गठबन्धनको संंस्कृतिले मुलुकको विकास सहज हुने प्रधानमन्त्री देउवाको दाबी

0
Shares

डडेलधुरा । 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूबीच गठबन्धनको संस्कृतिले मुलुकको समग्र विकास र संविधान कार्यान्वयन सहज हुने बताउनुभएको छ ।

अगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि डडेलधुराबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले बिहीबार डडेलधुरा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डडेलधुरा जिल्लाको विकासका लागि संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्नुभयो ।

उहाँले कैलालीको अत्तरियादेखि डडेलधुरासम्म चार लेन सडक निर्माण गर्ने, डडेलधुरामा एअरपोर्ट र बसपार्क निर्माण, पश्चिम सेती र पञ्चेश्वरजस्ता आयोजनाहरूको निर्माणका लागि आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो । डडेलधुरामा मेडिकल कलेज स्थापनाका लागि रकम पठाइसकेको बताउनुहुँदै देउवाले जिल्लाको विकासका लागि आफू कटिवद्ध भएर लाग्ने र धार्मिक पर्यटन प्रवद्र्धनमार्फत जिल्लाको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेकाले आफ्नो इच्छा नभइकन पनि प्रधानमन्त्री बन्नुपरेको बताउँदै उहाँले ओलीको प्रतिगमनका विरुद्ध गठबन्धन बनेको बताउनुभयो । छोटो सम्बोधनका क्रममा तीन पटकसँग आफंैसँग पराजित माओवादी केन्द्रका नेता खगराज भट्टको प्रशंसा गर्दै देउवाले माओवादीलाई भोट हाल्न हिच्किचाउन नहुने बताउनुभयो ।

उहाँले सच्चा कांग्रेसले पार्टीको निर्देशनअनुसार गठबन्धनमा मतदान गर्नुपर्ने आवश्यकता पनि आंैल्याउनुभयो । उहाँले आसन्न निर्वाचनमा मात्रै नभई आगामी १०–१५ वर्षसम्म गठबन्धन कायमै रहने जिकिर गर्दै मुलुकका सबै समस्याहरूको समाधान गठबन्धनबाट मात्रै सम्भव रहेको बताउनुभयो ।सुदूरपश्चिम प्रदेश विकासका हिसाबले पछाडि परेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा विजयी भएर पुनः प्रधानमन्त्री हुने र सुदूरपश्चिमको विकासका लागि पहल गर्ने आश्वासन समेत दिनुभयो ।

नेपाल सानो देश भएकाले भारत र चीन दुवै छिमेकीसँग मिलेर विकासका लागि सहयोग जुटाउनु आवश्यक रहेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले कालापानीमा सीमा अतिक्रमण भएको विषयमा भारतसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो । चुनावी सभालाई माओवादी केन्द्रका तर्फबाट डडेलधुरा प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ का उम्मेदवार खगराज भट्ट, प्रदेश सभा ‘ख’का उम्मेदवार गोविन्दराज बोहरा, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवालगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले निरन्तर चार दिनसम्म गृहजिल्ला डडेलधुराका विभिन्न स्थानमा आयोजना गरिने चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा यही कार्तिक २० गते मात्रै डडेल्धुराबाट काठमाडौं फर्किने कांग्रेस डडेलधुराले जनाएको छ ।