दुई प्रतिनिधि र चार प्रदेश सांसदको पदमा ३१ जना चुनावी मैदानमा हुनुहुन्छ ।

उम्मेदवारलाई मतदाता भेट्टाउनै मुस्किल कात्तिक महिना किसानलाई बर्खेबाली भित्र्याउन भ्याइनभ्याइ छ । अहिले गाउँका घरहरूको ढोका बन्द गरेर किसान खेतबारीमा व्यस्त भएको सन्दर्भमा उम्मेदवारलाई भने भोट माग्न हतारो छ । किसानलाई धान, कोदो भित्र्याउने चटारोको समयमा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार मतदाता खोज्दै घरदैलामा पुग्दा उम्मेदवारले अधिकांश मतदातालाई प्रत्यक्ष भेट्टाउन नसकेको जनाएका छन् ।

धान र कोदोमात्रै होइन, वर्षभरि पशु आहाराका रूपमा रहेको पराल र नल थन्काउन किसान व्यस्त रहेको सन्दर्भमा प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन नजिकिँदै आएको छ, तर उम्मेदवारले मतदातालाई भेट्टाउन भने मुस्किल भएको छ । किसान खेतबारीमा व्यस्त भएपछि यसपटक उम्मेदवारले मतदातालाई भोट माग्ने शैलीलाई परिवर्तन गर्न बाध्य भएका छन् ।

कोणसभा र आमसभामार्फत् आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्दै आएका उम्मेदवारले यसपटकको निर्वाचनमा भने उम्मेदवारले फरक तरिकाले खेतबारीमै पुगेर भोट माग्न थालेका छन् । उम्मेदवार अहिले मतदाता रहेको स्थल खेतबारीमै पुगेर आफ्ना चुनावी एजेण्डा बताउँदै मत मागेको सामाजिक सञ्जालमा प्रष्ट देखिन्छ । कामको चटारो र निर्वाचन आयोगको निर्वाचन प्रचार–प्रसार मापदण्डअनुसार अहिलेका उम्मेदवार घरदैलो र खेतबारीमै पुग्नुपर्ने देखिएको छ ।

“अहिले सामाजिक सञ्जालको जमाना छ, कुन उम्मेदवारले कसरी भोट मागिरहेको छ, के एजेण्डा बोकेर गाउँ पसेको छ भन्ने कुरा क्षणभरमै घरमै बसेर थाहा पाइन्छ, गत निर्वाचनमा वडा–वडामा कोणसभा आयोजना गरी चर्को भाषण गर्ने काम हुन्थे”, सामाजिक अगुवा काजी गाउँले श्रेष्ठले भन्नुभयो, “अहिले भड्किलो प्रचार छैन, घरदैलो र मतदाता भेटघाटमै उम्मेदवार लागेका छन्, यो कामको मौसम भएकाले होला मतदाता किसानले काम गरेकै स्थानमा पुगेको सामाजिक सञ्जालमा देख्न सकिन्छ, अहिले भोट माग्ने शैली पनि फेरिएको पाइयो ।” बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार डा पाठकले आफ्नो फेसबुक पेजमा खेतबारीमा पुगेर मत माग्दै गरेको, घरमा कोही फेला नपरे चिठ्ठी लेखेर छाडेको फोटो तथा भिडियो राख्दै आउनुभएको छ ।

पाठकले भोट माग्न घरमै पुगेर भिडियोकलमार्फत् अन्य स्थानमा रहेका आफन्तलाई समेत सहयोग गर्न आग्रह गर्नुभएको छ । अहिले भोट माग्न गाउँ–गाउँ पुग्ने क्रममा मतदाताको घर बन्द रहेको पाइएकाले आफूले मतदाता खोज्दै खेतबारीमा पुग्ने गरेको उम्मेदवार डा पाठकले बताउनुभयो । “अहिले हामीलाई मत माग्ने चटारो छ, मतदातालाई हाम्रो एजेण्डा सुन्नेभन्दा धान तथा कोदो भित्र्याउने चटारो छ, हामीले धान चुट्दै गरेको, धान काट्दै गरेको, दाइँ हाल्दै गरेको कोदो काट्दै गरेको स्थानमै पुगेर भोट मागिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यस्तै पाँचदलीय गठबन्धबाट बागलुङ क्षेत्र नं १ प्रदेशसभा (२) का उम्मेदवार नेपाली कांग्रेसका युवानेता डिल्लीराम सुवेदीले सकभर सबै जनताको घरमा पुगेर मत मागेको बताउनुभयो । “जनता अब उम्मेदवार समक्ष होइन, उम्मेदवार जनता समक्ष पुग्नुपर्छ भन्ने मान्यताका साथ मतदाताको घर र घरमा फेला नपरे खेतबारीमा पुगेको छु”, उम्मेदवार सुवेदीले भन्नुभयो “यसपटकको निर्वाचनमा आमसभाभन्दा घरदैलोमै पुगेर मतदाताको सुख, दुःख बुझ्ने र आफ्ना एजेण्डा बताएर मत मागिरहेको छु ।”

आमसभा र तडकभडक प्रचारभन्दा मतदाता भेटघाट नै प्रभावकारी देखिएको कतिपय उम्मेदवारको बुझाइ छ । बागलुङ क्षेत्र नं २ प्रदेशसभा (१) का गठबन्धनका उम्मेदवार जित शेरचन तथा सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले आफ्नो चुनावी कार्यक्रम घरदैलो केन्द्रित भएको बताउनुभयो । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र गरी छ पदका लागि विभिन्न उम्मेदवार मतदाता रिझाउन गाउँ–गाउँमा पुगेका छन् । सत्तारुण गठबन्धन र एमालेसहित साना दलका उम्मेदवार मतदाताको घरदैलोमा पुग्दै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बागलुङ क्षेत्र नं १ का उम्मेदवार बन्नुभएका खिमानन्द कँडेलले आफ्नो चुनावी अभियानलाई फरक शैलीमा अगाडि बढाउनुभएको छ । उहाँले सामाजिक सञ्जालको प्रयोगबाट मत माग्ने कामलाई तीव्रता दिनुभएको छ भने वडा तहमा आफ्नो चुनावी अभियान पु¥याउनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन दल तथा स्वतन्त्र उम्मेदवारले आफ्ना चुनावी एजेण्डा र धारणासमेत सार्वजनिक गर्दै गाउँ–गाउँ पुगेका हुन् । बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३१ जना चुनावी मैदानमा हुनुहुन्छ ।