राजनीतिमा गाली भाषणमा ताली ?



अहिले जताततै चुनावी माहौल छ । दलहरुले प्रचारप्रसारलाई तीव्र पार्दै लगेका छन् । राष्ट्रिय राजनीतिको सुई उल्टोसुल्टो जसरी घुमे पनि सकेसम्म आफ्नाले जित्न सक्ने आधारहरु जनतामाझ पेस गर्नमा व्यस्त छन् । राजनीतिको बाटो सीधा हुँदैन भन्ने गरिन्छ । यो कुरा नेपाली राजनीतिलाई हेर्दा पनि थाहा हुन्छ । उहिलेदेखि अहिलेसम्मको राजनीतिक अभ्यासको उदाहरण र घटनाक्रम मात्रै स्मरण गर्ने हो भने पनि नेपाली राजनीति सरल रेखाबाट अगाडि बढेको छैन ।

वास्तवमा सबै विषयको केन्द्रविन्दु पनि राजनीति हो । त्यसैले राजनीतिलाई सबैभन्दा जेठो नीति भन्ने गरिन्छ । राजनीतिले नै सबै खालका परिवर्तन गर्न सक्छ । तर राजनीतिक क्षेत्रमै विचलन आयो भने त्यसको नकारात्मक प्रभाव सबै क्षेत्रमा पर्न जान्छ । नेपाली समाजलाई नै यसको अर्को एउटा उदाहरणका रुपमा लिन सकिन्छ ।

वि.सं. २००७ सालमा प्रजातन्त्र आउँदा नेपालमा साक्षरता प्रतिशत २ प्रतिशत मात्रै थियो । निरङ्कुशताभित्र राजनीतिक दल नहुँदा पनि समाज एक प्रकारले चलेकै थियो । तर पनि अहिलेका जनताभन्दा पहिलेका जनता अलि सन्तोषी पनि थिए, किनकि उनीहरुले राजनीतिक बोझ र बेथिति थेग्नुपरेको थिएन ।नेपालमा राजनीतिक दल जन्मेको एक शताब्दी पनि भएको छैन । हजारौं आन्दोलन र असन्तुष्टिको साक्षी माइतीघर मण्डला बसेझैँ यहाँ आज जुन पुस्ताले राजनीति गरिरहेको छ, ऊ अनेकौं विकृतिको साक्षी बनेको छ ।

हिजोका दिनमा प्रजातन्त्र प्राप्तिका लागि होस् कि पञ्चायती व्यवस्थाको अन्त्यका लागि होस् । राजतन्त्रको अन्त्यका लागि होस् या गणतन्त्रको लागि लड्ने पुस्ता पनि यही नै हो । यसरी पटकपटक विभिन्न चरणका आन्दोलनमा होमिएको यो पुस्ता हो, जुन उमेर समूहको नेतृत्व र अनुभवले खारिएको पुस्ता पनि हो । तर आन्दोलन गर्दागर्दा अनुभवले खारिएकोे पुस्ता भए पनि यो पुस्ताले राजनीतिलाई न्याय गर्न र सङ्लो बनाउन सकेको छैन । नेपाली राजनीतिमा सबैभन्दा दुःख लाग्दो कुरा पनि यही हो ।

विश्वमा विकसित देशको राजनीतिक अभ्यास र संस्कार हेर्दा समाजमा राजनीतिले स्थायित्व पाएको देख्न सकिन्छ । त्यहाँ परिवर्तनले फड्को मारिसकेको छ । राजनीतिक दलहरु विचार र सिद्धान्तले निर्देशित छन् । असल राजनीतिक संस्कारमा हुर्किएका उनीहरु चुनावमा जनतासमक्ष आफ्ना भावी योजना अगाडि सारेर प्रतिबद्धता व्यक्त गर्दछन् भने यहाँ व्यक्तिका कमजोरी खोतलिन्छ । एक–अर्कामा हिलो छ्यापाछ्याप गरेर आफू चोखिने प्रयास गरिन्छ । हुँदाहुँदा यसको बाछिटाले अन्य क्षेत्र पनि प्रदूषित बन्दै जाँदा राजनीति गालीगलौजमा परिणत भएको छ ।दलका नेताहरुले आफ्ना भाषणमा एक–अर्कालाई गाली नगर्दासम्म आफ्नो भाषण पूरा नभएको ठान्न थालेका छन् । चुनावको बेला त झन् एक–अर्कालाई दोष थुपारेर सकेसम्म खुइल्याउने प्रवृत्तिले नेपाली राजनीति दुर्गन्धित हुँदै गएको छ । यसले विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरुलाई समेत बदनाम गरिदिएको छ ।

