चुनावपछि बन्ने एमाले सरकारले सुकुम्बासीलाई लालपुर्जा बाँड्छ : पौडेल

0
Shares

बुटवल ।

एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताएका छन् ।

एमाले नेतृत्वको अघिल्लो सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथमिकताका साथ काम गर्ने उनले बताए । एमाले बुटवल-६ को शाखा कमिटी भेलालाई बिहीवार सम्बोधन गर्दै पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दाबी गरे ।

‘लालपूर्जा सर्वाधिक चासोको विषय हो,’ उनले भने, ‘हाम्रो सरकारको पालामा उच्च प्राथमिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए । सुकुम्बासीका विरोधीहरूले अदालतमा गएर यो काम रोकी पाउँ भनेर मुद्दा हाले । अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो । त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपूर्जा बाँड्न पाइँदैन, नयाँ कानून बनाएर मात्र काम सुरू गर्न भनेर फैसला गर्दा यो रोकिएका हो ।’

रुपन्देही २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यहीअनुसार काम अगाडि बढाउनेसमेत बताए । भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ । रुपन्देही विकासका दृष्टिले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको उनले बताए ।