देश विकास र सेवाको लागि मेरो उम्मेदवारी : रोहिना

0
Shares

काठमाडौं।
नेपालका लागि नेपाली पार्टीका समानुपातिक सदस्य रोहिना देवी शाक्यले सोमबार काठमाडौंको क्षेत्र नं. ९ बाट घरदैलो अभियान शुरु गर्नुभएको छ ।
सुनचाँदी व्यवसायी शाक्यले राजनीति फोहोरी खेलको रुपमा परिभाषित हुँदै गइरहको बेलामा राजनीति फोहरी खेल नभई देश विकासको लागि हो भन्ने तथ्यलाई स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

घरदैलो अभियान शुरु गर्नुअघि वटु चोकमा आयोजित कोणसभामा बोल्दै उहाँले भन्नुभयो– ‘हामीले देशको इज्जत जोगाउन पनि राजनीतिलाई सेवाको रुपमा लिनु अति आवश्यक छ । राजनीति बिग्रनुमा नेताको मात्र दोष नभई हामी जनताको पनि कमीकमजोरी छन् । हामीले हाम्रो अमूल्य भोट किनबेच हुनबाट रोक्ने पहल गर्न नसकेको कारण देशको शासनसत्ता खराब हातमा गएको हो । अब हामीले त्यो कमीकमजोरीलाई मनन् गरी आफ्नो भोटको सदुपयोग गर्नुपर्छ ।’

उहाँले चुनावमा भोट बिक्नाले राजनीतिमा भ्रष्टाचार र विकृति बढेको जिकिर गर्दै आफ्नो भोट कुनै राजनीतिक दल हेरेर होइन, सक्षम र सफा छवि भएको उम्मेदवारलाई दिन पनि आग्रह गर्नुभयो ।

उहाँले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणमा गरेका कामहरूको सूची प्रस्तुत गर्दै भन्नुभयो– ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सदस्यदेखि प्रधानमन्त्री सम्मलाई छानविन गर्न पाउने अधिकार अदालतबाट कायम गराउन सफल भएका छौं । त्यति मात्र होइन, ललिता निवास, वालुवाटारको १ सय ४३ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियारले मूख्य दोषीलाई बचाउन मुद्दा दायर नगरेपछि हाम्रै पार्टीले त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।’

उहाँले गैर नेपाली नागरिकले स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पाउने गरी २०५४ सालमा तत्कालिन एमाले सरकारले जारी गरेको राष्ट्रघाती अध्यादेशलाई पनि आफ्नो पार्टीको नेतृत्वले अदालतको माध्यमबाट बदर गराउन सफल भएको बताउनुभयो ।

आफ्नै पार्टीको नेतृत्वकै कारण श्रम ऐन २०४८ मा नेपालका कलकारखानाहरूमा काम गर्ने पहिलो हक नेपाली श्रमिकहरूले प्राप्त गर्ने अधिकारको सुनिश्चितता गराउन सफल भएको जिकिर गर्दै उहाँले काम गरी खाने श्रमजीवि र व्यवसायीहरूको हकहित प्रवद्र्धनमा आफू सधैं लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।


शंख चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको नेपालका लागि नेपाली पार्टीले प्रत्येक नागरिकको राजनीतिक हैसियतमा ‘निर्णायक’, आर्थिक हैसियतमा ‘सम्पन्न’, सामाजिक हैसियतमा ‘सम्मानित’ र सांस्कृतिक हैसियतमा ‘लोकप्रिय’ बन्न पाउने अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा पार्टीका अध्यक्ष बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राजनीतिबाट देश जोगाउनुपर्ने भन्दै आफूले गरेको कामको आधारमा भोट दिन अपिल गर्नुभयो । उहाँ काठमाडौंको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षमा उठ्नुभएको छ ।