लिंक इन्टरनेशनल मेनपावरका काफ्लेले अझै गरेनन् लिएको रकम र राहदानी फिर्ता

0
Shares

काठमाडौँ।

यूरोपको पोर्चुगलमा आवासीय भिसामा पठाउने भन्दै १८-२० महिना अघि थुप्रै युवाबाट लिएको एडभान्स रकम र राहदानी अझै फिर्ता गरेका छैनन्, लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस्का कमल काफ्लेले । उनले न त पोर्चुगल नै पठाउने गृहकार्य अघि बढाइरहेका छन्, न त रकम र राहदानी नै फिर्ता गर्छन् ।

लामो समयदेखि रकम र राहदानी बुझाएर पोर्चुगलको उडानको दिन कुरेका युवाहरु घरनघाटको अवस्थामा पुगेका छन् । मोवाइलमा कुरा गर्दा प्रोसेस अगाडी बढीरहेको तयारी जवाफ मात्र दिने गरेको तर मेनपावरको कार्यालयमा जाँदा भेट समेत हुन नसकेको गुनासो पीडितको छ ।

पिडीतका अनुसार मेनपावर कार्यालयका अन्य कर्मचारीसँग सम्पर्क गर्दा पोर्चुगलको विषयमा आफूहरुलाई थाहा नहुने भन्दै त्यहाँका कुनै पनि कर्मचारी त्यस बारेमा कुरै गर्न चाहान्नन् । सञ्चालक कमल काफ्ले कार्यालयमै भेटीन्नन् । गार्डले समेत माथि जानै नदिने पीडितको गुनासो छ ।

यस विषयमा वैदेशिक रोजगार विभागमा कर्मचारीसँग गुनासो गर्न जाँदा प्रमाणसहित निवेदन दिन भनेको तर आफूहरुसँग कुनै प्रमाण नभएको गुनासो पीडितको छ । पछिल्लो समय पोर्चुगल जाने नाममा रकम फसाएकाहरुको भिड लाग्न थालेपछि काफ्लेको मेनपावर कार्यालय जाउँ-आउँमा निकै कमी आएको बताइन्छ । नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघ लोकतान्त्रिकका महासचिव समेत रहेका काफ्लेले आफ्नो पहुँच श्रम मन्त्रालयसम्मै रहेको भन्दै पीडितका गुनासो सम्वोधनतर्फ चासो नदिएको आरोप छ ।

यसैबीच , खाडीका कतार, आवुधावी, दुवई, बहराइन, साउदी अरव लगायत ठाउँमा नेपाली श्रमिक पठाउँदा सरकारले तोकेको नि:शुल्क वा न्यूनतम शुल्क लिने निर्णयलाई नै चुनौती दिँदै साढे दुई लाखदेखि तीन लाखसम्म रकम असुल गरीरहेको बारे समाचार सार्वजनिक भइरहँदा समेत मेनपावर कम्पनीको अनुगमन गर्ने, दोषी भेटीए कारवाही गर्ने सरकारी निकाय वैदेशिक रोजगार विभागले समेत मेनपावर कार्यालमा आवश्यक अनुगमन गर्न चाहिरहेको देखिन्न । दिनहुँ ढोका थुनेरै एक-एक जनासँग रकम असुल्ने कार्य जारी रहँदा समेत विभागले कारवाही गर्ने तर्फ मौनता देखाउनुलाई मिलोमतोका रुपमा हेर्न थालिएको छ ।

श्रम तथा समाजिक मन्त्रालयका सचिव एकनारायण अर्याल र लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले एकै गृह जिल्लाका भएको र आपसमा नाता सम्वन्ध पनि रहेकाले त्यही चिनेजानेको अवस्थालाई काफ्लेले वैदेशिक रोजगार विभागमा प्रयोग गरिरहेको आशंका पनि गर्न थालिएको छ ।

त्यसो त वैदेशिक रोजगार विभागमा दर्ता भएको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिससँग हुबहु नाम, काम र लोगोसमेत मिल्ने गरी भारतमा दर्ता रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस्सँगको सम्बन्ध र कार्यगत एकताका सम्वन्धमा समेत वैदेशिक रोजगार विभागले सोधपुछसम्म नगर्नुलाई पनि श्रम सचिवसँग काफ्लेको निकटता र नेपाली काँग्रेसको शुभेच्छुक संस्था अर्थात् काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको महासचिव भएकै कारण हुन सक्ने अन्य व्यवसायीको बुझाई छ ।