तिनाउ–दानव करिडोरमा सुरक्षित बस्ती बनाउछौं : उपाध्यक्ष पौडेल



बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताउनु भयो । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकताअनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि आफू गम्भीर रहेको बताउनु भयो ।

नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनु भएका पौडेलले विकास विरोधी र अफवाह फैलाउनेहरुका नियोजित भ्रममा नपर्न रुपन्देहीवासीआई आग्रह गर्नु भयोे । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मंगलबार बुटवल उपमहानगरको वडानम्बर ११ तथा तिलोत्तमा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै यहाँको विकाससँगै बस्ती व्यवस्थापनको विषयमा आफू सचेत र गम्भीर रहेको बताउनु भयो ।

विशेषगरी बुटवलमा सुरु गरिएको महत्वकांक्षी विकास योजना तिनाउ–दानव करिडोरका जनतालाई विभिन्न ढंगबाट आतंकित पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले करिडोरका नाममा कुनै पनि जनतालाई घरबारविहीन नबनाइने स्पष्ट पार्नु भयो ।

करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत बुटवलभित्रै अहिलेकोभन्दा थप व्यवस्थित र विकास पूर्वाधारले सम्मपन्न स्थानमा जनताको इच्छाअनुसार नै व्यवस्थापन गरिने उहाँले बताउनु भयो । यसैगरी मोतिपुर औद्योगिक क्षेत्रका प्रभावित जनतालाई समेत व्यवस्थापन गरेर मात्रै काम अघि बढ्ने स्पष्ट पार्नु भयो ।

सिंगो रुपन्देहीलाई बिकासको रोलमोडलको रुपमा अगाडि बढाउने योजना अनुसार काम भएको बताउनु भयो । रुपन्देहीमा भौतिक पूर्वाधार तथा मानवीय विकासका लागि विगतदेखि काम गर्दै आएको स्मरण गराउँदै उहाँले विकासमा कसैले पनि राजनीति नगर्नसमेत आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्