सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न गठबन्धनका नेताहरुको अनुरोध



डोटी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै डोटीका राजनैतिक दलका नेताहरु पनि आफ्ना चुनावी अभियान लिएर गाउँ–गाउँमा पसेका छन् ।

देशैभर एकै चरणमा हुने निर्वाचनमा जिल्लामा भाग लिएका नेपाली काग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)सहितको गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उमेदवारहरु अहिले चुनावी नारासहित मतदाताको घरदैलोमा पुग्ने गरेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रेमबहादुर आले सहितका नेताहरुले हिजोआज मतदातासँगको भेटघाट र घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै आएका छन् ।

जिल्लाको शिखर नगरपालिकामा रहेका मतदाताहरुसँगको भेटघाटका क्रममा पूर्वमन्त्रीसमेत रहनु भएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार आले सहितका गठबन्धनका नेताहरुले सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न मतदाताहरुसँग अनुरोध गर्नुभएको छ ।

सही नेतृत्वमा रहेर जनताको दुःख सुखमा काम लाग्ने, जनताको सेवामा निरन्तर खट्ने र विकास निर्माणको कामलाई प्राथमिकता दिने उमेदवारलाई चुनेर संसद्मा पठाउन नेताहरुले मतदाताहरुसँग अपिल गर्न थालेको शिखर नगरपालिका–१ का नेत्र शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सही नेतृत्व छान्न नेताहरुले आग्रह गरेका छन्, जनताले पनि सुख दुःखमा साथ दिने र बिकास गर्ने नेताहरुलाई पक्कै जिताउने छन् ।’ गाउँमा पुगेका नेताहरुलाई स्थानीयहरुले ठाउँठाउँमा फुलमाला लगाएर स्वागत गर्दै शुभकमना समेत दिनुभएको थियो ।

यसै सिलसिलामा गठबन्धनको टोलीले आज मंगलबार यहाँको शिखर नगरपालिकामा रहेका ६ वटै वडामा मतदाता भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरिरहेका छन् भने अन्य दलका नेताहरु यहाँका अन्य गाउँबस्तिमा पसेका छन् ।

उक्त घरदैलो कार्यक्रममा गठबन्धनको तर्फबाट डोटी निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य उमेदवार रहनु भएका नरेन्द्रबहादुर सिंहले गठबन्धन देश र जनताको हितका लागि भएका कारण आफूहरुलाई निर्वाचित गराएर पठाउन आग्रह गर्नुभयो । यसैगरी उहाँले मूलुकको स्वाधिनता जोगाउन काग्रेस सहितको पवित्र गठबन्धनलाई मतदान गरे देशमा विकासको कायापलट हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्