चुनावपछिको आर्थिक अवस्था के होला ?

0
Shares

सरकारी कार्यालयमध्ये जहिले पनि सबैभन्दा बढी भीडभाड हुने भनेकै मालपोत र यातायात कार्यालय हो । तर पछिल्लो समय वा एक वर्षदेखि यी दुवै कार्यालयमा सुनसान देखिन्छ । बरु नागरिकता बनाउन सिडियो कार्यालय र पासपोर्ट बनाउन राहदानी विभागमा भीडभाड देखिन्छ । यसरी मालपोत कार्यालय र यातायात कार्यालय दुवै सुनसान भएको देख्दा त्यहाँ काम गर्ने सरकारी कर्मचारीसमेत छक्क परेका छन् ।

एक वर्षअगाडिसम्म घरजग्गा नामसरी गर्न मालपोत कार्यालयमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो भने सवारीसाधन नामसरी गराउन यातायात कार्यालयमा उभिने ठाउँ हुँदैनथ्यो । एकै दिन घरजग्गा वा सवारीसाधन नामसारी गराएर यातायात र मालपोत कार्यालयबाट अर्बौं रुपियाँ राजस्व राज्यको ढुकुटीमा जान्थ्यो । तर पछिल्लो समय त कुनै दिन यातायात र मालपोत कार्यालयमा एउटा पनि घरजग्गा वा गाडी नामसारी हुँदैन । काम नभएर सरकारी कर्मचारीहरु दिनभरि गफसफ गरेर बस्छन् वा हिटर तापेर बस्छन् । साथै मालपोत वा यातायात कार्यालयको छेउछाउमा सटर लिएर व्यापार गर्नेहरु पनि झिँगा धपाएर बस्छन् ।

त्यस्तै यता मालपोत र यातायात कार्यालयमा लेखनदास गर्नेहरु कार्यालयमा मानिस नआएपछि काम नै छोडेको बताउँछन् । यसरी घरजग्गा र गाडीको नामसारी कार्य ह्वात्तै घट्यो अनि बजारमा मन्दी आयो ।सरकारी कर्मचारीहरु मालपोत कार्यालय, यातायात कार्यालय र भन्सारमा काम गर्नका लागि नेताहरुलाई घूस दिन्थे वा भन्सुन गर्थे तर अहिले त मालपोत वा यातायात कार्यालयकै सरकारी कर्मचारीहरु त्यहाँबाट सरुवा हुन पहल गरिरहेका छन् । घरजग्गा वा गाडीको किनबेचमा मन्दी आउनुको कारण पनि एउटै छ । बैंक, फाइन्स वा सहकारीमा कर्जा दिन पैसा नहुनु । जनताले पनि आफ्नो पैसा वा डिपोजिट धमाधम निकालेपछि बैंक टाट पल्टियो र सहकारी भाग्यो ।

यसरी वित्तीय संस्थाबाट निकालेको पैसा जनताले आफ्नो घरमा लुकाइसकेका छन् । जताततै अहिले जनता नै भन्छन्, नेपालको अर्थतन्त्र श्रींलका भयो । त्यस्तै यता नबिल बैंक, सिन्धु बैंक र माछापुच्छ्रे बैंक पनि शेयर, घरजग्गा वा गाडीमा लगानी गरेर चुर्लुम्मै डुबेको सुनिन्छ । साथै यी बैंकहरुमा पैसा निकाल्न जनताको भीड छ । त्यस्तै यता निजी वा प्राइभेट बैंकहरु पनि सबै डुबेको र सरकारी बैंकहरु पनि घाटामा गएको सुनिन्छ भने सहकारी भागेको भनिन्छ । जसले गर्दा अब कसले घरजग्गा किन्ने वा गाडी किन्ने ?

कति बैंकहरुले त जनताले डिपोजिट गरेको रकम सबै हिनामिना वा घोटाला गरेर खाएको भनेर समेत सुनिन्छ भने सहकारीले जनताको पैसा नै लिएर भागेको भनिन्छ । साथै यता घरजग्गा, गाडी वा शेयरको कारोबार गर्ने दलालीहरु पनि वित्तीय संस्थाको ऋण तिर्न नसकेर देश नै छोडेर भागेको भनिन्छ । एक वर्षअगाडि ७५ लाख आनामा किनेको घडेरी अहिले पैसाको खाँचो परेर किनेको रेटभन्दा आधा रेटमा बेच्छु भन्दा पनि किन्ने मानिस पाउँदैन भनिन्छ । जताततै घरजग्गा बेच्नेहरु भेटिन्छन् त किन्ने कोही छैन । धेरै मानिस भन्छन्, घरजग्गा, गाडी र शेयरमा नाफा हुन्छ भनेर लगानी गरियो तर आफ्नो लगानी त डुब्यो नै, साथै आज भाग्नुपर्ने दिन पनि आयो ।

पहिला–पहिला घरजग्गा, गाडी र शेयर कारोबार गर्ने मानिसहरु भट्टी पसल, टोल वा चोक वा विभिन्न अफिसहरुमा भेटिन्थे तर अहिले त घरजग्गा, गाडी र शेयरको कारोबार गर्न अफिस खोलेर बसेकाहरु पनि घरभाडा तिर्न नसकेर भागिसकेका छन् । साथै कति घरजग्गा, गाडी र शेयरको कारोबार गर्ने दलालीहरु त चियासमेत पैसा नभएर उधारो खान्छन् । त्यस्तै यता घरजग्गा बेच्छु भन्दा पनि बजारमा किन्ने मानिस नपाएपछि कति मानिस त मालपोत कार्यालयमा घरजग्गा किन्ने मानिस भेटिन्छ कि भन्दै आउँछन् ।

