नेता र ‘डाइपर’ बेलाबेला फेर्नुपर्छ



पेशल आचार्य

महान् अमेरिकी लेखक मार्क ट्वेनले भनेका छन्– ‘नेता र डाइपर समय–समयमा फेरिरहनुपर्छ नत्र दुवैले दुर्गन्ध बढाउँछन् ।’ यो भनाइ हाम्रो राजनीतिक परिवेशमा सोह्रै आना लागू हुन्छ ।

अहिले त चुनावको माहौल छ । अझ यो माहौलमा यो वाणी आकर्षित हुन्छ । केही दिनअघि निर्वाचन आयोगले ललितपुर क्षेत्र नं.–३ मा संघीय सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी रद्द गरिदियो । पछि बुझ्दै जाँदा थाहा भयो, उनी नेपाल मेडिकल काउन्सिलकी बोर्ड मेम्बर रहिछन् । बोर्डले आफ्ना सदस्यहरूलाई बैठकभत्ता र बोर्ड बैठकमा आउन–जानका लागि टीएडीएको व्यवस्था गर्दो रहेछ ।

आयोगले त्यसैलाई लाभको पद भनेर उम्मेदवारी खारेज गरिदियो । तर डा. केसी आफ्नो खारेज भएको उम्मेदवारीलाई फेरि जगाउन सर्वोच्च अदालतमा रिट लिएर गइन् । सर्वोच्चले आयोगका नाममा अन्तरिम आदेश जारी गर्दै उनको उम्मेदवारी खारेज नगर्न भन्यो । स्थापित यो नजिरबाट केसी मात्र नभएर सम्पूर्ण उम्मेदवारहरू नै खुशी भएका छन् । के सामान्य बैठकभत्ता र टीएडीए लिएकै आधारमा डा. केसीको पद लाभको हो भने हिजो विभिन्न प्रकारका निजामती, जंगी र प्रहरीमा जागिर खाएर अहिले पनि गरिब र निमुखा जनताले तिरेको करबाट पेन्सन खाने पूर्वनिजामती र जंगी कर्मचारीहरू लाभको पदमा रहेका हुन् कि होइनन् त ? यहाँनेर डा. तोसिमा केसीको मुद्दाले फेरि एकपल्ट देशैभरि बहस प्रारम्भ गरिदिएको छ ।

आखिर बोर्ड मेम्बरले मासिक तलब लिएको थिएन । उसले राष्ट्रसेवकझैँ दिनहुँ हाजिर गरेर मासिक पारिश्रमिकसमेत लिँदैनथ्यो । किन उनको पदलाई आयोगले छानी–बुझी र जानीकन लाभको पद भनेर व्याख्या ग¥यो अनि सर्वोच्चले किन सोही व्यहोरालाई लाभको पद होइन भन्यो । एउटै कुरामा दुई–दुईवटा निकायले गरेका फैसलाहरू किन यसरी बाझ्छन् ? यसमा सन्देह उत्पन्न भएको छ । वास्तवमा यस्ता सन्देहहरूको समयमै निराकरण नहुने हो भने जनताका मनमा संवैधानिक अंगहरूप्रति वितृष्णा उत्पन्न हुन बेर लाग्दैन ।

अहिले स्वतन्त्ररुपमा उठेका देशैभरिका उम्मेदवारहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूदेखि पुराना राजनीतिक पार्टीका नेता र कार्यकर्ताहरू चुनाव हारिन्छ कि भनेर अहिलेबाटै ‘छेरभालु’ हुँदै छन् । चुनाव आएकै छैन, माहौल तातेकै छैन । जनताले आफ्नो अभिमत मतपेटिकाहरूमा विवेकसम्मत ढंगले खसालेकै छैनन् । नयाँ र काबिल उम्मेदवारहरूको नाम सुन्नेबित्तिकै पुराना पार्टीका प्रत्यासीहरूको अहिल्यै सातोपुत्लो गैसक्यो । यसो किन भएको हो भन्दा पुराना पार्टीका नेता र कार्यकर्ताहरूले सिद्धान्तअनुसार आफूलाई उभ्याएका रहेनछन् ।

