नमुना मतदानमा ४८ मतदाता



काभ्रे । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले निर्वाचनमा मत बदर घटाउने उदेश्यले नमुना मतदान गराएको छ । शैक्षिक तालिम केन्द्रमा आयोजित नमुना मतदान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, उम्मेदवाहरु र सर्वसाधारणले मतदान गरेका थिए ।

४८ मत खसेको उक्त मतदान कार्यक्रमममा मतपत्र, मतपत्रमा मतदान गर्दा ध्यान दिनुपर्ने विषय, मतपत्र पट्याउने तरिका, मतदानमा प्रवेश गर्दा अपनाउनु पर्ने सुरक्षाका विषय तथा मतदान केन्द्र भित्र लैजान नहुने सामाग्री तथा मतदानमा भाग लिँदा मतपत्रमा उल्लेख विषयमा ख्याल पु¥याउनु पर्ने विषयका बारेमा जानकारी गराईएको थियो ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी उमेश राईका अनुसार नमुना मतदान जिल्लाका १३ स्थानमा हुनेछ । नमुना मतदान केन्द्रमा मतदान अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार हुनुहुन्थ्यो । निर्वाचनका लागि चारजना कर्मचारीले मतपत्र दिएका थिए भने अन्य चारजना कर्मचारीले मतपत्र दिने, नाम रुजु गर्ने, नङमा मसि लगाउने लगायतका कार्यहरु गरेका थिए ।

सुरक्षाकर्मी, दलका प्रतिनिधि, मानवअधिकार र संचारकर्मीको टोली तथा जिल्ला अनुगमनको टोलीले नमुना मतदानको अनुमगन गरेको थियो । मतपत्र र मतदानका बारेमा जानकारी गराउन जिल्लामा १ सय ३५ वडामा महिला स्वास्थ्य स्वंयसेवीकाको टोली परिचालन गरिएको छ । एउटा वडामा एक जनाले स्थानीय सरकारको समन्वयमा मतदाता शिक्षा दिनेछन् ।

चारवटा मतपत्र र चारपटक मतदान गर्नु पर्ने भएकाले केहि मतदाताहरु झुक्किएका थिए । मतदान पछि जुन ढ्वाङ्गमा खसाल्नु पर्ने हो त्यसमा नखसाली अन्यत्र खसाल्न सक्ने भएकाले त्यसको तयारी तथा मतदान सकिए लगत्तै मतपेटिकाको सुरक्षा र त्यसको ब्यस्थापनमा ध्यान दिनु पर्ने विषयमा पनि जानकारी गराईएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि ३ लाख १० हजार ६३ मतदाता मतदानका लागि योग्य छन् ।

प्रतिक्रिया दिनुहोस्