किरात धर्म दर्शनका महान् दार्शनिक फाल्गुनन्द



महागुरु फाल्गुनन्द मुहिगुम अङसीमाङ किरात धर्म दर्शनका महान् दार्शनिक तथा धर्मका पुनः संस्थापक हुनुहुन्छ । उहाँ भगवान्का रुपमा हुनुहुन्छ भने देशले उहाँलाई १६ औं राष्ट्रिय विभूतिको सम्मान दिएको छ । उहाँको जन्म १९४२ साल कार्तिक २५ गते आइतबार इभाड चुक्चिनाम्बा डाँडागाउँ चारखोला वर्तमान माङसेबुङ गापामा भएको थियो ।

किरात याक्थुङ लिम्बू जातिमध्ये सेत्छेनेसेतिहाङ लिङदेन कुलवंशमा सामान्य किसान परिवारका आमा हंशमती र बुवा जगनबाजबाट जन्म भएको हो । अघि जन्मेका सन्तानहरु धेरैको मृत्यु भएकोले यो बालक पनि मर्ने हो कि भन्ने पिरलो आमाबाबुलाई थियो । शिशुकालमै आमाको निधन भएकाले बालकलाई गाईको दूध खुवाएर बचाइयो । बालकको ज्योतिषनाम नरधोज रहन गयो ।महागुरु फाल्गुनन्द बाल्यकालदेखि नै एकान्तप्रेमी, ध्यानी, ज्ञानी, तपस्वी, सत्यप्रेमी हुनुहुन्थ्यो । उहाँ सत्य, शान्ति, दया, अहिंसाका पक्षमा हुनुहुन्थ्यो । उहाँको आहार विशुद्ध थियो । किशोरावस्थामा उहाँको नाम फलामसिं थियो । आत्मज्योतिले भरिपूर्ण फलामसिंह एकदिन मध्यरातमा एक्कासि उठेर अल्प हुनुभयो । उहाँलाई इलामको महमाई, बाँझो, इभाङ दानाबारी, जितपुर यी पाँच गाविसको बीच देवमाई र माई नदी संगमस्थल फलुङगी दोभानपानी वृक्षफेदमा परमात्मा परमेश्वर तागेरा निङवाभुमाङको प्रत्यक्ष दर्शन भई आत्माज्ञान भयो ।

यसपछि उहाँको ज्ञान, चेतना र दिव्यशक्ति फरक रुपले प्रस्तुति हुन थाल्यो । ध्यान, ज्ञान, जप, तप, शिक्षादीक्षामा एकाएक परिवर्तन भयो । साधनाले महान् योगी, तपस्वी, सन्त, ब्रह्मज्ञानी, माङधककुधकको रुपमा महाज्ञान, महासमाधि ज्ञान प्राप्त भयो । उहाँ सत्यहाङमा सत्य महाराजाले उद्बोधन हुनुभई सत्यहाङमा साधु संज्ञाले सम्बोधित हुन पुग्नुभयो । आत्माज्ञानपछि अहिंसा, सत्य, दया, शान्ति र करुणाको शंखनादले विश्व चराचर सन्देश माइङङ्घङ देववाणी महावाणी दिनुभयो ।

