जसपाका जिल्ला अध्यक्षद्वारा पार्टी परित्याग



रौतहट । आसन्न मंसिर ४ मा देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलसहित अन्य नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष धर्मेन्द्रसहित अन्य नेताहरु देवाही गोनाही नगरपालिकाको नगर अध्यक्ष महेश यादव, अशोक पटेल रहेका छन् । उनीहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जसपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

धर्मेन्द्रले २०७८ फागुन १५ गते नगरपालिकाकै वडा नम्बर-१ का अध्यक्ष शेख नुरुल्लाहसँग दुई लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेपछि उनी निलम्बित भएका थिए ।

आज (मंगलबार) जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्दै मधेशको पक्षमा स्वतंन्त्र रूपले लागिरहने प्रतिबद्धता गरे ।

उनीसँगै देवाही गोनाही नगर कमिटी अध्यक्ष महेश यादव, अशोक पटेल लगायतले पार्टीबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मुखैमा उनीहरुको राजीनामाले पार्टीलाई क्षति पुगेको जसपाका नेताहरुले आकलन गरेका छन् ।

पार्टीबाट राजीनामा दिएपछि धमेन्द्र पटेलले भने, ‘पार्टीको आन्तरिक क्रियाकलापले जनताको हित नहुने भएकाले स्वतन्त्र रहने छु ।’ पार्टी परित्याग गर्नेहरुले रौतहट क्षेत्रन नम्बर-३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

यसका साथै जिल्ला अध्यक्षलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताले निर्वाचनको मुखैमा पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्