गठबन्धन एक सय ३० स्थानमा अगाडि छ : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पार्टी र गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन १ सय ३० ठाउँमा अग्रस्थानमा रहेको बताउनु भयो् ।

त्यस्तै, उहाँले एमाले २१ र बाँकी १४ स्थानमा अन्य दलको अग्रता रहेको दावी गर्नु भयो । उहाँले राप्रपा ५–६ क्षेत्रमा तेस्रो–चौथो स्थानमा रहेको र बाँकी ठाउँमा निकै पछाडि रहेको बताउनु भयो ।

नेकपा (एकीकृत समाजवादी) रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहनु भएका कांग्रेसका केन्द्रीय सदस्य खाँणले यो अग्रता मेहनत गर्दै जाँदा अझै बढ्ने र गठबन्धनले अत्याधिक बहुमत ल्याउने समेत बताउनु भयो ।

उहाँले माधव नेपाल प्रधानमन्त्री र आफू सिंचाईमन्त्री भएको बेला रुपन्देहीमा धेरै बिकासका आयोजना अगाडि बढेको पनि बताउनु भयो । भैरहवा–परासी सडक खण्डको विस्तार, बेलहिया–बुुटवल ब्यापारिक मार्ग बिस्तार, जनताको तटबन्धन जस्ता महत्वपूर्ण आयोजानहरु नेपाल प्रधानमन्त्री र आफू सिंचाईमन्त्री भएको बेला सुुरु गरिएको गृहमन्त्री खाँणले बताउनु भया ।

‘अब पनि सहमती र सहकार्यका साथ गठबन्धनलाई अगाडि बढाएर मुलुुकलाई आगामी पाँच वर्षभित्र आर्थिक रुपमा पनि बिकसित बनाइने छ’, उहाँको कथन छ । त्यस्तै, एक अर्को प्रशंगमा उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भैरहेको बताउनु भयो ।

उहाँले राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको पनि जानकारी दिनु भयो । गृहमन्त्री खाँणले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग २ दिनअघि भैरहवामा वार्ता भएको र उक्त बार्ता सकारात्मक रुपमा अगाडि बढेको बताउनु भयो ।

उहाँले कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायत विषय वार्तामा छलफल भएको बताउनु भयो । पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरुलाई छोडिसकेको र अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकिएको उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्