काठमाडौं-९ को एमाले उम्मेदवारको प्रतिबद्धता पत्र सार्वजनिक

सबै सडकलाई धुलो र हिलोमुक्त बनाउने



काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवारले आफ्नो क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेका छन् । आज (शनिबार) ६ बुँदे प्रतिबद्धता पत्र सार्बजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

नेकपा (एमाले)को तर्फकाट प्रतिनिधिसभामा पुर्वमन्त्री एवं निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ९ (क)का हरिकृष्ण डंगोल र प्रदेश (ख)मा केशवप्रसाद पोखरेलले उम्मेदवारी दिनुभएको छ । पोखरेल बागमती प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य हुनुहुन्छ । तीनै जनाले काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा आयोजित कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

प्रतिबद्धता पत्रमा कलंकी–नागढुंगा सडक खण्डको विस्तारित लेनलाई सहज गर्न बल्खु खोलामा थप पक्की पुल बनाइने । कलंकी–नागढुंगा, कलंकी–भीमढुंगा–धादिङ्ग, फस्कूचोक–नर्सरी भन्ज्याङ्ग–स्युचाटार नर्सरी, नर्सरी भन्ज्याङ्ग–स्वीजरल्याण्ड पार्क, तीनथाना–मच्छेगाउँ सडकलगायतका रणनीतिक सडकहरुको विस्तार तथा स्तरोन्नती गरिने उल्लेख छ ।

आर्थिक सामाजिकअन्तर्गत दहचोक कालु पाण्डे समाधि–कंकाली–नर्सरी–थाप्ले हुँदै सेतो गुम्बासम्मको मझौंला पदयात्रा मार्ग र सो मार्गमा आवश्यक पर्यटकीय पूर्वाधार सञ्चालनका लागि युवालाई उत्प्रेरित गर्ने नीति लिइएको छ ।

छिमेकी जिल्ला धादिङ्गका ग्रामीण क्षेत्रका उत्पादन मुख्य शहरी क्षेत्रमा उपभोगका लागि गाउँ–शहर सम्बन्ध केन्द्रको व्यवस्था गरिने, सघन करेसाबारी खेती, कौशी खेती, हाइड्रोपोनिक, घरभित्रै गरिने जस्ता शहरी खेतीका विभिन्न प्रकारलाई भान्साबाट उत्सर्जित हुन फोहरसँग एकीकृत गरी प्रभावकारी ढंगबाट सञ्चालन गरिने नीति अघि बढाइने उल्लेख गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारका शिक्षा, विज्ञान तथा प्रविधि, श्रम तथा रोजगार, वन तथा वातावरण, युवा तथा खेलकुल, स्वास्थ्य र शहरी विकास मन्त्री भईसक्नु भएका सो क्षेत्रका प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले घोषित प्रतिबद्धता पत्रअनुसार काम गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । प्रदेश सांसद्वय महर्जन र पोखरेलले आफ्नो क्षेत्रको विकासमा जनता सँगसँगै अघि बढ्ने बताउनु भयो ।

नेताद्वय पूर्व बागमती प्रदेश मन्त्री डा. अजयक्रान्ति शाक्य, कामपाका पूर्व मेयर विद्यासुन्दर शाक्य, निर्वाचन परिचालन कमिटीका अध्यक्ष अवन्ती सिग्देल सहितको उपस्थितिमा भएको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा मंसिर ४ गते एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका थिए ।

सो क्षेत्रको उम्मेदवारको प्रतिबद्धता पत्रमा वैदेशिक रोजागारीबाट फर्केका जनशक्तिलाई अत्याधुनिक कृषि परियोजनामा संलग्न गराउन युवा कृषि उद्यमी अनुदानको व्यवस्था गर्ने, परम्परागत कपडा बुन्ने हातेतानको उत्पादनको बजार व्यवस्था गरी वातावरण सिर्जना गर्न पहल गर्ने उल्लेख छ ।

सांस्कृतिक संरक्षणअन्तर्गत ऐतिहासिक बलम्बु गाउँलाई सम्पदाबस्ती, काठमाडौं महानगरका १२, २१ र २२ वडाहरुलाई सम्पदाको नगरको रुपमा विकास गरिने , चन्द्रागिरि र नागार्जुन नगरमा एक÷एकवटा नमुना काँठे गाउँको निर्माण गरी होमस्टे सञ्चालन गर्ने, नेवाः सभ्यता, जात्रापर्व, दाफा बाजां खल, गुथि, भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याइने,