भएको अलि–अलि विचार र आस्था सबै पोली खाइसके छन् । यस्तो स्थितिमा नयाँ पार्टीका भिजनेबल नेता या स्वतन्त्र उम्मेदवारहरू देखेर पुराना पार्टीका नेता र कार्यकर्ताहरू अहिलेदेखि नै अनेक तालतिकडम लगाएर नयाँ पार्टीका उम्मेदवारहरूलाई छिर्के लगाउने दाउमा अघि आइसके ।

यो भनेको हरुवा गोरुको छेरुवा दाउ हो । चुनाव त जनतालाई निर्धक्क रुपले मत खसाल्न दिने हो । उम्मेदवारहरूले आफूले जनताका अभिमत पाएअनुसार म्यान्डेट लिने हो । विपक्षी पार्टीका उम्मेदवारहरूका झीनामसिना कानुनी उल्झनहरूमा खेलेर तिनीहरूलाई जरैदेखि समूल अन्त्य गर्न खोजिन्छ भने नयाँ मतदाताहरूले यी कुराहरूलाई नोटिसमा लिनुपर्छ । मार्क ट्वेनले भनेझैँ नेता र डाइपर पुराना भएपछि फेर्नुपर्छ भनेर जनतालाई अवश्य थाहा छ । अझ त्यो चुनावकै बेला मत शक्तिबाटै फेर्नुपर्छ भनेर कसैले सम्झाइरहनै पर्दैन ।

समयले ती फेरिन नसकेका, पुराना, आदर गरेर साइड लगाइदिनुपर्ने नेताहरूलाई ब्यालेट बक्सबाटै क्रमशः साइड लगाइदिन्छ । कसैले एक पक्षीय रुपमा रोइकराइ गरेर व्यक्तिको प्रशंसा गर्दै देवत्वकरण साथै मन नपरेका नेतालाई दानवीकरण गर्नै पर्दैन । मानिसका गुण–दोषका आधारमा मात्र उसको चित्रण गरे पुग्छ । यो कुराको हेक्का वर्तमान नेपाली समाजका धेरै कम सदस्यहरूमा मात्र भित्री तबरले ज्ञान प्राप्त छ । धेरैजसो परिवेशमा आफ्ना ती पुराना नेता र कार्यकर्ताहरूलाई काखी चेपेर बसेका देखिन्छन् ।

पदमा बसिरहन पाऊँ भन्ने हरेक हाँचका नेताहरूमा देखिएको छ । यो क्रम अझ पछिल्लो समयमा झन् बढेर गैरहेको छ । किन यसो हुन्छ भनेर युवाहरूले चियो गरे, कसै–कसैले त रिसर्च गरेका रहेछन् । जसबाट पत्ता लागेका केही कुराहरू यहाँ जस्ताको तस्तै राख्नु समिचिन हुने भएकाले राखिएको छ । पद भनेको अधिकार हो । नेपाली समाजमा अधिकारविहीन मानिसलाई कसैले पनि मतलब नगर्ने परम्परा नै बसिसकेको पाइन्छ ।

पदले अधिकार मात्र नदिएर सुविधासमेत दिने भएकाले व्यक्तिले सोही सुविधालाई आफ्नो हकहितमा प्रयोग गर्ने गर्छन् । कहिलेकाहीँ त्यही अधिकारले आफू मातहतका अन्य व्यक्तिहरू या आफ्ना आशामुखी मानिसहरूका पक्षमा निर्णय गरेर भलाइ गर्न सकिन्छ । यस्तो अवस्थामा पद पाएको मानिस र पद नपाएको मानिसमा आकाश–जमिन अन्तर हुने रहेछ ।एकजना आफन्तले करिब दुई दशकपहिले लोक सेवा आयोगमा काम गर्दा त्यहाँ एकजना कर्कश स्वभावका नायब सुब्बाको रिटायर्टमेन्ट भएको भोलिपल्टै ती सुब्बाले तरकारी पसलमा आयोगकै चिनेजानेका पियनलाई देख्दा ती पियनले नायब सुब्बालाई देखेको नदेखेई गरेका थिए, पछि सुब्बाले आफैँ लज्जित भएर बोलाउँदासमेत ती पियनले ‘उहाँ त रिटायर्ड भैसक्नुभयो ।

