वाम लोकतान्त्रिक गठबन्धनले नै मुलुकको विकास र संविधान कार्यान्वयन सहज हुने प्रधानमन्त्री देउवाको दाबी



डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुबीच गठबन्धनको संस्कृतिले मुलुकको समग्र विकास र संबिधान कार्यान्वयन सहज हुने बताउनु भएको छ ।

अगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनु भएका प्रधानमन्त्री देउवाले डडेल्धुरा सदरमुकामका आयोजित चुनावी सभालाई बिहीबार सम्बोधनगर्दै डडेल्धुरा जिल्लाको विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।

कैलालीको अत्तरियादेखि डडेल्धुरासम्म चार लेन सडक निर्माण गर्ने, डडेल्धुरामा ऐरपोर्ट र बसपार्क निर्माण, पश्चिम सेती र पञ्चेश्वरजस्ता आयोजनाहरुको निर्माणका लागि आफु प्रतिवद्ध रहेको बताउनु भयो । डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि रकम पठाईसकेको बताउनु हुँदै उँहाले जिल्लाको विकासका लागि आफु कटिवद्ध भएर लाग्ने दाबी गर्नुभयो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेकाले आफ्नो चाहना नभएर पनि प्रधानमन्त्री बन्नुपरेको बताउनुहुँदै उँहाले ओलीको प्रतिगमनका बिरुद्ध गठबन्धन बनेको बताउनु भयो ।

छोटो सम्वोधनका क्रममा तीनपटकसँग आफैसँग पराजित माओवादी केन्द्रका नेता खगराज भट्टको प्रसंसा गर्नुभएका प्रधानमन्त्री देउवाले धार्मिक पर्यटन प्रवद्र्धनमार्फत जिल्लाको मुहार फेर्ने संकल्प गर्नुभयो । माओवादीलाई भोट हाल्न हिच्किचाउन नहुने जिकिरगर्दै सच्चा काँग्रेसले पार्टीको निर्देशनअनुसार गठबन्धनमा मतदान गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

सुदूरपश्चिम प्रदेश विकासका हिसाबले पछाडी परेको जिकिरगर्नुहुँदै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा विजयी भएर पुनः प्रधानमन्त्री हुने र सुदूरपश्चिमको विकासका लागि पहल गर्ने आश्वासन दिनुभयो । उँहाले आसन्न निर्वाचनमा मात्रै नभई अगामी दस प्रन्ध्रबर्षसम्म गठबन्धन कायमै रहने जिकिरगर्नुहुँदै मुलुकका सबै समस्याहरुको समाधान गठबन्धनबाट मात्रै सम्भव रहेको बताउनु भयो ।

नेपाल सानो देश भएकाले भारत र चीन दुबै छिमेकीसँग मिलेर विकासका लागि सहयोग जुटाउनु आबश्यक रहेको बताउनु हुँदै प्रधानमन्त्री देउवाले कालापानीमा सिमा अतिक्रमण भएको विषयमा भारतसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो ।

चुनावी सभालाई माओवादी केन्द्रका तर्फबाट डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र क का उम्मेदवार खगराज भट्ट, प्रदेश सभा खका उम्मेदवार गोविन्दराज बोहरा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले निरन्तर चार दिनसम्म गृहजिल्ला डडेल्धुराका बिभिन्न स्थानमा आयोजना गरिने चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा यहि कार्तिक २० गतेमात्रै डडेल्धुराबाट काठमाण्डौं फर्किने नेपाली काग्रेस डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्