निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजनामा सम्पन्न हुने निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका विषयक तीन दिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतबारदेखि सुरु भएको छ ।

मुलुकका सम्पादक, रिपोर्टर र लगानीकर्ता गरी करिब ७० प्रभावशाली मिडियाकर्मीको सहभागिता रहेको कार्यशालाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले गर्नुभएको थियो ।

भच्र्युअल विधिमा सञ्चालित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सचिव अर्यालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन १५ दिन मात्र बाँकी रहेको बेला मिडिया क्षेत्रले निर्वाचन आचारसंहितामा देखाएको सक्रियताले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सघाउने धारणा राख्नुभएको थियो ।

उद्घाटन सत्रको अध्यक्षता गर्दै वरिष्ठ पत्रकार तथा नेपाल प्रेस इन्ष्टिच्यूटका पूर्वअध्यक्ष ध्रुवहरि अधिकारीले मिडियाकर्मीले पत्रकारिताको सिद्धान्तलाई अवलम्वन गर्नेहो भने स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न योगदान पुग्ने धारणा राख्नुभयो ।

पहिलो दिन निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यनाथ अर्यालले निर्वाचन आचारसंहिताका विविन्न प्रावधानका विषयमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका प्रदेश एक र मधेश प्रदेशका अध्यक्ष क्रमशः लीलावल्लभ घिमिरे र राजेश कर्णले आ–आफ्नो क्षेत्रको निर्वाचन आचारसंहिता पालनाका विषयमा प्रकाश पार्नुभएको थियो ।

आयोजक इन्ष्टिच्यूटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीको स्वागत मन्तव्य रहेको कार्यशालामा दर्जनौं पत्रकारले निर्वाचन आचारसंहिताका विषयमा प्रश्नोत्तर गरेका थिए । गोष्ठी सोमबार र मंगलबार पनि चल्नेछ ।

बिहान ७ बजे गूगल मिटबाट सहभागी हुन सकिने यस कार्यक्रममा सोमबार निर्वाचन अनुगमनका विषयमा निर्वाचन आयोगकै अधिकारीले प्रष्ट पार्ने र अन्तिम दिन मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकारका जिज्ञासाहरुको जबाफ दिने कार्यक्रम रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ तथा प्रेस काउन्सिल नेपालका अध्यक्षहरु र प्रदेशका पत्रकार महासंघका अध्यक्षहरुले पनि सम्बोधन गर्नुहुनेछ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म चल्ने यस अन्तरक्रियामा सहभागी हुन मिडियाकर्मीले गूगल लिङ्कका लागि नाम र संस्था उल्लेख गर्दै नेपाल प्रेस इन्ष्टिच्यूटमा सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्