रिटायर्ड भएको मानिस आम जनतासरह हुने भएकाले उहाँलाई हामीले होइन, उहाँले चाहिँ हामीलाई आदर गर्नुपर्छ’ भनेर हाकाहाकी कुरा राख्दा आयोगका अर्का कर्मचारी एक भन्नु न दुई भन्नु हुँदै जिल्लिएका थिए रे ! यही कारण होला नेपालमा जो–कोही नेताहरू पदमै हुँदा मर्न चाहन्छन् । पदमा भएका बेला मर्न पाइयो भने राज्यले सुविधासहित अन्त्येष्टि गरिदिने भएकाले मानिसहरूलाई यतिविधि पदको लोभ जागेको रहेछ ।

पदको छुद्दे हुनुमा पदमा बस्दा जो–कोहीले (केही अपवाद व्यक्ति छाडेर) आफ्नो पद र पावरको दुरुपयोग गर्दै भौतिक प्रपर्टी कमाउने चलनजस्तै भएको छ । अतः यस्तो अवस्थामा जो–कोही पुरातन सोचका मानिसहरू पदमै लिसो टाँसिएझैँ टाँसिरहन चाहन्छन् । राजनीतिक नियुक्तिका पदमा समेत यही कुरा दोहोरिएको पाइन्छ । संवैधानिक अंगका सदस्य तथा अध्यक्षहरूमा यही मानसिकताले उहिलेदेखि नै जरो गाडेको पाइन्छ ।

अब यो रोग राजदूत नियुक्तिमा र विभिन्न विश्वविद्यालयहरूका डिन, रेक्टर, उपकुलपति र अन्य लाभका पदहरूमा नियुक्ति गर्दा देखिएको छ । अझ अहिले गठबन्धनको संस्कृति आएकाले ती पदहरूमा विभिन्न खालका राजनीतिक शक्तिका सरसल्लाहका आधारमा भागबन्डाको संस्कृति बसाइएको छ । त्यसैले जो–कोही विज्ञ तथा जानकार मानिसहरूले ती पदमा निष्पक्षरुपमा नियुक्ति नपाउने अवस्था छ । हरेक बुझेका मानिसलाई यी कुराबारे भलिभाँती थाहा छ । कुराहरू क्षणभंगुर हुन् । अस्थायी हुन् । तर मानिसको मनले मान्दैन ।

मानिस यही गल्ती पटक–पटक दाहो-याएर अनि तेह-याएर गर्छ । यो कुराको चलन नै चलिसकेको छ । आफैँ पदमा बस्ने, कथम् आफू बस्न पाइएन वा उमेर हद लाग्यो तथा म्याद गुज्रियो भने कसै गरी आफ्ना नरनाताका मानिसलाई त्यो आफूले छोडेको पदमा लिसो लगाएर टाँस्ने अनि रोकिराख्ने प्रवृत्ति छ्याप्छ्याप्ती देखिन्छ । कुनै–कुनै राजनीतिक नियुक्ति गर्ने पदहरूलाई त पार्टीहरूले गठबन्धनका भागमा पारेर आफ्नो तर्फको सिट बेच्ने गरेका समेत देखिन्छन् । यसो हुनाले हाम्रो देशका सबै लाभका पदहरू जानी नजानीकन विक्रीमा छन् ।

