गाली–कलहभन्दा अनिवार्यरुपमा सही मतको खाँचो



रमेशकेशरी वैद्य

देशमा सबै तन्त्र आयो । साथै घूस तन्त्र, माग्ने तन्त्र, चम्चा तन्त्र, गाली तन्त्र पनि आए । तर पहिलो कुरा त यी तन्त्रलाई प्रायः जनताले उति मतलब राखेनन्, न त बुझ्न नै चाहे । भनिन्छ, कागलाई बेल पाक्यो हर्ष न बिस्मात् । किनकि तन्त्रको नामले नै जनतालाई कान पाकिसक्यो । यही तन्त्रकै लहैलहैमा संघीयता पनि आयो, जसको फाइदा प्रदेशका नेताहरुलाई मात्र भयो । देशलाई आर्थिक बोझ मात्र भयो । प्रायः नागरिकमा आर्थिक पीडा भए पनि सहन बाध्य भए । यसको खास कारण दाल–भातको चिन्ताले व्यस्त, अज्ञानता र प्रायः मानिसको सानो सोच–मन र स्वार्थ संस्कारले गर्दा नै मान्न सकिन्छ ।

एकपल्ट अध्यात्मिक कुरा गर्ने हो भने, यहाँ ईश्वरप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै छन् । साथै अझै छन् पुरानो सोच, अन्धविश्वासमा रमाएकाहरु । प्रवचन, भजन–कीर्तन, ढुंगाको मूर्तिमाथि ज्यादा आस्था आदि कारणले गर्दा पनि असर गरेको हो । यदि यस्तो सोच र देखावालाई केही बदलेको भए, एक–आपसमा समाज र मुलुक हितको लागि अघि बढेको भए हाम्रो देशको मुहार पनि फेरिन्थ्यो होला । बाहिरी विकसित देशहरुको द्रुत विकासलाई मात्रै हेर्दा भयो नि ! कि कसो ? यो उदाहरण किन दिनुपरेको भने, भगवान्ले पुराना नेताहरुलाई खराब बनाए–बनाए । तर पनि राम्रा नेताहरुको छनोट हामीले गर्न सकेनौं, न नेताहरु बदल्न नै चाह्यौँ । चुनाव आउँदा प्रायः मानिस मतदान गर्न नै नजाने अनि खराब नेताहरुको जमात बन्ने जस्ता कारणले नै यो देश अघि बढ्न नसकेको मान्न सकिन्छ ।

अहिले आएर भने समय बदलिएको छ, जसले गर्दा राम्रा–राम्रा व्यक्तिहरु पनि संसदीय चुनावमा स्वतन्त्रबाट उठ्न लागेका छन् । राम्रा दिनका लागि र आउने युवापुस्ताको भविष्यका लागि हामीले यस्ता नेताहरुलाई पाँच वर्षका लागि जिताउने हो । यो होइन कि आर्थिक फाइदा र मासुभात, रक्सी खान पायो भन्दैमा अल्लारेसरह भएर चाकुमा झिँगाजस्तै भन्किनुहुँदैन । यस्तो कार्य गर्नु नै आफ्नो खुट्टामा आफैंले बन्चरो हिर्काउनु हो । यसले गर्दा भोलि आउने युवापुस्ताहरुले पनि तपाईंहरुलाई जिन्दगीभर सराप्नेछन् । त्यसकारण विगतमा जसले जति गलत काम गरे पनि ती सब कुरालाई बिर्साै, क्षणिक स्वार्थका लागि अब नराम्रो पक्षलाई साथ नदिऊँ, जसले गर्दा देश तथा युवापुस्ता र अन्य मानिसहरुको भविष्य खराब होस् ।

हाम्रो मुलुकमा भोलि आएर राम्रोसँग देश चलाउने जुनसुकै व्यक्तिहरु आए पनि उनीहरुले अकुत सम्पत्ति कमाउने सोच राख्नुहुँदैन । किनकि राजनीतिक क्षेत्र एक हिसाबले घिनलाग्दो अखडा हो, जहाँ राम्रा–राम्रा व्यक्ति पनि लड्खडाउन बेर लाग्दैन । त्यसैले यो एउटा भविष्यका नेताहरुका लागि चुनौती हो । आशा छ, यहाँहरुले राम्रो कर्म गर्नु हुनेछ राष्ट्रधनलाई जोगाएर । कारण राष्ट्रधन भनेको आफ्नो स्वार्थका लागि लड्डु, पेडाजस्तै बाँड्ने कुरा होइन, न आफ्नो सात पुस्ताको लागि रकम सञ्चित गर्ने हो । बरु एक–एक पाईको हिसाब राखी सय–पचास वर्षका लागि राष्ट्रिय धन जम्मा गर्ने हो, जसले गर्दा मुलुकमा रकमको अभाव हुनेछैन, न छिन्–छिन्मा विदेशीको अगाडि हात फैलाउनु र झुक्नुपर्ने हुन्छ । रकम सञ्चितले नै राज्य मजबुत हुनेछ ।

हाम्रो देशमा लोकतन्त्र आएको ३० वर्षमा केही विकास भए तापनि मानिसहरु यहाँ खुशी छैनन् । केही शिक्षा भने जरुर नै पाएका छन् । त्यसकारण नेताहरुलाई मात्र गाली नगरौं । कारण विगतका दिनमा यिनीहरुको पनि केही योगदान छ । यिनीहरुले जीवनमा गलत काम गरे, यिनीहरुलाई पक्कै पनि समयले ठीक गर्नेछ, बरु अलिकति हामीले धैर्य गर्ने बानी बसाउनुपर्छ ।

हामीमा पनि केही कमी–कमजोरी होला । सधैं स्वार्थ, नकारात्मक सोच, लालच, चाकडी, दोष, गफ आदिलाई त्यागेर परिवर्तन हुने हो । यसको लागि निरन्तर राम्रो मानिसले खराब मानिस र मूर्ख मानिसलाई बदल्दै जाने हो । यसै सिलसिलामा एउटा कहावत छ– देशमा धेरै मूर्खहरु भएर केही फरक पर्दैन तर एउटा नेतामात्र मूर्ख भयो भने मुलुक बरबाद हुन्छ । यो हामीले भोगिराखेका र देखिराखेका पनि छौं । त्यसैले यहाँ एक–अर्कामा गालीगलौज, कलहभन्दा मतदानस्थलमा अनिवार्य उपस्थित भएर सही मतदान गर्नुपर्ने खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्