मंसिर ४ पछि बृद्धभत्ता ५ हजार बढाउने ईश्वर पोखरेलले आश्वासन



काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरु पार्टीको निकै बिरोधका बाबजुद पनि आफूहरुले बृद्धा भत्ता सुरुवात गरेको स्मरण गर्नुभएको छ ।

काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्ध–वृद्धालाई भत्ता दिन सुरुवात गरेको बताउनुभयो । ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले भएको उहाँले बताउनुभयो ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरू गर्दा विरोध भएको स्मरण गर्दै पोखरेलले भन्नुभयो, ‘अन्य दलका कयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ ।

तर, कांग्रेस लगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए । तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ । ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ ।’

केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पु¥याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ । ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताउनुभयो । पोखरेल २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो ।

आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।

ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । नेकपा एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका समस्या समाधान गर्दै मागबमोजिम भवन निर्माण गरिने प्रतिबद्धता पोखरेलले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्