धुलो धेरै खाइयो बाटो बनाइदेऊ : मतदाता

१४ महिनादेखि सडक अलपत्र

0
Shares

पोखरा । 

सत्तारुढ गठबन्धन र नेकपा एमालेले यति बेला घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । कास्कीमा एमाले अघिअघि गठबन्धन पछिपछि घरदैलोमा पुग्ने गरेका छन् ।

सोही क्रममा पोखरा महानगरपालिका–१६ मा एमाले कास्की क्षेत्र २ (ख) का उम्मेदवार मीना गुरुङ कार्यकर्तासहित तामझामका साथ केआईसिंह पुलदेखि घरदैलो शुरू गर्दै सो क्षेत्रमा पुग्नुभयो । आइतबार गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार बिन्दुकुमार थापाले पनि गटबन्धनका कार्यकर्ताका साथ केआईसिंह पुलबाटै घरदैलो अभियान शुरू गर्नुभयो ।

मतदातासँग गफिँदै मत माग्दै जाँदा सुन्दुरफिटदेखि गोर्खा बोर्डिङ विद्यालय जाने सडकमा मत माग्न जाँदा स्थानीयमा भने खुसी देखिएन । आफूले पाएको चुनावी घोषणापत्र हेर्दै स्थानीयले असन्तुष्ट व्यक्त गरिरहेका थिए ।स्थानीय युवा सौरभ गुरुङले गफिँदै भन्नुभयो– ‘यिनीहरूले केही गर्दैनन् । यो घोषणापत्रको कामै छैन । ठूला सपना देखाएर के गर्ने यसरी धुलो खाएर बस्न बाध्य भएका छौं ।’ त्यसैमा आफ्नो तर्क मिलाउँदै अनिल गुरुले थप्नुभयो– ‘कांग्रेस आए पनि उही हो एमाले आए पनि उही हो आखिर हाम्रो बाटो बनेन क्यारे ।’

ठेकेदारको लापरवबाहीका कारण आम सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । लामो समयदेखि सडक अलपत्र छाडिदिँदा दैनिक रूपमा दुईपाङ्ग्रे सवारी त्यहाँ लड्ने व्यवसायी लक्ष्मी बाँस्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘समस्या धेरै छन् । दिनको एउटा दुईटा दुर्घटना भएकै हुन्छन् । बाइक स्कुटर लडेको लड्यै हुन्छ । बर्खामा हिलो, हिउँदमा धुलोले अति गरेको छ ।’ आफूहरू सडक विभागमा पटक-पटक धाउँदा एक हप्ता, दुई हप्ता भन्दाभन्दै १४ महिनासम्म पनि सडक नबनेको उहाँको भनाइ थियो ।

ठेकेदार फरार

ठेकेदारको लापरबाहीका कारण विगत १४ महिनादेखि पोखरा महानगरपालिका–१६ दीपमा सडक अलपत्र परेको छ । विभिन्न स्थानमा गरी ७ किलोमिटर सडक ६ लेनको अस्फाल्ट पिचसहित नाला बनाउने ७ करोड रुपियाँको टेन्डर शिवशक्ति इन्फा डेभलपमेन्ट प्राइभेट लिमिटेडले पाएको थियो । उक्त कम्पनीका ठेकेदार लक्ष्मी पाठकले अन्य ठेकेदारलाई काम दिएका थिए तर काम नभएपछि स्थानीय आक्रोशित बनेका छन् । ठेकेदारको लापरबाहीका कारण उक्त क्षेत्रमा दैनिक रूपमा सानो ठूलो दुर्घटना भइरहन्छन् । दीप लामाचौर सडक विस्तार एवम् नाला निर्माण आयोजनाअन्तर्गतको काम ३ महिनामा सक्नुपर्नेमा ठेकेदारको लापरबाहीले १४ महिनासम्म पनि सम्पन्न हुन सकेको छैन ।

वर्षेनी जान्छ ज्यान

सडकको छेउमा रहेको नालीमा खसेर वर्षेनी मानिसको मृत्यु हुँदै आइरहेको छ । अघिल्लो वर्ष एक बालिका दिउँसो उक्त नालीमा खसिन् । उज्यालोमै खसेका कारण उनको जीवितै उद्धार भयो । २०७७ सालमा मोटरसाइकलसहित एक युवा सोही नालीमा खस्दा बेपत्ता भए ।

मोटरसाइकल भेटियो तर युवा भेटिएनन् । ०७६ सालमा गण्डकी बोर्डिङ स्कुलका एक कर्मचारी पनि सोही नालीमा खस्दा बगेर मृत्यु भयो । भदौमा पनि एक बालकको मृत्यु भएको छ । अघिल्लो वर्ष टेन्डर पाएको शिवशक्ति इन्फो प्रालिले सडक विस्तार, अस्फाल्ट पिच र नाला बनाउनुपर्ने भए पनि सडक विस्तार र नाला बनायो । निर्माण कम्पनीले नालामा राख्नुपर्ने ढकनी (स्ल्याब) नराखेकै कारण बालकले ज्यान गुमाएको स्थानीयको आरोप छ ।

भदौमा आमा र दिदीसँगै तीज मनाएर घर फर्किंदै गरेका ११ वर्षे रविन तिवारीको नालाले बगाएर मृत्यु भएको थियो । उनको चिप्लिएर नालामा खस्दा मृत्यु भएको हो । बगाएको ४५ मिनेटपछि रविनको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो । उक्त नालामा अहिले ढकनी (स्ल्याब) राखिएको छ । राखिएको स्ल्याब नै जोखिमपूर्ण छ ।

ठेकेदारको लापरबाही

पारसमणि हमाल, डिभिजन प्रमुख

सडक डिभिजन कार्यालय पोखराका प्रमुख सिभिल डिजाइन इन्जिनियर पारसमणि हमालले ठेकेदारको लापरबाही देखिएको बताउनुभएको छ । उहाँले ठेकेदारले समयमा काम नगरेका कारण आफूले कारबाहीका लागि पत्राचार गरेपछि मात्रै सम्पर्कमा आएको बताउनुभयो । ‘त्यहाँ ठेकेदारले समयमा काम गरेन त्यसपछि मैले समयमा काम गरेन भनेर पत्र काटेपछि सम्पर्कमा आएका छन् । पोखरा आउँदै छन्’, उहाँले भन्नुभयो– ‘भोलि उसलाई (लक्ष्मी पाठक) लाई राखेर काम गर्ने चित्तबुझ्दो तालिका दिएर काम गर्छ भने ठीक छ नभए ठेक्का रोक्ने गरी कारबाही प्रक्रियामा जानेछ ।’