ओलीको दाबी हावादारी गफ : डा. महत

0
Shares

काठमाडाैं  ।

नेकपा एमालेले एकल बहुमत ल्याउने एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबीलाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हावादारी गफको संज्ञा दिनुभएको छ ।

सोमबार पोखरामा पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले मङ्सिर–४ को चुनावमा एमालेले एकल बहुमत ल्याउने र कांग्रेसभन्दा धेरै ठूलो पार्टी बन्ने बताउनुभएको थियो ।

विभिन्न सर्वेक्षणको नतिजा भन्दै एमालेले कांग्रेसको जति मात्र भोट ल्याउँछ भन्ने भ्रम फैलाउन खोजेको टिप्पणी गर्दै ओलीले भन्नुभएको थियो– ‘तर, नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि हुन्छ । एमालेले एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अर्कालाई सरकारमा सामेलै गराउँदैन भन्ने होइन, सामेल गरिन्छ । तर, फेरि पनि त्यो एमालेकै सरकार बन्छ ।’

ओलीको उक्त भनाइलाई जनता झुक्याउने हावादारी गफको रूपमा टिप्पणी गर्दै डा. महतले धनुषामा पत्रकारहरूसँग आगामी निर्वाचन पछिको सरकार नेपाली कांग्रेसकै नेतृत्वमा बन्ने दाबी गर्नुभयो । उहाँले ओलीको हावादारी गफतिर नलागी गठबन्धका पक्षमा मतदान गर्न आम मतदातालाई अग्रहसमेत गर्नुभयो ।

उहाँले देशभर गठबन्धनको पक्षमा माहोल बनेको देखेपछि आत्तिएर ओलीले दैनिकजसो फरक फरक कोणबाट नागरिकलाई फेरि पनि झुक्याउने अभिव्यक्ति दिइरहेको बताउनुभयोे । मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने तर्क राख्दै महतले भन्नुभयो– ‘संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको हो ।

यो गठबन्धमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु ।’ मङ्सिर ४ पछि बन्ने गठबन्धन सरकारले देशमा राजनीतिक स्थिरता कायम गर्ने दाबी गर्दै उहाँले भन्नुभयो– ‘मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ । काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन । देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ ।’