मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा मतदाता अन्यौलमा

0
Shares

गोरखा।

निर्वाचन आयोगले मंसिर ४ गतेको आम निर्वाचनका लागि लक्षित गरी मतदाता शिक्षा कार्यक्रम संचालन गरेको दाबी गरेपनि गोरखाको ग्रामीण भेगमा भने मतदाता शिक्षा कार्यक्रम संचालन नहुँदा मतदाताहरु अन्यौलामा परेका छन् । यसपाली मतदाताहरुले चार ठाउँमा मत दिनुपर्ने भएपनि यस बिषयमा जानकारी नगराइदा मत कसरी खसाल्ने भन्ने बिषयमा मतदाताहरुमा अन्यौलता छाएको हो ।

यसपालीको मतपत्रमा उम्मेदवार भन्दा बाहेकको चुनाव चिन्ह हुन्न भन्ने सुनेका कारण पनि थप अन्यौलता सृजना भएको अजिरकोट गाउँपालिका वडा नम्बर २ डिहीटारका मतदाता बिष्णुप्रसाद अधिकारीले बताउनुभयो । उहाँले आजसम्म आफूले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको ब्यक्ति नभेटाएको बताउनुभयो ।
यस पटक दुईवटा सरकार गठनका लागि चुनाव भएपनि यस क्षेत्रका मतदाताहरु भने यस बिषयमा अनबिज्ञ रहेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भएपनि मतदाताहरु भने प्रतिनिधि सभाका लागि मात्रै मतदात हुने संझिएका छन् ।

अधिकांश ज्येष्ठ मतदाताहरुको मत घर बाहिर रहेका पढेलेखेका र युवाले खसाल्ने भएकाले पनि भोट खसाल्ने दिनसम्ममा उनीहरुले थाहा पाएर मत बदर हुने संभावना भने कम रहने निर्वाचनमा खटिएका कर्मचारीहरुको भनाइ रहेको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढंगबाट संचालन नहुँदा भने मतदाताहरुमा अन्यौलता छाएको हो । मंसिर ४ को चुनावकालागि भने यस पटक मतदाताहरुले प्रतिनिधि सभा तर्फ प्रत्यक्ष एक,समानुपातिक एक अनि प्रदेश तर्फ प्रत्यक्ष एक र समानुपातिक एक गरी चार वटा मतपत्रमा मतदान गर्नुपर्नेछ ।