वाणिज्य विभागद्वारा करोडौंको रङ नियन्त्रणमा

बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन एसियन पेन्ट्स

0
Shares

काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्स नेपालको गोदाममा छापा मारेर करोडौं रुपियाँ बराबरको हजारौं डब्बा गुणस्तरहीन रङ बरामद गरेको छ । विभागले शुक्रबार काठमाडौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित कम्पनीको गोदाममा छापा मारेर बजार पठाउन तयारी अवस्थामा राखिएको करिब २ करोड रुपियाँबराबरको ८ हजार वटाभन्दा बढी डब्बा बरामद गरेको हो ।

विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार नियमित बजार अनुगमनका क्रममा एसियन पेन्टस्को रङका डब्बामा मूल्य र मिति स्क्र्याच गरेको भेटिएपछि अनुसन्धान गर्दै जाँदा गोदाममा ठूलो परिमाणमा गुणस्तरहिन रङ फेला परेको थियो ।ठाउँठाउँका खुद्रा रङ पसलमा एसियन पेन्ट्सको रङका डब्बामा कैफियत फेला परेपछि विभाग तातिएको थियो ।

शुरूमा एकदुई ठाउँमा मात्र हो कि भनेर सामान्यरूपमा लिएको विभागले थप पसलमा अनुगमन गर्दा सबैतिर त्यस्तै प्रकारका डब्बा फेला पारेपछि अनुसन्धानमा जुटेको थियो । गुणस्तरहीन एवम् रिलेबरिङ गरेका रङ कहाँबाट आयो भनेर सोधपुछ गर्दा कम्पनीबाटै यस्तै रङ आएको सबै पसलेले जवाफ दिएपछि विभागको टोलीले एकैपटक कम्पनीका दुई गोदाममा छापा मारेको स्रोतले बतायो ।

विभागले नियन्त्रणमा लिएको रङलाई बबरमहलस्थित कार्यालय परिसरमा सुरक्षित राखेर कारबाही प्रक्रिया अगाडि बढाएको स्रोतले जनायो । स्रोतका अनुसार गुणस्तरहीन रङलाई रिलेबरिङ गरी अवैध बिक्रीवितरण गर्दै आएको एसियन पेन्ट्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्न प्रक्रिया शुरू भएको छ ।

नियन्त्रण लिइएको रङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी विभागले नष्ट गर्ने तथा के कति परिमाणमा यस्ता गुणस्तरहिन रङ बजारमा पठाइएको थियो । अब बजारमा कति छन् त्यसबारेमा पनि विभागले थप अनुसन्धान गर्ने जनाएको छ ।मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गुणस्तरहीन एसियन पेन्टस्को रङका बजारमा छ्यापछ्याप्ती रहेकाले तत्काल यसको बिक्रीवितरणमा रोक लगाउनुपर्ने उपभोक्ता अधिकारकर्मीको माग छ ।

काठमाडौं अहिले काठमाडौं उपत्यकाका केही स्थानमा मात्र जानकारीमा आएको छ । घटनाक्रम हेर्दा उद्योगले नियतवस म्याद गुज्रिएको गुणस्तरहीन उत्पादन बजारमा पठाएकाले बिक्री रोक्नुको विकल्प नरहेको उनीहरू दाबी छ ।वातावरणविद् एवम् उपभोक्ताकर्मी नवराज पोखरेलले नेपाल समाचारपत्रसँग कुरा गर्दैैैैैैैैैैैैैैै मानव स्वास्थ्य र वातावरणमा समेत प्रत्यक्ष असर गर्ने एसियन पेन्टस्को रङको बिक्रीवितरणलाई रोकेर थप अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

आफूलाई अन्तर्राष्ट्रिय स्तरको रङ दाबी गर्ने एसियन पेन्टस्ले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै म्याद गुज्रिएको उत्पादन पठाएकाले उसलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो ।‘आम उपभोक्ताले रङलाई सामान्य रूपमा लिनुहुन्छ । घर, अफिसको सौन्दर्यका दृष्टिले मात्र रङलाई लिनुहुन्छ । तर, गुणस्तरहीन रङले मानिसको छाला, श्वासप्रश्वास, आँखामा प्रत्यक्ष असर पु-याउँछ । अझ एलर्जीको समस्या हुनेलाई थप असर गर्छ । त्यस्तै, रङमा प्रयोग हुने सिसाका कारण मानव स्वास्थ्य र वातावरणमा समेत असर गर्छ,’ पोखरेलले भन्नुभयो ।

यसअघि गुणस्तर र तौलमा समेत कैफियत देखिएपछि २०७६ साउनमा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगन्जले सो उद्योगविरुद्ध मकवानपुर जिल्ला अदालत हेटौंडामा मुद्दा दायर गरेको थियो । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्टस् उद्योगले नापतौल ऐन २०२५ ले निदृष्ट गरेकोभन्दा विपरीत काम गरेको भन्दै मुद्दा दायर गरेको थियो । बजारमा उद्योगको गोदाममा गुणस्तरहीन उत्पादन भेटिएको विषयका बारेमा नेपाल समाचारपत्रले पटक–पटक उद्योग व्यवस्थापनसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।