यो लाज र गौरव दुवैको विषय हो । कसले कसरी लिने भन्ने कुरामा मात्र टिकेको छ । लाज र धक मान्ने मान्छेहरू विचरा समयभन्दा निकै अघि भए पनि ती अँध्यारा काला कोठरीमा थुनिएर बसेका छन् । नेपालमै पनि केही समयअघि जपान र अस्ट्रेलियाका राजदूतका पद विक्री गरेर बेथिति भित्रिएको भन्ने सुनिएको थियो । कतिपय कुराहरू त गहन तथा सूक्ष्म अनुसन्धान गरेर मात्रै थाहा पाइन्छन् । ती कुराहरू सामान्य मानिसको बसमा हुन्नन् ।

आम ले–म्यानहरूलाई परिवर्तन चाहिन्छ । त्यो परिवर्तनले आम मानिसको सामाजिक जीवनमा परिवर्तन गर्न सक्छ÷सक्दैन, त्यो केही थाहा पाएको हुँदैन । मात्र ले–म्यानहरू परिवर्तन खोज्छन् । कतिपय परिवर्तनहरूले जनता र मतदाताहरूलाई तर्कले, बुद्धिले र अझ कार्यशैलीले नै ठगिरहेका हुन्छन् । यो कुरा जनता र मतदाताहरूले समयमै थाहा पाएका भए तिनीहरूलाई सच्याएर पहिले दिएको पार्टी या व्यक्तिलाई मत नदिएर फरक पार्टी या व्यक्तिलाई मत दिन्थे तर थाहा नपाएर या झुक्यानमा परेर फेरि उही पुरानै पार्टीहरूलाई नै मतदान गरेर पाँच–पाँच वर्षसम्म पछुताइरहेका देखिन्छिन् ।

विकसित देशहरूमा कति परिवर्तन भैसके । उलटपुलट भएका छन्, संसदीय चुनावहरूमा पनि ब्यालेट बक्सले गर्दा समाजहरू, राजनेताहरू र पार्टीहरू । तर दुःखको कुरा नेपालमा मात्रै जो–कोही पनि लाभको पदमा पुगिसकेपछि नमरुन्जेल त्यो पदलाई बाउकै बिर्ता या ससुरालीकै दाइजोझैँ सम्झेर एकक्षण पनि कुर्सीबाट हट्न चाहँदैन । उसलाई भलिभाँती थाहा हुन्छ आफूले ओगटेको या ओथारो लिइरहेको पद जब कसैलाई दिइन्छ भने त्यो फेरि कहिल्यै फर्कंदैन अनि किन दिनु जो–कसैलाई पद ?

परिवर्तन विकासको सोपान हो । परिवर्तनले नै संसारमा तरक्की गरेको छ । दुनियाँका केही पनि चिजवस्तु एकैनासले रहँदैनन् । पृथ्वीमा हरेक वस्तुको आयु निश्चित छ । जीवन छ भने मृत्यु अवश्य छ तर हरेक मानिस केवल जीवनका बारे मात्र आफ्ना धारणा र शुभकामनाका सन्देश प्रसारण गरेर हरेक मानिसलाई भुल्याउन चाहन्छ । पद छोड्नुपर्छ । अधिकारविहीन भएर पनि जनताका पंक्तिमा गएर बस्नुपर्छ । अन्त्यमा मर्नुपर्छ भन्ने कसैले सोचेकै हुँदैनन् ।

काँग्रेस सभापति देउवाले आफूपछि आफ्नी पत्नी आरजुलाई राजनीतिमा अघि सारेका, डा. बाबुराम भट्टराईले त्यागको चारो आफलेर जनताका आँखामा छारो हाली छोरी मानुषी यमि भट्टराईलाई राजनीतिमा स्थापित गर्न लागेका, प्रचण्डले घुमाइफिराई पुत्रवधु बिना मगरलाई राजनीतिको फसल काट्न फ्रन्ट सिटमा ल्याएका जनताको सेवा कम र आफ्नो मेवा अधिक सोचेर नै हो । अब जनताले बुझ्नुप¥यो, नेता पुराना भएका छन् भने अब यिनलाई डाइपर शैलीमा बदल्ने हो अन्यथा बहुपक्षीय दुर्गन्ध फैलन्छ ।

प्रतिक्रिया दिनुहोस्