उम्मेदवार चुनावी प्रतिस्पर्धामा

0
Shares

नवलपरासी ।

पूर्वी नवलपरासीको नवलपुरका संघ तथा प्रदेश सभा क्षेत्रमा निर्वाचन माहोल तातिएको छ । विभिन्न दलसहित स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

संघीय क्षेत्र नम्बर १ बाट उठेका कांग्रेस केन्द्रीय सदस्य डा.शशांक कोइराला,एमालेका संविधान सभा सदस्य कृष्ण पौडेल,राप्रपाका मोहनी लाल भुसाल अहिले घरदैलोमा व्यस्त छन् । यसै गरी क्षेत्र नं.२ मा नेपाली कांग्रेसका विष्णु कुमार कार्की,एमालेका तिलबहादुर महत, राप्रपाबाट विष्णु अधिकारी,राजपाबाट टकबहादुर थापा, हानेपा बाट तुलसी भुसाल,जगन्नाथ  पोख्रेल,रास्वपाका राजन गौतम, लगायतका उम्मेदवार चुनावी मैदानमा छन ।

संघ तथा प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टी , मंगोल नेशनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी ,नेपालका लागि नेपाली पार्टीका उम्मेदवारहरू पनि जनता माझ पुगी रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उत्थान पार्टी,जनता समाजवादी पार्टी लगायत कतिपय स्वतन्त्र उम्मेदवारहरू आफ्ना एजेन्डा बोकेर जनतामाझ पुगेका छन् ।

देश भर स्वतन्त्र अभियान नै चलेका बेला यहाँ पनि लौरो र घण्टी चिन्ह सहित राष्ट्रिय झन्डा काँधमा बोकेर पुराना होइन,नयाँ अनुहार र नयाँ बिचार बोकेका युवालाई पालो दिनुस् भन्दै उम्मेदवारहरू घरदैलोमा पुगेका छन् । प्रदेशतर्फका उम्मेदवारहरू झनै चुनावले दौडादौड पारेको बताउँछन् । आफ्नो क्षेत्रमा संघीय उम्मेदवार आएको थाहा पाउन साथ कुदिहाल्नु पर्ने हुन्छ। संघ र प्रदेशका उम्मेदवारहरू एक ठाउँभै मत माग्दा जनतालाई विश्वस्त बनाऊ सहज हुने कतिपय उम्मेदवारको भनाई छ ।

यसरी उम्मेदवारहरू आफ्ना घोषणा पत्र र आकर्षक नारा सहित जनताका घरदैलो, खेतबारीमै पुगी रहँदा मतदाताले भने नयाँ उम्मेदवारहरूको नाडी छाम्ने र पुरानालाई शब्द बाणले हान्ने गरेका छन् । जनताले जाँचेका हुन् , अघिल्लाले केही सिन्को भाँचेनन् भनेर राख पोखेका हुन् हतपत आस्था कसैले बदल्दैन अन्तमा आफ्नै पार्टीलाई भोट दिने हुन् कावासोतीका  कांग्रेस कार्यकर्ता दीप बस्यालले भने । मत माग्ने क्रममा उम्मेदवारहरूले राज्यको नीति निर्माणका कुरा भन्दा स्थानीय विकासकै कुरामा समय खर्चेका छन्,यहाँका बाटो,कुलो,विद्यालय,भवन,कल्भर्ट,कृषि मल बिउका जनमुद्दा सम्बोधन गर्ने र बाचा एवं प्रतिबद्धता गर्नमै उम्मेदवारको दिन बित्ने छ ।

यद्यपि गत स्थानीय चुनावी परिणाम हेर्दा यहाँ गठबन्धन सहितका दल र एमाले बीचनै मुख्य प्रतिस्पर्धा हुने स्थानीयहरू बताउँछन् ।राप्रपा लगायतका दलहरू पनि पहिलाको परिस्थिति छैन जनताको मन बदलिदा मत पनि बदलिन्छ भनी जित प्रति आशावादी बनेका छन् ।

यसै बीच राप्रपाले नवलपुरको डण्डामा पहिलो चुनावी सभा गरेको छ । हतार हतार हेलिकप्टरबाट ओर्लेका पार्टी अध्यक्ष लिङ्देनले मतदातालाई यस पटक मन र मत फेरेर राप्रपालाई जिताउन आग्रह गरेका छन् । यस अघि नै एक पटक पहाडी कार्यकर्ता भेटेर फर्केको एमाले अहिले तराईका घरदैलोमै व्यस्त छ भने तराईको पहिलो घरदैलो सकेर पहाड चढेको कांग्रेस सहितको गठबन्धन पहाडी भेटघाट पछि  सोमबार तराई झरेको छ ।

यस्तैमा आचारसंहिताले एक उम्मेदवारले मात्र २ ओटा सवारी प्रयोग गर्न पाउने नियमले सवारीका लावालस्कर र तड्क भडक यस पटकको चुनावमा कमी आएको अरू खोलाका प्रेम शर्माले बताए ।त्यसो त निर्वाचन आयोगले थालेको निरन्तर अनुगमन तथा आर्थिक पाटोमा गरेको कडाइले उम्मेदवारहरू केही खुम्चिएको र कोही हच्किएको स्थानीयहरू बताउँछन्  ।