ज्ञानी फलामसिंहलाई एकपटक संयोगवश पल्टनिया दाजु भेट्न जानुभयो । उहाँलाई दाजुले मनाएर ब्रिटिस सेनामा भर्ना गराइदिनुभयो । यसपछि उहाँ सन् १९१४ पहिलो विश्वयुद्धमा होमिनुभयो । युद्धमा उहाँले आकाश वा पातालमा मात्र गोली हान्न आदेश दिनुभयो । उहाँ हवल्दार हुनुभयो तर ध्यानी, ज्ञानी फलामसिंहको मन सेनामा अडिएन । उहाँले पल्टन परित्याग गर्नुभयो र मूलतः किरात जनजातिको हराइरहेको मुन्धुम, धर्म, भाषा, लिपि, संस्कार, भेषभूषा र इतिहासको खोजमा लाग्नुभयो । उहाँ भेटेका प्रमाणहरु संकलन गर्दै अनुसन्धानमा लाग्नुभयो ।
पल्टन परित्याग गरेर फाल्गुनन्दको शान्ति, ध्यान, ज्ञान र अनुसन्धानको बाटोमा लागेपछि उहाँ महागुरु फाल्गुनन्द भनेर सम्मानित हुन थाल्नुभयो । महागुरुले कर्मक्षेत्र पाँचथरमा वि.सं. १९८८ वैशाख २४ गते, १७ थुम १० लिम्बुवानको बृहत् किरात चुम्लुङ आयोजना गर्नुभयो । चुम्लुङमा उहाँले ७ बुँदे लिखित सत्यधर्म मुचुल्का खडा गर्नुभयो । जन्ममा न्वारन, यौवनमा विवाह, मरणमा अत्येष्टि, सेवा आराधना गर्ने र रक्त बलिपूजा निषेध गराउनुभयो । आहारमा मदमांस प्रतिबन्ध गराउनुभयो । छोरीचेलीको सोतरित सुनौली रुपौली रुपैयाँ नलिने नियम चलाउनुभयो । स्त्रीजातिमा रजस्वलामा पानी बार्ने, माङहिम र निसामहिम विद्यालय बनाउने, सुसंस्कृति पालना गर्ने काजक्रिया बार्ने, सुतक र मृत्यु बार्ने, शुद्ध पिण्डमात्र चढाउनेजस्ता कर्म संस्कारहरुमा एकीकृत सुधार गरी समयसापेक्ष बनाउनुभयो । त्यति बेलाको राणा शासनकालमा समाज सुधारका लागि यो एउटा पृथक सामाजिक क्रान्ति थियो ।
महागुरुले सोही ठाउँको त्रिशूल रोप्नुभयो । यज्ञमण्डप निर्माण गरी सिलौटीको नाक्फुनयक माङहिम साङसेनवरक माङहिम लोब्रे र १७ थुम गोश्वारी माङहिम यही हातामा तीनवटा मन्दिर स्थापना गर्नुभयो । किरात एकता र मानव एकताका प्रतीकरुपी त्रिशूलको अलौकिक शक्तिविम्ब शास्त्ररुपी अस्त्र यही सिलौटी कुटीमा अद्यावधि खडा छ ।
सत्यधर्म मुचुल्का सार ः
ड्ड प्रत्येक गाउँमा मन्दिर र पाठशाला बनाउनू, लेखपढ सिकाउनू ।
ड्ड देवकार्य, पितृकार्य, पूजाआज, विवाह आदिमा जीवघात नगर्नू । अबउप्रान्त नैवेद्य, धूपबत्ती, सिन्दुर, अक्षता र फलफूलमात्रै अर्पण गर्नू ।
ड्ड छोरीचेलीको सोतरित खानु मनुष्य जाति धर्मको विरुद्ध घृणालाग्दो हो, यो चलन त्यागी अबउप्रान्त सोतरित नखानू । चेली विवाह गरी दिएपछि माइतीलाई जुठो नलाग्ने ।
ड्ड मृत्यु सूतकमा चार–पाँच दिनदेखि सरासर खेती काम गर्नू । किरियापुत्रीले अबउप्रान्त नौ दिनमा किरिया बारी १० दिनमा शुद्ध हुनु । क्रियापुत्रीबाहेक खेती÷काम गर्नेले तीन दिनमात्र बार्नू ।
ड्ड वृद्धि सुतक पनि सनातनबमोजिम १० दिन बार्नु र सुत्केरीका जीउलाई २२ दिन बारेर शुद्ध गराउनू ।
ड्ड पितृ÷देव धर्मकार्य पशुप्राणीको हत्या गरी मांसको पिण्ड दिने गर्दा अहिंसा परमो धर्म खण्डन भई धर्म नोक्सानी भएकाले अबउप्रान्त अदुवा, दूध नैवेद्य, चामलको पिण्ड दिनू ।
ड्ड अबउप्रान्त लिम्बू, राई वा किरात जाति कसैले सुँगुर, कुखुरा नखानू ।
ड्ड समाज सुधारका अन्य क्षेत्रमा पनि सत्यधर्म मुचुल्का छ ।
महागुरु फल्गुनन्द शुद्ध विचारका धनी र महाज्ञानी हुनुहुन्थ्यो र सत्यधर्म मुचुल्कामार्फत समाज सुधार गराउनुभयो । तैपनि षड्यन्त्रकारीहरुले वि.सं. १९९० र १९९५ मा दुई–दुईपटक देशद्रोही र राजद्रोहीको अभियोग लगाई फाँसीमा लड्काउने वा आजीवन काराबास दिनेसमेत कुचेष्टा गरेको थिए ।
चेतनदाता, ज्ञानदाता र मुक्तिदाता आजीवन ब्रह्मचारी महान् दार्शनिक महागुरु फाल्गुनन्द ६३ वर्ष ४ महिना २० दिनको उमेरमा २००५ चैत २२ गते सोमबार मध्यान्तरमा पाँचथर याम्बोङको हाङयकमा परमधाम हुनुभयो । देह रहेन तर आत्मा यही लोकमा सर्वकालीन, सर्वयुगीन, सर्वव्यापी अमर छ । उहाँलाई सरकारले २०६६ मंसिर १६ गते १६ औं राष्ट्रिय विभूतिको सम्मान दिएको छ । यस्तै, २०७२ मा उहाँको जनन्मदिन सार्वजनिक बिदा दिने निर्णय गरी नेपाल सरकारले ठूलो सम्मान गरेको छ ।
महागुरुद्वारा स्थापित किरात धर्म राज्यको चौथो दर्जामा स्थापित छ । उहाँले सत्यधर्म मुचुल्को प्रतिपादन गरेको दिन वैशाख २४ गते समाज सुधार दिवसको रुपमा किरात धर्मावलम्बी भक्तजनहरुले भव्यताका साथ मनाउने परम्परा छ । यस वर्ष ८७औं समाज सुधार दिवस हो । यो दिवस नेपाल, भारत, भुटान, जापान, हङकङ, बर्मा, मलेसिया, संयुक्तराज्य अमेरिका, अस्टे«लिया, बेलायतलगायत १५–१६ मुलुकमा धुमधामका साथ मनाउने गरिएको छ । यस शुभ दिनमा उहाँको आत्माको चिरशान्तिको लागि कामना गर्दछु । समाज सुधार दिवसले विश्व मानव एकता, शान्ति र सहिष्णुताका लागि प्रेरणा मिलोस् ।
(लेखक डा. सेर्मा मुन्धुमविद् एवं विश्व ज्योतिष महासंघका अध्यक्ष मण्डलको सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्