उपत्यकाभित्र वा देशैभरि रहेका मालपोत वा यातायात कार्यालयमा अहिले सुनसान देखिन्छ । हेर्दाहेर्दै अर्बपति सडकपति हुन पुग्दै छन् । योभन्दा ५० वर्षअगाडि रोपनीको १ लाख नपर्ने जग्गालाई मानिसले २ वर्षअगाडि आनाकै करोडमा किने । तर अहिले त पहिलाकै रेटमा घरजग्गा आइसकेको छ । जसले गर्दा आनाको करोड हालेर घरजग्गा किन्ने मानिस अहिले चुर्लुम्मै डुबेका छन् । आफ्नो पैसा त डुबी नै हाल्यो तर वित्तीय संस्थाबाट घरजग्गा किन्दा लिएको ऋण कसरी तिर्ने भनेर अहिले यिनीहरु अन्योलमा छन् ।

अहिले वित्तीय संस्थाबाट घरजग्गा, गाडी र शेयर धितो राखेर कर्जा खानेहरु भन्छन्, अब हामी वित्तीय संस्थाको ऋण तिर्न सक्दैनौँ, त्यसैले अब हामी घरजग्गा, गाडी वा शेयर नै बैंकको जिम्मामा लगाउँछौँ । त्यस्तै यता शेयरमा लगानी गर्नेहरुको पनि त्यही हालत छ । एक वर्षअगाडि कित्ताको ४ हजारमा किनेको शेयर अहिले सय रुपियाँमा बेच्छु भन्दा पनि बिक्री हुँदैन । शेयर लगानीकर्ताहरुको पनि भगाभाग भइरहेको छ । त्यस्तै एक वर्षअगाडि ५० लाख हालेर किनेको सवारीसाधन अहिले सस्तोमा बेच्छु भन्दा पनि किन्ने कोही छैन ।

कति त वित्तीय संस्थाको वा मानिसको ऋण तिर्न नसकेर लुकेर हिँड्छन् त कतिले देश नै छोडेकोे सुनिन्छ । साथै बजारमा कतिले त वित्तीय संस्थाको ऋण तिर्न नसकेर आत्महत्यासमेत गरेको सुनिन्छ । हिजो नाफा हुन्छ वा छिटो कमाइन्छ भनेर व्यक्ति वा वित्तीय संस्थाले आँखा चिम्लेर घरजग्गा, गाडी र शेयरमा लगानी गरे तर अहिले यिनै क्षेत्रमा डुब्दा यिनीहरुले पानीसमेत पिउन पाएनन् ।

कति मानिसहरु त अब घरजग्गा, गाडी र शेयरको मूल्य वर्षौंसम्म बढ्दैन भन्छन् । त्यसैले उनीहरुले वित्तीय संस्थाको ऋण तिर्न सक्दैनौँ भनेर हात उठाएका हुन् । आगामी मंसिर ४ गते निर्वाचन हुँदै छ तर सोभन्दा पछाडि कुनै पनि पार्टीले बहुमत ल्याउँदैन र बलियो सरकार बन्दैन । चुनावपछाडि झन् देशमा आर्थिक संकट आउँछ । आर्थिक संकट आएपछि घरजग्गा, गाडी र शेयरको मूल्य झन् घट्छ । साथै निर्वाचनपछाडि बहुमतको सरकार बन्दैन र मिलिजुली सरकार बन्छ । जसले गर्दा आर्थिक संकट आउँछ, विदेशी ऋण बढ्छ र सरकारले विदेशी ऋणको सावाँ ब्याज तिर्न नसकेपछि देश श्रींलका हुन्छ ।

हुन त अहिले नै अर्थविद्हरु नेपालको अर्थतन्त्र डुबिसकेको वा श्रींलका भइसकेको बताउँछन्, साथै एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली त एमाले पार्टीले चुनाव जितेन भने देश श्रींलका हुन्छ भन्छन् । यही कुरा जनताको कानमा पुगेपछि वा देशको अर्थतन्त्रको बारेमा थाहा पाएपछि वित्तीय संस्थामा पैसा निकाल्न जनताको लर्को लागेको हो ।

पछिल्लो समय जनताले वित्तीय संस्थामा पैसा राख्न छोडिसकेका छन् र आफूले राखेको पैसा पनि भटाभट निकालिरहेका छन् । बच्चादेखि बूढोले थाहा पाएका छन्, वित्तीय संस्था डुब्यो, त्यसैले पनि घरजग्गा, गाडी र शेयरको मूल्य घट्यो । अब देशको अर्थतन्त्र कस्तो होला र देशको राजनीति कतातिर जाला भनेर सबै चिन्तित छन् । वित्तीय संस्थाले पनि आफ्नो कर्जाको सम्पूर्ण लगानी घरजग्गा, गाडी र शेयरमा गरेका छन् तर जनताले आफ्नो पैसा निकाल्छन् भनेर यिनीहरुले जनतासमक्ष आफू नडुबेको बताउँछन् ।

घरजग्गा, गाडी र शेयरमा लगानी गर्ने वित्तीय संस्था त पछिल्लो समय कर्मचारीलाई तलब दिन नसक्ने, घरभाडा तिर्न नसक्ने र डिपोजिटको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । हेर्दाहेर्दै व्यक्ति त डुबी नै हाले तर वित्तीय संस्था पनि डुब्ने भए । अब चुनावपछिको अवस्था के होला ? अनुमान गर्न सक्ने अवस्था छैन ।