प्रधानमन्त्री देउवाको चार दिन डडेलधुराका जनतालाई

0
Shares

काठमाडौं । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबारदेखि आफ्नो निर्वाचन क्षेत्रको चुनाव प्रचारमा खट्नुहुनेछ । मङ्सिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृह जिल्ला जानुभएका देउवा चार दिनसम्म जनतासँग मत माग्न व्यस्त हुने देउवाको सचिवालयले जनाएको छ ।

त्यसका लागि प्रधानमन्त्री देउवा बुधबार नै धनगढी पुग्ने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो । सभापति देउवाको गृहजिल्लाको चुनावी प्रचार अभियानमा युनियनका अध्यक्ष लम्साल सँगै जानुहुनेछ । आसन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त भए पनि देउवा भने अहिलेसम्म आफ्नो क्षेत्रमा पुग्नुभएको छैन ।

उहाँ चुनावी अभियान शुरू भएपछि पहिलोपटक जिल्ला जान लाग्नुभएको हो । देशभरको चुनावी कार्यक्रममा सम्बोधन गर्दागर्दै आफ्नो क्षेत्र पुग्न नभ्याउनुभएका देउवालाई उम्मेदवार भए पनि आफ्नो निर्वाचन क्षेत्रलाई ‘वास्ता नगरेको’ भन्ने आरोप लाग्दै आएको छ । उहाँलाई चुनाव जित्न ठूलो परिश्रम गर्नु नपर्ने र देशभर गठबन्धनका उम्मेदवारलाई जिताउन अन्य क्षेत्रहरूमा खटिनुपरेकाले जिल्लामा पुग्न नभ्याएको डडेलधुराका नेताहरूले बताएका छन् ।

‘प्रधानमन्त्री बुधबार बेलुकी धनगढी पुग्नुहुन्छ,’ कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भन्नुभयो– ‘धनगढीमा उहाँको विशेष कार्यक्रम केही नभए पनि जिल्ला तहका नेताहरूसँगको सामान्य भेटघाटपछि बिहीबार डडेलधुरा जानुहुनेछ ।’ हरेक निर्वाचनमा पार्टीका कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यसपटक श्रीमती आरजु राणा देउवामार्फत् उम्मेदवारी दर्ता गराउनुभएको थियो । देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेलधुरा पुगनुभएकी आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्कनुभएको थियो ।

डडेलधुरामा कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक भीमबहादुर साउदको नेतृत्वमा देउवाको चुनावी प्रचार भइरहेको छ ।देउवा एक साताअघि सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन धनगढी पुगे पनि आफ्नो निर्वाचन क्षेत्र नपुगी फर्कनुभएको थियो । स्थानीय तहको निर्वाचनपछि देउवा एकपटक मात्र सुदूरपश्चिम पुग्नुभएको थियो भने हालसम्म गृह जिल्ला जानुभएको थिएन ।

बिहीबारदेखि चार दिनसम्म उहाँले डडेलधुराका नागरिकसँगै मत मागेर बिताउने देउवाको सचिवालयले जनाएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेलधुरा जान पाउने गरी आयोगले अनुमति दिएपछि उहाँ व्यक्तिगत खर्चमा गृह क्षेत्र जानुहुने बताइएको छ ।

चुनावपछि देउवाकै नेतृत्वमा सरकारः प्रवक्ता

आगामी मङ्सिर ४ को निर्वाचनबाट बन्ने सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले नै गर्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएको छ । बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले कांग्रेसभित्र देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने दाबी गर्नुभयो ।

‘गठबन्धन दलबाट जोसुकै नेता अघि सरे पनि जनमत बढी भएको दलको हिसाबले अबको सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ’, महतले भन्नुभयो– ‘उक्त सरकारको नेतृत्व पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्नुहुन्छ ।’ कांग्रेसभित्र उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने महतले ठोकुवा गर्नुभयो ।

अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्धन भएको भन्दै निर्वाचनमा लोकतन्त्र पक्षधरकै जित हुनेसमेत उहाँले दाबी गर्नुभयो । ‘सत्ता पक्षीय गठबन्धनमा धेरै दल र धेरै जनमत मात्र नभएर लोकतन्त्र एवं संविधान रक्षा र देश विकासको शक्ति भएकाले हाम्रो सुनिश्चित हुन्छ’ –उहाँले भन्नुभयो ।