झन् पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग बढ्नाले राजनीतिमा अनेकन विकृति देखा परेका छन् । दलका नेतृत्वले यस्ता विकृति हटाउने इच्छाशक्ति र हिम्मतसमेत देखाउन सकेका छैनन् ।वि.सं. २०४६ को राजनीतिक परिवर्तनको शुरुवातसँगै नेपालीहरुको विकास र समृद्धिको आकांक्षा एकाएक सतहमा आएको थियो । थुप्रै कुरामा सुधारको अपेक्षा गरिएको थियो । तर राजनीति आफैँ फोहोरी खेलमा रुपान्तरित भयो । सांसदहरुकै किनबेचका कुरा सतहमा आए । सेवासुविधा राम्रालाई भन्दा हाम्रालाई भन्न थालियो । सरकारी कार्यालयमा कमिसन खाने रोग भित्रियो । ठेक्कापट्टाहरु आफन्तको पोल्टामा पर्न थाले ।

वि.सं. २०६२÷६३ को जनआन्दोलनपश्चात् जनताले यो पुरानो रोग त झन् कसो नहट्ला भन्ने निकै ठूलो अपेक्षा गरेका थिए । परिणाम झन्–झन् उल्टो हुँदै गयो । भ्रष्टाचार र बेथितिको पुरानो रोग घटेन । बरु केन्द्र हुँदै प्रदेश र प्रदेश हुँदै स्थानीय तहसम्म छरपस्टियो । गाउँगाउँमा भएको भ्रष्टाचारको छानबिन र कारबाहीका प्रतिवेदनले दराज भरिए ।

एक दलले अर्को दल वा प्रतिनिधिलाई प्रतिशोध साँध्नकै लागि भए पनि अदालत जाने रोग सल्कियो । अदालतको अन्तरिम आदेशको नाम भजाएर आर्थिक चलखेलको व्यापार शुरु भयो । त्यस्तै एउटा दलमा रहेको व्यक्ति राजनीतिक विचार र सिद्धान्तलाई लत्याउँदै प्रतिशोध साँध्न भोलि अर्कै पार्टीमा प्रवेश गर्ने परिपाटी भित्रियो ।

आज सरकारलाई समर्थन गरेको सांसद भोलि सरकारबाट बाहिरिनु नौलो भएन । अर्को दललाई समर्थन गर्न ह्वीप जारी गर्नु, पार्टीले कारबाही गरेर निष्कासन गर्नु, भोलि अदालतले कारबाही फुकुवा र पुनर्बहाली गरिदिने संस्कारले पार्टीमा अनुशासन रहेन । अझै सांसद बन्न, मन्त्री बन्न, कर्मचारी सरुवा–बढुवा गर्न, संवैधानिक निकायमा नियुक्ति खान र निर्वाचनमा उम्मेदवारको टिकट लिन पनि पार्टीभित्र पैसा ख्वाउने गरेका बेथितिपूर्ण समाचारले पत्रपत्रिकाका पाना भरिनु कुनै नौलो भएन ।

आज नेपालका राजनीतिक दलका नेताहरु जो जुन हैसियतमा पुगेका छन्, तिनका अभिव्यक्तिले त्यो हैसियतको गरिमा जोगाउन सकेको देखिँदैन । राजनीतिक दलमा अनुशासनको सही पालना हुन नसक्दा पार्टीले बोकेका विचार, दर्शन र राजनीति जनताको नजरमा हात्तीको देखाउने दाँतजस्तै बनेका छन् । दलका चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रप्रति विश्वास गुम्दै गएको अवस्था छ ।

यसरी गहिरिएर हेर्दा राजनीतिको उचाइलाई घटाउने काम राजनीतिक दलहरु नै स्वयंले गरिरहेको देखिन्छ । राजनीतिक दललाई नेतृत्व गर्ने नेताहरुले जे–जस्ता भाषण गरिरहेका हुन्छन् । ती सुन्दा लाग्छ, राजनीति साँच्चिकै फोहोरी खेल नै हो भन्दा फरक पर्दैन । झन् पछिल्लो समयमा राजनीतिक नेतृत्वमा नै मूल्यको ह्रास हुँदै गएको देखिन्छ, जे पनि बोलिदिने, जो पनि बोलिदिने, जे पनि गरिदिने, मौसमी कुरा भनिदिने । अर्कोलाई पिठ्युँ देखाइदिने नाममा आफू नाङ्गिएको पत्तो नपाउनेहरुको संख्या बढ्दै गएको छ ।

यसले राजनीतिलाई विकृत बनाउँदै लगेको छ । बोल्दा के बोलेँ भनेर थाहा नपाउने अनि पछि माफी माग्दै हिँड्ने प्रवृत्ति राजनीतिमा झन् डरलाग्दो रोग बनेको छ । नेपालका राजनीतिक दलका शीर्ष भनिने नेताहरुले बेलाबेलामा गरेका विवादास्पद अभिव्यक्तिले सर्वसाधारणमा राजनीतिप्रतिको वितृष्णा बढ्दो छ ।अचम्मको कुरा यो छ कि राजनीतिक दलका नेताहरु मिलेर बस्दासम्म एक–अर्काको प्रशंसा गर्छन् । जब मन मिल्दैन तब गाली गरेर एक–अर्कालाई सिध्याउने ध्याउन्नमा केन्द्रित हुन्छन् । एकले अर्कोलाई गरिरहेका गालीले के सन्देश दिइरहेको छ ? ती गाली सुन्ने सर्वसाधारण जनताले कस्तो संस्कार सिकिरहेका छन् ? राजनीतिक दलका बीचमा यस्तो किन भइरहेछ ? भन्ने यावत् प्रश्नको सजिलो जवाफ छ, नेपालका राजनीतिक दलका नेताहरुमा नै राजनीतिक संस्कार भएन ।