चन्द्रागिरि र नागार्जुन नगरपालिका क्षेत्रमा रहेका तामाङ्ग जातिको संस्कृति प्रवद्र्धन गर्न “तामाङ्ग साँस्कृतिक केन्द्र स्थापना” गर्ने, जम्मुदीप (टेकू दोभान)को गुरुयोजना निर्माण गरी संरक्षणको कार्यक्रम अगाडि बढाइने, धरहरा सुन्धारा परिसरमा स्थानीय मागअनुसार सामाजिक पूर्वाधार निर्माणमा जोड दिने उल्लेख गरिएको छ ।

सीम क्षेत्रको संरक्षण गर्दै घट्टे खोला, बाख्रे खोला, डौडाली खोला, सिस्ने खोलालगायत जंगलका फेदमा पानी संकलन केन्द्र तथा रिचार्ज केन्द्र निर्माण गरी तल्लो तटका पानीका स्रोत संरक्षण गर्ने, सहरी क्षेत्रभित्र सामुदायिक आकासे पानी संकलन केन्द्र (रेन वाटर हार्भेष्टिङ्ग योजना) लागू गरिने, विष्णुमती नदी कोरिडोर, बल्खु खोला (ईन्द्रमती) कोरिडोर, मनमती कोरिडोरमा मर्यादित वैकल्पिक यात्राको प्रबन्ध गर्ने, हिंसापीडित महिलाहरुका लागि मुद्दाको किनारा नलागेसम्म उनीहरुका लागि महिला सेवा पुनःस्थापना केन्द्र स्थापना गर्ने, युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सर्जकका रुपमा तयार गर्न अनिवार्य युवा उद्यमशीलता कार्यक्रम लागूगर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी पोखरी, फल्चा, मठमन्दिर, पीठ र घाटहरुको अध्ययन, संरक्षण, जिर्णोद्वार, पुनर्निमाण तथा प्रबर्दधन गर्ने, नेपालकै महत्वपर्ण धार्मिक, सांस्कृतिक एवम् राष्ट्रिय सम्पदाका दृष्टिले महत्वपर्ण मठमन्दिर, बहाल, चैत्य र पीठहरूको परिचय पुस्तिका तथा अडियो भिडिओ सामाग्री तयार पारी पर्यटकीय आकर्षणको अभिवृद्धि गरिने उल्लेख छ ।

त्यसैगरी युवाहरुको क्षमता र सीप विकास गर्न तथा उत्पादन र आय आर्जनसँग जोडेर निर्वाचन क्षेत्रमा नेपालको पहिलो टे«ड स्कूल स्थापना गर्ने, दहचोकमा स्थापित वीर गणेशमान बहुउद्देश्यीय प्राविधिक शिक्षालयको शीघ्र निर्माण सम्पन्न गराई सञ्चालनमा ल्याइने ।

चन्द्रागिरि र नागार्जुन नगरपालिकाको समदरीमा पर्ने गरी एक नागरिक अस्पतालको निर्माण गर्न पहल गर्ने, १२ कक्षा सञ्चालनमा रहेका यस क्षेत्रका सामुदायिक विद्यालयहरुको स्तरोन्नति गर्दै स्नातक र स्नातकोत्तर तहसम्मको अध्यापन केन्द्रको रुपमा क्रमशः विकास गर्ने एक निर्वाचन क्षेत्रमा दुई खेलकूद स्थल निर्माणाधीन नैकाप फुटवल मैदानको स्तरोन्नति तथा हसन्टार फुटवल÷क्रिकेट मैदान निर्माण कार्यलाई अगाडि बढाइने उल्लेख छ ।

त्यस्तै असहाय, सन्तानविहीन ज्येष्ठ नागरिकहरुलाई राख्न सुविधा सम्पन्न “बा–आमा हाम्रो घर” स्थापना गर्ने, कालु पाण्डे समाधिस्थल, भिराडिल पार्कजस्ता ऐतिहासिक तथा प्राकृतिक महत्वका निर्माणाधीन स्थलहरुको स्तरोन्नयन, संरक्षण तथा सम्वद्र्धन गर्ने नीति लिइने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्