सावधानी अपनाऔं



भूकम्पीय दृष्टिकोणले नेपाल जोखिममा रहेको छ । नेपाल भूकम्पीय दृष्टिले सधैं जोखिममा रहेकाले भूकम्पीय जोखिमबाट बच्नका लागि अपनाउनुपर्ने कदमहरूका बारेमा राज्य सधैं चनाखो हुनु पर्दछ ।

२०७२ सालको भूकम्पपछि नेपालमा यसको जोखिम न्यूनीकरण गर्न राज्यले चाल्नुपर्ने कमदहरू जति हुनुपर्ने हो त्यति हुन सकेको देखिँदैन । राज्यले भूकम्पीय जोखिमबाट बच्नका लागि नागरिकलाई जति सचेत गराउनुपर्ने थियो त्यो गर्न नसक्दा बुधबार बिहान पश्चिम नेपालमा गएको भूकम्पले ६ जना मानिसले ज्यान गुमाउन पुगे भने सयौं भौतिक संरचनामा क्षति पुगेको छ ।

कमजोर भौतिक संरचनाका कारण नेपालमा सानो स्केलको भूकम्प जाँदा पनि ठूलो मानवीय क्षति हुने गरेको छ । सरकारले यसतर्फ ध्यान दिन जरुरी छ । पश्चिम नेपाल भूकम्पीय दृष्टिले जोखिममा रहेको विज्ञहरूले पटक–पटक चेतावनी दिएको भए पनि राज्यले त्यहाँका जनतालाई जति सचेत बनाउनुपर्ने थियो त्यो गर्न नसक्दा मानवीय र भौतिक क्षति व्यहोर्नु परेको हो । ४ दशकदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले सो क्षेत्र भूकम्पीय दृष्टिकोणले जोखिममा रहँदै आएको थियो ।

बुधबार बिहान गएको उक्त ठूलो भूकम्पपछि लगातार ३ सय बढी परकम्पन गएको छ । विगतलाई अध्ययन गर्दा पोखरा र भारतको देहरादुनको बीचमा ८ म्याग्निच्युटभन्दा माथिको भूकम्प नगएको ५ सय १७ वर्ष नाघिसकेको छ ।सुदूरपश्चिममा यसअघि ४२ वर्षअघि बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पमा परी १ सय ७० जनाको मृत्यु भएको थियो । विसं २०५३ पुस २१ मा बैतडी केन्द्रबिन्दु भएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । १९९० मा ८ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल भूकम्पको अति जोखिम मुलुकमा रहेको छ ।

त्यसमा पनि सुदूरपश्चिम भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रको रूपमा परिभाषित गरिएको छ । त्यसैले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनु जरुरी छ । संघ र प्रदेश सरकारले सुदूरपश्चिममा गएको भूकम्पबाट पाठ सिकेर अघि बढ्नुको विकल्प छैन । सुदूरपश्चिमका पुराना घरलाई भूकम्प प्रतिरोधी बनाउनु जरुरी देखिएको छ तर राज्यले त्यसलाई बेवास्ता गर्दै आएकाले फेरि पनि सो क्षेत्रमा ठूलो भूकम्प गयो भने मानवीय र भौतिक क्षति हुने देखिन्छ ।

अब सो क्षेत्रमा नयाँ भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी संरचाना निर्माणका लागि राज्यले नीति नै बनाएर कार्यान्वयमा ल्याउनु पर्दछ । २०७२ वैशाख १२ मा गएको विनासकारी भूकम्पपछि नेपालले जसरी मुलुकभरका जनताको सुरक्षामा ध्यान दिनुपर्ने थियो त्यसो गर्न सकिएको देखिँदैन । राज्यको लापर्बाहीका कारण प्राकृतिक विपत्तिमा परि नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ । त्यसैले राज्यले यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्