यथार्थमा राजनीतिक परिवर्तनपछि हुने सामाजिक परिवर्तनसँग जनताका भावना र चाहना मिसिएका हुन्छन् । नेपालमा पनि वि.सं. २००७ को राजनीतिक परिवर्तनसँगै संविधानसभाको कुरा उठाइएको थियो । झन्डै ६५ वर्षपछि निकै लामो संघर्ष र बलिदानबाट २०७२ सालमा जनताको हातले संविधान लेख्न सफल भए पनि अझै यसको पूर्ण कार्यान्वयन हुन बाँकी नै छ । संविधानमा हाम्रो गन्तव्य समाजवादतर्फ भनिएको छ ।यति बेला चुनावी मौसम छ ।

नेताको भाषणमा संविधान कुन मान्यताका साथमा लेखियो ? यसका मूलभूत विशेषता र राम्रा पक्ष के–के छन् ? समाजवादको यात्रामा मुलुकलाई कसरी लैजाने ? आर्थिक समृद्धिका मोडेल के–के हुन सक्छन् ? परराष्ट्रनीति के हुने ? छिमेकी मुलुकसँगको सम्बन्ध कस्तो बनाउने ? मुलुकलाई आत्मनिर्भर बनाउन युवालाई मानव पूँजीका रुपमा कसरी विकास गर्ने ? जस्ता थुप्रै विषयमा राजनीतिक दलका घोषणापत्रमार्फत शीर्ष नेताका मुखबाट सुन्न आतुर छन् जनता । तर अहिले नेपालका राजनीतिक दलका बीचमा सैद्धान्तिक विमतिभन्दा पनि कसले कस्तो व्यवहार गर्छ । त्यसको आलोचनामा समय बढी खर्चिने गरेको पाइन्छ ।

आज राजनीतिमा देखिएको यस्तो विकृतिको प्रभाव चौतर्फी परिरहेको छ । राजनीतिक दलहरुले देखाएको संस्कारको प्रभाव अहिले कति परिरहेको छ ? त्यसको ठ्याक्कै मापन गर्न सकिँदैन । तर भविष्यमा यसको गलत प्रभावको परिणाम भने पक्कै देखिनेछ । जनमतको अगाडि शक्तिशाली राष्ट्र अमेरिकाको शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि केही लागेन । छिमेकी मुलुक भारतको पश्चिम बंगालमा ज्योति बसुको ३५ वर्षसम्म गरेको एकछत्र शासन, भारतमै ४७ वर्षपछि कंग्रेस आई गान्धी परिवारबाट फुत्किएको घटनाले पनि राजनीति कसैको पेवा हुँदैन भन्ने भनाइलाई पुष्टि गरिदिएको छ ।

यति बेला नेपाली राजनीतिमा जो–जो व्यक्ति हाबी भइरहेका छन् । तिनीहरु करिब २०४६ सालदेखि नै सक्रिय देखिन्छन् । यो पुस्ताले दिएको राजनीतिक संस्कार नै पछिल्लो पुस्ताको राजनीतिक संस्कार हो । त्यसैले पुरानो पुस्ताले राजनीति भनेको फोहोरी खेल होइन भन्ने मान्यतालाई विश्वास दिलाउन जरुरी छ ।  अब हामीले दलीय व्यवस्थामा कमजोरीका कारणहरु केलाएजस्तै व्यक्तिभित्रका समस्याहरु पनि केलाउन ढिलो गर्नुहँुदैन । राजनीतिमा गाली गर्ने संस्कार हटाउन जरुरी छ ।

एउटा राजनीतिक दलको कुरा चित्त बुझ्दैन भने सभ्य तरिकाले खण्डन गर्न सकिन्छ । तर व्यक्तिलाई पखालेर, खुइल्याएर विचार मर्दैन भन्ने कुरा इतिहासले पटकपटक सिद्ध गरिदिएको छ ।अन्ततः मुलुकलाई समृद्धिको यात्रामा लैजाने जिम्मेवारी भनेको राजनीतिक दलकै हो । राजनीतिमा विचार र एजेन्डा नै प्रधान हुन्छन् । जुन पार्टीको विचार र सिद्धान्त सही छ उसैले सरकारको नेतृत्व गर्न सक्छ । समाजमा परिवर्तनका बहुआयामिक रेखा कोर्न सफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्